‘जति छिटो थाहा पाउँछौं, त्यति धेरै गर्न सक्छौं।’ भन्ने मूल नाराका साथ ३३ औँ अल्जाइमर्स चेतना दिवस सम्पन्न भएको छ।
ज्येष्ठ नागरिक नगर समिति शिवसताक्षीको आयोजनामा दिवस सम्पन्न भएको हो। ज्येष्ठ नागरिक दिवा चौतारी शिवसताक्षी ११ को सभा हलमा कार्यक्रम सम्पन्न भएको हो। ज्येष्ठ नागरिक शिवसताक्षी नगरपालिकाका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीको अध्यक्षतामा भएको चेतना दिवसमा स्वास्थ्यकर्मी देवीप्रसाद दंगालले सहजीकरण गरेका थिए । उनले अल्जाइमर्स रोग लाग्ने अवस्था यसबाट मानिसले भोग्नुपर्ने समस्या घरपरिवारले गर्नुपर्ने रेखदेख, औषधि उपचार, यसले गर्ने असर लगायतका बारेमा जानकारी गराएका थिए। त्यसैगरी उनले ६० वर्ष भन्दा माथिका ज्येष्ठहरूलाई अल्जाइमर्सको समस्या बढी मात्रामा आउने भन्दै घरमा सकेसम्मका कार्यहरू गर्दा दिमाग चलायमान हुने भएकोले ज्येष्ठहरुले पनि आफूले सक्ने बुझ्ने र जान्ने कार्य गरिरहन सुझाव दिएका छन्।

कार्यक्रममा ज्येष्ठ नागरिक नगर समितिका सल्लाहकार संयोजक पदमप्रसाद दाहालले ज्येष्ठ नागरिकमा पछिल्लो समय हुने अल्जाइमर्सका बारेमा जानकारी गराउँदै सकेसम्म दिमागलाई चलायमान गरिराख्न आग्रह गरे।
कार्यक्रममा ज्येष्ठ नागरिक वडा नं ८ का जयश्वर आङदेम्बे, वडा नं १० का अध्यक्ष सोमध्वज कार्की, कपिल मणि शिवाकोटी, गीतादेवी न्यौपाने लगायतले आआफ्ना अनुभव प्रस्तुत गर्दै यस्ता कार्यक्रम प्रत्येक वडामा ज्येष्ठ नागरिकहरूलाई दिनुपर्ने धारणा राखेका छन्।

कार्यक्रममा स्वागत ज्येष्ठ नागरिक नगर समितिका वरिष्ठ उपाध्यक्ष नरपति पाठकले गरेका थिए भने कार्यक्रमको सञ्चालन नगर समितिका सहसचिव पूर्णबहादुर बस्नेतको रहेको थियो।
