शिवसताक्षी-८ मा फूलपातीका दिन डाँडा स्कुल झुम्रो कप २०८३ हुने

सम्झना चौक/  नेपाली समाजमा कुनै समय गाउँघरको लोकप्रिय खेलका रूपमा परिचित झुम्म्रोलाई नयाँ पुस्तामाझ चिनाउने र पुरानो पुस्ताको खेल संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिका–८ मा ‘डाँडा स्कुल झुम्म्रो कप २०८३’ आयोजना हुने भएको छ ।

स्थानीय गोर्खाली हर्टको आयोजनामा वडा दसैँ २०८३ को अवसर पारेर यही ३१ गते फूलपातीका दिन शनिबार शिवसताक्षी–८ स्थित डाँडा स्कुल (श्री अरुणोदय आधारभूत विद्यालय) को खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद १० हजार रुपैयाँ र उपविजेता टोलीले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गोर्खाली हर्टका सचिव योमन थेवे लिम्बुले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १६ वटा टोली सहभागी हुनेछन् । प्रत्येक टोलीमा चार जना खेलाडी रहनेछन् ।

खेलमा परम्परागत रूपमा झुम्म्रोबाट बनाइएको बल प्रयोग गरिनेछ । मैदानको दुवैतर्फ साना गोलपोस्ट निर्माण गरी गोलकिपरबिना खेल खेलाइने आयोजकले जनाएको छ । विपक्षी टोलीका खेलाडीलाई छक्याउँदै झुम्म्रोको बल गोलपोस्टभित्र पुर्‍याउनु नै खेलको मुख्य उद्देश्य हुनेछ । प्रतियोगिता एकै दिनमा सम्पन्न हुनेछ ।

खुला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका खेलाडीले पनि सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तफेदिनले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

झुम्म्रो कप केवल खेल प्रतियोगिता मात्र नभई पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उत्साहलाई जोड्ने माध्यमसमेत भएको स्थानीय पुराना खेलाडी तुलसीराम तिम्सिना बताउँछन् । उनका अनुसार बाजे, बुबा र आफूहरूले समेत खेलेको यो परम्परागत खेल पछिल्लो पुस्तामाझ विस्तारै अपरिचित बन्दै गएकाले यसको संरक्षण आवश्यक छ ।

“हामीले विगत बिर्सनु हुँदैन । त्यो बेला झुम्म्रोबाट बनेको बल खेल्नकै लागि धेरै टाढासम्म पुगिन्थ्यो । यो हाम्रो इतिहास हो, त्यसैले यसलाई मर्न दिँदैनौँ,” तिम्सिनाले भने ।

उनका अनुसार मच्चाभित्र कागज अथवा प्लास्टिक राखेर झुम्म्रोको बल बनाउने गरिन्थ्यो । स्थानीय स्रोतसाधनको प्रयोग गरेर तयार पारिने यस्तो बलबाट खेलिने झुम्म्रो ग्रामीण जनजीवनमा मनोरञ्जन, शारीरिक सक्रियता र आपसी मेलमिलापको माध्यम बन्ने गरेको थियो ।

झुम्म्रो स्थानीय जनजीवनमा प्रचलित परम्परागत खेल हो, जसमा झुम्म्रोबाट बनाइएको बल प्रयोग गरिन्छ । आधुनिक खेल सामग्रीको सहज उपलब्धता नभएको समयमा स्थानीय रूपमा पाइने वस्तुबाट बल तयार पारेर खेलिने यस्ता खेल गाउँघरका बालबालिका तथा युवाको मनोरञ्जनका प्रमुख माध्यम थिए ।

यस खेलको विशेषता भनेकै स्थानीय सामग्रीबाट बल बनाउनु, सीमित खेल सामग्रीमा खेल्न सक्नु र सामूहिक सहभागितामा रमाउनु हो । झुम्म्रोको बल प्रयोग गरेर खेलिने यस खेलमा खेलाडीले विपक्षीलाई छक्याउँदै बल गोलपोस्टमा पुर्‍याउनुपर्ने हुन्छ । प्रतियोगिताको नियमअनुसार खेलको स्वरूप र गोल गर्ने तरिका निर्धारण गरिन्छ ।

आधुनिक प्रविधि, नयाँ खेल सामग्री र व्यावसायिक खेलप्रतिको आकर्षण बढ्दै जाँदा यस्ता मौलिक खेल ओझेलमा पर्दै गएका छन् । त्यसैले झुम्म्रो कपजस्ता प्रतियोगिताले पुराना खेलको स्मरण गराउनुका साथै नयाँ पुस्तालाई आफ्नै गाउँठाउँको खेल, संस्कृति र इतिहाससँग परिचित गराउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

गोर्खाली हर्टले विगत केही वर्षदेखि झुम्म्रो कप आयोजना गर्दै आएको जनाएको छ । पुरानो पुस्ताको अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउने, स्थानीय खेल संस्कृतिको जगेर्ना गर्ने र दसैँको अवसरमा समुदायबीच आपसी सद्भाव तथा मनोरञ्जन बढाउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares