ज्येष्ठ नागरिकको वार्षिक साधारण सभा तथा अधिवेशन


दूधे/ ‘ज्येष्ठ मातापिता हाम्रा तीर्थ हुन्, सबैले सम्मान गरौं । जेष्ठ नागरिकको सम्मान, राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
श्रावण २१ गते बिहिबार ज्येष्ठ चौतारी शिवसताक्षी ११ को सभाहलमा सम्पन्न अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले गरेका थिए । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि थोप्राले ज्येष्ठ मातापिताका लागि नगरपालिकाले वार्षिक रुपमा तीर्थाटन साथै अन्य कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । उनले अधुरो रहेको चौतारी भवनलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसैगरी अधिवेशनका विशिष्ट अतिथि ज्येष्ठ नागरिक शिवसताक्षिका वरिष्ठ उपाध्यक्ष नरपति पाठकले आगामी कार्यक्रम तथा ज्येष्ठ नागरिकको बारेमा प्रकाश पारेका थिए । अधिवेशनमा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का कार्य वाहक अध्यक्ष परशुराम अधिकारी, ज्येष्ठ नागरिक नगर समितिका अध्यक्ष अम्बिका अधिकारी लगायतका अतिथिहरूको मन्तव्य तथा आतिथ्यता रहेको थियो ।


अधिवेशनमा अध्यक्षद्वारा तयार गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा उठेका प्रश्नहरूमा छलफलका साथै पारित भएको थियो भने आर्थिक प्रतिवेदन सचिव गंगाराम नेपालले प्रस्तुत गरेका थिए । अधिवेशनको बन्द सत्रबाट आगामी तीन वर्षे कार्यकालका लागि ११ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको अध्यक्षमा गोकुल मिश्र, उपाध्यक्ष टेकबहादुर बुढाथोकी, सचिव छविलाल दवाडी, सहसचिव कृष्ण कडरिया, कोषाध्यक्ष सीता दाहाल रहेका छन् । त्यसैगरी सदस्यहरूमा भैरवकुमार आचार्य, पिताम्बर पोखरेल, डेगप्रसाद लामिछाने, देवीप्रसाद सुवेदी, सरस्वती मिश्र र भद्रीमाया दर्जी सर्वसम्मत निर्वाचित भएका छन् ।
अध्यक्ष मित्रप्रसाद थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत टेकप्रसाद बुढाथोकीले गरेका थिए भने सञ्चालन गंगाराम नेपालको रहेको थियो ।


अधिवेशनकै अवसरमा ज्येष्ठ नागरिक ब्रह्मलाल फुयाललाई सम्मान गरिएको थियो । ढाका टोपी र सम्मानपत्रद्वारा प्रमुख अतिथि, अध्यक्ष, ज्येष्ठ सदस्यहरूद्वारा संयुक्त रुपमा सम्मान गरिएको थियो ।
त्यसैगरी नगर अधिवेशन आगामी भदौ २१ गते उक्त स्थानमा सम्पन्न हुने नगर समितिका वरिष्ठ उपाध्यक्ष नरपति पाठकले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares