झिलझिले/ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र झिलझिलेको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार झिलझिले स्थित सामुदायिक भवनमा विभिन्न विषयहरुमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य पदमबहादुर बस्नेतले स्वर्णलक्ष्मी सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नितान्त शेयर सदस्यहरुको मात्र उपस्थिति रहेको कार्यक्रममा मुख्य कार्यालयका अध्यक्ष बुद्धिसागर बरालले प्रधान कार्यालय दमकले ९७ करोड ७५ लाख २६ हजार ४६१ रुपैयाँ २१ पैसा बराबरको कुल कारोबार गरेको प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन् ।
उनले झिलझिले सेवा केन्द्रबाट ७ करोड ७५ लाख १५ हजार ८०९ रुपैयाँ ६६ पैसा कारोबार गरेको प्रतिवेदन पेश गरेका छन् । मुख्य कार्यालय दमकमा ६२९१ शेयर सदस्य रहेका छन् भने झिलझिले सेवा केन्द्रमा १२५८ जना शेयर सदस्य रहेका छन् ।

झापा जिल्लाभरि साथै मोरंग जिल्लाको उर्लाबारी, पथरी शनिश्चरे र सुनवर्षी नगरपालिकालाई कार्यक्षेत्र बनाई वित्तीय कारोबार गर्दै आएको स्वर्णलक्ष्मी साकोसले हालसम्म मुख्य कार्यालयसहित पाँचवटा सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
जसअनुसार इकाई नं. १ गौरादह सेवा केन्द्रमा असोज ४ गते साधारण सभा भएको छ भने असोज ६ गते सुरुंगा सेवा केन्द्रमा साधारण सभा हुने आयोजकले जानकारी गराएको छ । त्यस्तै असोज ७ गते इकाई नं. ४ उर्लाबारी सेवा केन्द्रमा साधारण सभा हुने जनाइएको छ ।
त्यस्तै माइन्यूट प्रमाणिकरण सहितको समापन साधारण सभा २०८३ असोज ९ गते शुक्रबारका दिन कस्मिक पार्टी प्यालेस दमकमा साधारण सभा हुने जानकारी गराइएको छ ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झिलझिले सेवा केन्द्रका लागि स्वागत उपाध्यक्ष सञ्जिव रिमालले गरेका थिए भने संस्थाको गतिविधि जानकारी अधिकृत ध्रुब अधिकारी र सञ्चालन झिलझिले सेवा केन्द्र प्रमुख दुर्गाप्रसाद गुरागाईले गरेका थिए ।
