
शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो भने शिक्षक त्यसका प्रमुख अभियन्ता हुन् । कुनै पनि देशको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासको आधार शिक्षाको गुणस्तरमा निर्भर हुन्छ । शिक्षाले नागरिकलाई ज्ञान, सीप, संस्कार र चेतना प्रदान गर्छ । तर यी सबै पक्षलाई विद्यार्थीको जीवनसँग जोड्ने महत्वपूर्ण काम शिक्षकले गर्छन् । त्यसैले शिक्षकलाई केवल पाठ्यपुस्तक पढाउने व्यक्ति भनेर बुझ्नु शिक्षण पेशाको वास्तविक महत्वलाई सीमित गर्नु हो । शिक्षक समाजका मार्गदर्शक, विचार निर्माता र भविष्यका नागरिक निर्माण गर्ने शिल्पी हुन् ।
नेपालको सन्दर्भमा हेर्दा शिक्षण पेशाको इतिहास लामो र गौरवपूर्ण छ । सीमित स्रोत–साधनका बीच पनि विगतका शिक्षकहरूले शिक्षा विस्तारमा महत्वपूर्ण योगदान दिएका छन् । दुर्गम गाउँदेखि शहरसम्म शिक्षाको ज्योति फैलाउने काममा शिक्षकहरूको भूमिका अतुलनीय छ । धेरै शिक्षकले आफ्नो व्यक्तिगत सुविधा र अवसरलाई भन्दा विद्यार्थीको भविष्यलाई प्राथमिकता दिँदै आफ्नो जीवन शिक्षण सेवामा समर्पित गरेका उदाहरण छन् । तर वर्तमान समयमा शिक्षक र शिक्षण पेशाप्रतिको सामाजिक दृष्टिकोणमा केही जटिल परिवर्तन देखिन थालेका छन् ।
वर्तमान युग सूचना र प्रविधिको युग हो । मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल, डिजिटल सामग्री, अनलाइन कक्षा र कृत्रिम बौद्धिकता (एआई) ले सिकाइको परम्परागत अवधारणालाई परिवर्तन गरिरहेका छन् । केही दशकअघिसम्म विद्यार्थीका लागि ज्ञानको प्रमुख स्रोत शिक्षक र पाठ्यपुस्तक थिए । अहिले विद्यार्थीले केही सेकेन्डमै संसारभरको सूचना प्राप्त गर्न सक्छन् ।
यसले शिक्षकको भूमिका घटाएको होइन, झन् जिम्मेवार बनाएको छ । विद्यार्थीलाई सूचना उपलब्ध गराउनु मात्र शिक्षकको काम रहेन । प्राप्त सूचनामध्ये सही र गलत छुट्याउन, तथ्य र भ्रमबीचको अन्तर बुझ्न, आलोचनात्मक सोच विकास गर्न तथा प्रविधिको जिम्मेवार प्रयोग गर्न सिकाउनु शिक्षकको नयाँ जिम्मेवारी बनेको छ ।
अबको शिक्षक समयअनुकूल आफूलाई परिवर्तन गर्न सक्ने हुनुपर्छ। विषयवस्तुको ज्ञानसँगै सूचना प्रविधि, सञ्चार सीप, मनोविज्ञान, अनुसन्धान तथा नयाँ शिक्षण विधिको ज्ञान आवश्यक भएको छ । विद्यार्थीको सिकाइ शैली र क्षमतामा विविधता हुने भएकाले सबैलाई एउटै तरिकाले पढाएर अपेक्षित परिणाम प्राप्त गर्न पनि कठिन हुन्छ ।
शिक्षकलाई समाजको आदर्श व्यक्तिका रूपमा हेर्ने परम्परा नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ । ‘गुरु’ शब्द आफैँमा सम्मानको प्रतीक हो । तर पछिल्लो समय शिक्षकप्रतिको सम्मान र विश्वासमा केही कमी आएको गुनासो सुनिन्छ । यसका पछाडि विभिन्न कारण छन् । सामाजिक सञ्जालको विस्तारसँगै शिक्षकका कमजोरीहरू तत्काल सार्वजनिक हुने अवस्था आएको छ । अभिभावक र समाजका अपेक्षा बढेका छन् । विद्यार्थीको शैक्षिक उपलब्धि मात्र होइन, उसको व्यवहार, अनुशासन, संस्कार र भविष्यको जिम्मेवारी पनि शिक्षककै काँधमा राख्ने प्रवृत्ति बढेको छ । तर त्यसअनुसार शिक्षकलाई आवश्यक स्रोत, समय, तालिम र कार्य वातावरण उपलब्ध गराउन भने पर्याप्त ध्यान पुग्न सकेको छैन ।
शिक्षक पनि समाजकै सदस्य हुन्। उनीहरूमा पनि कमजोरी हुन सक्छ । कुनै शिक्षकले आफ्नो जिम्मेवारी पूरा नगरेमा आलोचना हुनु स्वाभाविक हो । तर केही व्यक्तिको कमजोरीलाई आधार बनाएर सम्पूर्ण शिक्षण पेशालाई नै कमजोर देखाउनु उचित हुँदैन । हजारौँ शिक्षकले इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् । उनीहरूको योगदानलाई पनि समाजले उचित सम्मान गर्नुपर्छ ।
आजको शिक्षकले कक्षाकोठामा मात्र चुनौती सामना गर्नुपर्दैन । विद्यार्थीको बदलिँदो व्यवहार, अभिभावकको अपेक्षा, प्रशासनिक कामको बोझ, परीक्षामुखी शिक्षा, सीमित स्रोत–साधन तथा प्रविधिको तीव्र परिवर्तनजस्ता अनेकौँ चुनौती शिक्षकसामु छन् । कतिपय विद्यालयमा शिक्षकले आफ्नो मुख्य जिम्मेवारी अर्थात् शिक्षणभन्दा अतिरिक्त प्रशासनिक तथा अन्य काममा धेरै समय खर्च गर्नुपर्ने अवस्था पनि देखिन्छ । शिक्षकलाई कागजी प्रक्रिया, विभिन्न प्रतिवेदन र गैरशैक्षिक जिम्मेवारीमा बढी व्यस्त बनाउँदा कक्षाकोठाको प्रभावकारिता घट्न सक्छ ।
त्यसैगरी, विद्यार्थीको अनुशासन व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । सामाजिक सञ्जाल र डिजिटल सामग्रीको अत्यधिक प्रयोगले विद्यार्थीको ध्यान केन्द्रित गर्ने क्षमता तथा अध्ययनको बानीमा प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा शिक्षकले केवल ‘नपढ्ने विद्यार्थी’ भनेर दोष दिनुभन्दा उनीहरूको मनोविज्ञान बुझेर उपयुक्त शिक्षण रणनीति अपनाउन आवश्यक हुन्छ ।
शिक्षकलाई सम्मान र अधिकारको कुरा गर्दा शिक्षकको जिम्मेवारीलाई पनि बिर्सनु हुँदैन । शिक्षण पेशाको गरिमा कायम राख्ने पहिलो जिम्मेवारी स्वयं शिक्षककै हो । समयसँगै परिवर्तन नहुने शिक्षकले नयाँ पुस्तालाई प्रभावकारी रूपमा मार्गदर्शन गर्न सक्दैन । त्यसैले शिक्षकले नियमित रूपमा अध्ययन गर्नुपर्छ, नयाँ प्रविधि सिक्नुपर्छ, आफ्नो विषयमा अद्यावधिक हुनुपर्छ र शिक्षण विधिमा नवीनता ल्याउनुपर्छ । विद्यार्थीलाई ‘जीवनभर सिकिरहनुपर्छ’ भन्ने सन्देश दिने शिक्षक स्वयं पनि आजीवन सिक्ने अभ्यासमा हुनुपर्छ । असल शिक्षकले विद्यार्थीको कमजोरीलाई मात्र देख्दैन; उसको सम्भावना पनि पहिचान गर्छ । सबै विद्यार्थी समान हुँदैनन् । कसैको शैक्षिक क्षमता राम्रो हुन सक्छ, कसैको सिर्जनात्मकता, खेलकुद, कला, नेतृत्व वा अन्य क्षेत्रमा क्षमता हुन सक्छ । शिक्षकले विद्यार्थीको प्रतिभा पहिचान गरेर सही दिशा दिन सक्नुपर्छ ।
प्रविधिलाई शिक्षकको प्रतिस्पर्धीका रूपमा हेर्नु उचित हुँदैन । एआई, इन्टरनेट र डिजिटल सामग्री शिक्षकका सहयोगी बन्न सक्छन् । प्रविधिको सही प्रयोगले पाठलाई रोचक बनाउन, अतिरिक्त स्रोत उपलब्ध गराउन, विद्यार्थीको सिकाइलाई व्यक्तिगत बनाउन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउन सहयोग पु¥याउन सक्छ । तर प्रविधिले शिक्षकको स्थान पूर्ण रूपमा लिन सक्दैन । विद्यार्थीलाई मानवीय संवेदना, प्रेरणा, नैतिकता, अनुशासन, सहकार्य, जिम्मेवारी र सामाजिक मूल्य सिकाउने काममा शिक्षकको भूमिका अझै महत्वपूर्ण छ । मेसिनले सूचना दिन सक्छ, तर विद्यार्थीको मन बुझेर प्रेरित गर्ने काम असल शिक्षकले गर्छ । शिक्षाको गुणस्तर सुधार गर्ने हो भने शिक्षकलाई मात्र जिम्मेवार बनाएर पुग्दैन । राज्यले पनि शिक्षकको व्यावसायिक सम्मान र विकासमा पर्याप्त लगानी गर्नुपर्छ ।
शिक्षकलाई समयानुकूल तालिम, अनुसन्धानको अवसर, प्रविधिमा पहुँच, सुरक्षित कार्य वातावरण र उचित सेवासुविधा उपलब्ध गराउन आवश्यक छ । शिक्षकलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने वातावरण सिर्जना गर्नुपर्छ । राजनीतिक हस्तक्षेप, अनावश्यक प्रशासनिक बोझ र अस्थिर नीतिले शिक्षण पेशालाई कमजोर बनाउने अवस्था अन्त्य हुनुपर्छ ।
त्यसैगरी, शिक्षकको मूल्याङ्कन पनि निष्पक्ष र व्यावसायिक आधारमा हुनुपर्छ । राम्रो काम गर्ने शिक्षकलाई प्रोत्साहन र कमजोर प्रदर्शन गर्ने शिक्षकलाई सुधारको अवसर दिन सकिने प्रणाली आवश्यक छ । शिक्षकले मात्र विद्यार्थीको भविष्य निर्माण गर्न सक्दैनन् । घर, विद्यालय र समाजबीच सहकार्य आवश्यक हुन्छ । अभिभावकले आफ्ना छोराछोरीको सम्पूर्ण जिम्मेवारी विद्यालय र शिक्षकलाई मात्र सुम्पनु हुँदैन । घरको वातावरण, अभिभावकको व्यवहार, विद्यार्थीको मोबाइल प्रयोग, अध्ययनको बानी र अनुशासनले पनि विद्यार्थीको भविष्यमा ठूलो प्रभाव पार्छ । शिक्षक र अभिभावकबीच आरोप–प्रत्यारोप होइन, सहकार्यको वातावरण आवश्यक छ । विद्यार्थीको हितलाई केन्द्रमा राखेर विद्यालय र परिवारले संयुक्त रूपमा काम गर्न सके मात्र अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ ।
शिक्षण पेशा अन्य पेशाजस्तै केवल आयआर्जनको माध्यम मात्र होइन । एउटा शिक्षकले प्रत्येक दिन दर्जनौँ वा सयौँ विद्यार्थीको सोच, व्यवहार र भविष्यमा प्रभाव पारिरहेको हुन्छ । शिक्षकको एउटा सकारात्मक शब्दले विद्यार्थीको जीवन परिवर्तन गर्न सक्छ भने एउटा नकारात्मक व्यवहारले उसको आत्मविश्वासमा असर पार्न सक्छ । त्यसैले शिक्षकमा विषयगत दक्षतासँगै धैर्य, सहानुभूति, निष्पक्षता, अनुशासन, नैतिकता र जिम्मेवारीको भावना आवश्यक हुन्छ । विद्यार्थीले शिक्षकबाट केवल किताबको ज्ञान मात्र सिक्दैन; शिक्षकको व्यवहार, बोल्ने शैली, समयपालन, इमानदारी र अरूप्रतिको सम्मानबाट पनि धेरै कुरा सिकिरहेको हुन्छ ।
वर्तमान अवस्थामा शिक्षक र शिक्षण पेशा चुनौतीपूर्ण भए पनि यसको सम्भावना अत्यन्त ठूलो छ । प्रविधिको विकास, बदलिँदो सामाजिक संरचना र नयाँ पुस्ताको आवश्यकताले शिक्षकको भूमिका समाप्त गरेको छैन; बरु अझ व्यापक र जिम्मेवार बनाएको छ । हामीले शिक्षकलाई देवत्व प्रदान गरेर उनीहरूका कमजोरीलाई बेवास्ता गर्ने होइन, न त केही कमजोरीका आधारमा सम्पूर्ण शिक्षण पेशालाई अवमूल्यन गर्ने हो ।
शिक्षकलाई सम्मान पनि चाहिन्छ, उत्तरदायित्व पनि। अधिकार पनि चाहिन्छ, कर्तव्य पनि । राज्यले उचित वातावरण दिनुपर्छ, शिक्षकले आफूलाई निरन्तर सुधार गर्नुपर्छ, अभिभावकले सहकार्य गर्नुपर्छ र समाजले शिक्षकको योगदानलाई सम्मान गर्नुपर्छ । आज हामीले कस्तो शिक्षा दिन्छौँ, त्यसले भोलिको नेपाल कस्तो हुनेछ भन्ने निर्धारण गर्छ । त्यसैले शिक्षण पेशालाई सम्मानित, मर्यादित, प्रविधिमैत्री र व्यावसायिक बनाउनु आजको आवश्यकता हो । सक्षम र प्रेरित शिक्षकबिना गुणस्तरीय शिक्षा सम्भव छैन। गुणस्तरीय शिक्षाबिना समृद्ध नेपाल निर्माणको सपना पनि अधुरै रहन्छ ।
अन्ततः, शिक्षक केवल वर्तमान पुस्तालाई पढाउने व्यक्ति होइनन्; उनीहरू भविष्यको समाज निर्माण गर्ने आधारस्तम्भ हुन् । शिक्षकको सम्मान, शिक्षाको सम्मान हो; र शिक्षाको सम्मान, राष्ट्रको भविष्यप्रतिको सम्मान हो ।
