
- शान्तिराम बस्नेत
वर्तमान नेपाली आख्यान जगतमा युवा मनोविज्ञान र सामाजिक यथार्थलाई मूल विषय बनाएर लेखिएका कृतिहरूको भीडमा एउटा सर्वथा फरक र आँखा पिरो बनाउने कृतिका रूपमा ‘प्रेरणा’ उपन्यास पाठकमाझ आइसकेको छ ।
यस कृतिका बारेमा केही लेख्ने संयोग पनि निकै रोचक र आकस्मिक रूपमा जुर्न पुग्यो, जब उपन्यास विमोचन भएको हप्तादिन जति मात्र भएको थियो, अचानक लेखिका रञ्जिला लिम्बूज्यूले मलाई फोन गर्नुभयो । उहाँले फोन गरेर अत्यन्तै आदरपूर्वक आफ्नो पहिलो कृति ‘प्रेरणा’ पढिदिएर त्यसमाथि आफ्ना स्वतन्त्र र निष्पक्ष विचारहरू प्रस्तुत गरिदिन अनुरोध गर्नुहुँदा म एकातिर खुसी भएँ भने अर्कातिर मभित्र एउटा जिम्मेवारीबोध र संकोचको भाव पनि सँगै पैदा भयो ।
आफ्नै विविध कार्यव्यस्तताका कारण मसँग यस कृतिको गम्भीर र विशद् अध्ययनका लागि अनुकूल वा पर्याप्त समय त उपलब्ध थिएन, जसले गर्दा मैले किताबलाई गहिरिएर घोटिनु भन्दा पनि केवल एकसरो पढ्न मात्र पाएको थिएँ । तथापि, लेखिकाको त्यो आत्मीय आग्रह, कृतिभित्रको संवेदनशील कथ्य र यसले उठाएको समसामयिक सामाजिक मुद्दाले मलाई यसरी तान्यो कि मैले “प्रेरणा” लाई कम्तीमा ३ पटक दोहो¥याएँ अनि आफ्नो व्यस्त समयबाट अलि–अलि गर्दै समय निकालेर यस कृतिका बारेमा आफ्ना केही कुराहरू शब्दमा उतार्ने एउटा सानो आँट गरेँ ।
साहित्यिक वृत्तमा यो कुरा कसैबाट छिपेको छैन कि यस कृतिको सम्पादन नेपाली साहित्यका प्रवल र आदरणीय व्यक्तित्व सेलिङ केसी दाईको हातबाट भएको हो । साहित्यमा अत्यन्तै खारिनुभएका र सिर्जनाको मर्म बुझ्नुभएका सेलिङ केसी दाइको सम्पादनमा तयार भएको यति ओजपूर्ण कृतिको विषयमा म जस्तो सामान्य पाठकले केही कुरा लेख्ने आँट गर्नु भनेको कताकता सेलिङ दाइलाई “कलमको प्रहार” गरे जस्तो पो हुने हो कि भन्ने डर र आभास मभित्र नभएको होइन । दाइको बौद्धिक उचाइ र सम्पादकीय कौशलताका अगाडि मेरा यी शब्दहरू निकै फिका लाग्न सक्छन् भन्ने जान्दाजान्दै पनि, कृतिको मर्मले मन छोएका कारण मैले कनिकुथी भए पनि केही हरफहरू कोर्ने र आफ्ना भावना पोख्ने धृष्टता गरेको छु ।
यस उपन्यासको पानाहरू पल्टाउँदै जाँदा र यस कृतिको पात्र राजीवको छट्पटीपूर्ण जीवनको उतारचढावलाई नियाल्दै गर्दा, मैले विगतमा आफैंले लेखेको एक लेखको याद मानसपटलमा घुमिरह्यो ।
कुलत र यसको भयानक भुमरीको प्रसङ्ग आउनेबित्तिकै मैले गत वर्ष लेखेको एउटा समाचार भनौं वा एउटा जीवित मानिसको कहालीलाग्दो व्यतीत जीवनको नालीबेली “अन्धकारका तीस वर्ष र उज्यालोका तीन वर्ष ः कालु दाई” मलाई सम्झन लायक भई मानसपटलमा आइरहन्छ । कालु दाईले आफ्नो जीवनको उर्जाशील तीस वर्ष कसरी अन्धकार र कुलतमा गुमाए ? अनि पछिल्ला तीन वर्ष मात्र उज्यालो र नयाँ जीवनको अनुभूति कसरी गर्न थालेका छन् भन्ने त्यो संस्मरण जति कहालीलाग्दो र महत्वपूर्ण थियो, ठीक त्यस्तै सन्देश र पीडाको गहिराइ यो ‘प्रेरणा’ उपन्यासले पनि बोकेको छ । कालु दाईको त्यो यथार्थ भोगाइ र यो उपन्यासको पात्र राजीवको कथाले वर्तमान समयको एउटै डरलाग्दो सत्यलाई ओकलिरहेका छन् ।
वर्तमान समयलाई हेर्ने हो भने हाम्रा युवायुवतीहरू लागूपदार्थ जस्तो अत्यन्तै डरलाग्दो, भयानक र अदृश्य कुलतको दलदलमा दिन प्रतिदिन फसिरहेको अवस्था छ । कतिपय अभिभावकहरू आफ्ना छोराछोरीको उज्ज्वल भविष्यका लागि दिनरात पसिना बगाइरहेका हुन्छन्, तर तिनै सन्तानहरू क्षणिक कौतुहलता वा गलत सङ्गतका कारण घर र समाजलाई नै सिध्याउने बाटोमा लागिरहेका हुन्छन् ।
यस्तो विषम र भयावह परिस्थितिमा समाजलाई चेतना जगाउन र आफ्ना सन्तानहरूलाई कुलतको यो भयानक सुरुङभित्र पस्नबाट जोगाउनका लागि म सम्पूर्ण अभिभावकहरूलाई एउटा विनम्र अनुरोध गर्न चाहन्छु कि उहाँहरूले आफ्ना युवावस्थामा टेक्दै गरेका वा किशोरवयका सन्तानहरूलाई यो किताब अनिवार्य रूपमा पढ्न दिनुहोस् । यो किताब पढिसकेपछि कुनै पनि युवाले कुलतको त्यो नरक कस्तो हुन्छ र त्यसले कसरी जिन्दगी बर्बाद पार्छ भन्ने कुरा समयमै बुझ्नेछ र आफूलाई गलत बाटोमा जानबाट रोक्नेछ ।
“प्रेरणा” कृति पढिरहँदा प्रस्तुत आख्यानले वर्तमान नेपाली समाजको सबैभन्दा भयावह र संवेदनशील समस्याका रूपमा रहेको युवा वर्गको लागूऔषध दुव्र्यसन, यसले पारिवारिक र सामाजिक जीवनमा पार्ने दूरगामी असर, प्रेमको बहकाव र यसको दार्शनिक पाटो तथा मानवीय पुनर्जीवनको सङ्घर्षलाई मुख्य कथ्य विषय बनाएको छ ।
कथाको केन्द्रमा राजीव नामको एउटा कुलतमा फसेको पात्र छ, जसको माध्यमबाट लेखकले एउटा सम्भ्रान्त, सम्पन्न र सम्भावनायुक्त युवा कसरी क्षणिक कौतुहलता र गलत सङ्गतका कारण जीवनको अन्धकारमय दलदलमा भासिन्छ भन्ने यथार्थलाई अत्यन्तै मार्मिक ढंगले उजागर गरेकी छन् । कथाको प्रारम्भ नै एउटा पुनस्र्थापना केन्द्र (सुधार केन्द्र) को बन्द र छटपटीपूर्ण वातावरणबाट हुन्छ, जहाँ राजीव आफ्नो विगतका गल्तीहरू, गुमेको प्रतिष्ठा र आमाबुबाको आँशुलाई सम्झँदै पश्चातापको आगोमा जलिरहेको छ । यो सुरुवातले नै पाठकको मनमा एउटा गम्भीर कौतुहलता र करुणा पैदा गर्छ र कथाले समाजको एउटा तितो यथार्थलाई ऐना देखाउन खोजेको प्रष्ट सङ्केत गर्छ ।
कथाको चरित्र चित्रणको पाटोलाई हेर्दा मुख्य पात्र राजीवलाई एउटा जटिल र द्वन्द्वात्मक चरित्रका रूपमा उभ्याइएको छ, जो एकातिर कुलतको शारीरिक र मानसिक छट्पटीसँग लडिरहेको छ भने अर्कातिर ऊभित्र सुध्रिने र नयाँ जीवन जिउने तीव्र इच्छाशक्ति पनि लुकेको देखिन्छ ।
राजीवका बुबा प्रताप र आमा रूपाले भोगेको पीडाले कथालाई थप कारुणिक बनाएको छ, जसमा आफ्नै सन्तानको उज्यालो भविष्यका लागि युके जस्तो विकसित मुलुकको सुख–सुविधा र ऐश–आराम त्यागेर स्वदेश फर्किएका मातापिता कसरी छोराकै कारण समाजमा शिर उठाउन नसक्ने गरी अपमानित हुन पुग्छन् र एउटा विलासी जीवनबाट नारकीय जीवनको भुमरीमा धकेलिन्छन् भन्ने कुरा जीवन्त रूपमा प्रस्तुत भएको छ ।
अर्की महत्वपूर्ण पात्र सहाराको प्रवेशले कथामा एउटा नयाँ दार्शनिक र कलात्मक आयाम थपेको छ । सहारा केवल राजीवको प्रेमिका मात्र होइन, ऊ आफैँ पनि पारिवारिक विखण्डन र आन्तरिक रिक्तताका कारण चुरोट र गाँजाको लतमा परेकी एक जटिल पात्र हो, जसको अमूर्त चित्रकला र जीवनप्रतिको गहिरो बुझाइले राजीवलाई आकर्षित गर्छ । विशाल जस्ता पात्रहरूले युवाहरूलाई कुलतको बाटोमा धकेल्न र उनीहरूको सम्बन्धमा खलनायक बन्न कस्तो भूमिका खेल्छन् भन्ने कुरालाई देखाएका छन् भने सम्बर खड्काको चरित्रले समाजमा भत्किएका जीवनहरूलाई सम्हाल्ने एउटा सकारात्मक आशाको किरण र संरक्षकको भूमिका निर्वाह गरेको छ ।
संरचना र शैलीका दृष्टिले यो कथा पश्चगामी वा फ्ल्यासब्याक (ँबिकजदबअप) ढाँचामा बुनिएको छ, जहाँ वर्तमानको सुधार केन्द्रको कठोर अवस्थाबाट सुरु भएर राजीवको बाल्यकाल, विद्यालय जीवन, सहारासँगको पहिलो भेट, प्रेमको अङ्कुरण र बिस्तारै लागूऔषधको गहिरो सुरुङभित्र प्रवेश गरेको विगतलाई क्रमिक रूपमा उघारिएको छ । यो शैलीले कथालाई केवल घटनाहरूको विवरण मात्र बन्न नदिई पात्रको मानसिक उतारचढाव र मनोवैज्ञानिक द्वन्द्वलाई प्रष्ट पार्न ठूलो मद्दत गरेको छ । कथामा बाह्य द्वन्द्व (राजीव र उनका आमाबुबा, साथीभाइ तथा समाजबीचको टकराव) र आन्तरिक द्वन्द्व (राजीवको मनभित्र चल्ने ड्रग्सको तलतल र त्यो लतलाई जितेर सामान्य मानिस बन्ने सङ्घर्ष) दुवैलाई निकै प्रखर रूपमा प्रस्तुत गरिएको छ ।
परिवेश चित्रणको सवालमा झापाका स्थानीय ठाउँहरू जस्तै केर्खा, दुधे, झिलझिले जस्ता बजार अनि दुधे मावि, केर्खा मावि, हरिकुल मावि तथा सतासीधाम र इलामका पहाडी भेगहरूको प्राकृतिक तथा सामाजिक वातावरणलाई कथामा निकै सुन्दर ढंगले बुनिएको छ, जसले गर्दा कथा स्थानीय माटोसँग जोडिएको र यथार्थपरक महसुस हुन्छ ।
यो उपन्यासका थुप्रै सकारात्मक र सबल पक्षहरू छन्, जसमा सबैभन्दा बलियो पक्ष भनेको लागूऔषध दुव्र्यसनको यथार्थपरक र रौटेली वर्णन हो । ड्रग्स नपाउँदा एउटा मानव शरीर कसरी थरथरी काँप्छ, मस्तिष्क कसरी अनियन्त्रित हुन्छ र एउटा सामान्य डोजका लागि मानिस कसरी आफ्नै आमाबुबालाई गाली गर्ने वा सामान चोर्ने तहसम्म गिर्छ भन्ने कुराको दृश्य वर्णन निकै शक्तिशाली छ, जसले पाठकको मनमा कुलतप्रति एउटा तीव्र घृणा र सचेतना पैदा गर्छ । यसका साथै सहारा र राजीवबीचका संवादहरूमा प्रयोग भएका दार्शनिक भावनाहरू, जस्तै संसारमा सही र गलतको मापन कसरी सापेक्ष हुन्छ र मानिसका भावनाहरू कसरी क्षणिक हुन्छन् भन्ने कुराहरूले कथालाई सतही हुनबाट बचाएर वैचारिक गहिराइ दिएका छन् । “सपना लक्ष्यको प्रारम्भ हो” र “दृढ इच्छाशक्ति भएमा मात्र मानिसले पुनर्जीवन पाउन सक्छ” भन्ने अन्तर्निहित सन्देशले गर्दा यो कथा केवल एउटा दुखान्त कथा मात्र नभई कुलतको दलदलमा फसिरहेका हजारौँ युवाहरूका लागि एउटा सकारात्मक मार्गदर्शक र आशाको दियो बन्न सफल भएको छ ।
यद्यपि, साहित्यिक र प्राविधिक दृष्टिले यस कथांशमा केही सुधार र परिमार्जन गर्न सकिने पाटाहरू पनि स्पष्ट देखिन्छन् । उपन्यासमा हिन्दुस्तान र पाकिस्तानको विभाजन, लागूऔषधको राजनीतिक र ऐतिहासिक पृष्ठभूमि तथा अफिम युद्धका बारेमा जुन लामो विवरण समावेश गरिएको छ, त्यसले कथाको मुख्य गति र प्रवाह (ँयिध) लाई केही बेरका लागि रोकिदिएको जस्तो भान हुन्छ ।
अझ भनौं, लागूऔषध जस्तो संसारभरिको साझा समस्यालाई कुनै एउटा देशले अर्को देश बिगार्न मच्चाएको षड्यन्त्र मात्र हो भन्नु गलत र अतिरञ्जित कुरा जस्तो मलाई लागेको छ । यो विवरण निकै ज्ञानवर्धक भए तापनि यसलाई यसरी निबन्धात्मक वा पाठ्यपुस्तकीय शैलीमा राख्नुभन्दा पात्रहरूको संवाद वा राजीवको चेतनाको विकाससँग अझ सहज र कलात्मक रूपमा घुसाउन सकिएमा कथाको साहित्यिक मूल्य अझ बढ्नेछ ।
यसका साथै, कृतिमा धेरै ठाउँमा गम्भीर भाषिक र प्राविधिक त्रुटिहरू रहेका छन्, जहाँ कतिपय महत्वपूर्ण वाक्यहरू अधुरा र अस्पष्ट छन्; जस्तै प्रेम रस र क्रोधलाई अमूर्त चित्रसँग तुलना गरिएको वाक्य व्याकरणिक रूपमा अल्मलिएको छ भने केही ठाउँमा विराम चिह्नहरूको असन्तुलित प्रयोगले पाठकलाई बुझ्न केही असहजता पैदा गर्छ ।
अर्कोतर्फ, उपन्यासको कथानक विकास (एयित म्भखभयिऊभलत) मा राजीव सुधार केन्द्रमा रहँदा सहारा कसरी अचानक त्यहाँ सामाजिक अभियन्ता र प्रसिद्ध चित्रकारका रूपमा कार चढेर आइपुग्छिन् भन्ने कुराको कडी र समयको अन्तराललाई अझ थोरै स्पष्ट र विश्वसनीय बनाउन आवश्यक देखिन्छ ताकि पाठकलाई यो संयोग अलि हतारमा बुनिएको जस्तो नलागोस् ।
समग्र रूपमा मूल्याङ्कन गर्दा, यो उपन्यास एउटा अत्यन्तै बलियो, सामयिक र चेतनामूलक सामाजिक कथाको उचाईको रचना हो । लेखकसँग समाजको सूक्ष्म विकृतिलाई चियाउने आँखा, पात्रहरूको मनोविज्ञान बुझ्ने क्षमता र भावनालाई शब्दमा उतार्ने राम्रो शिल्प छ । माथि औंल्याइएका केही प्राविधिक त्रुटिहरूलाई परिमार्जन गर्ने, वाक्य गठनलाई अझ कसिलो बनाउने र ऐतिहासिक पृष्ठभूमिहरूलाई कथाको प्रवाहमा बगाउने हो भने यो रचना नेपाली आख्यान साहित्यमा युवा जगतको एउटा ठूलो समस्यालाई सम्बोधन गर्ने र समाजलाई सकारात्मक रूपान्तरणको दिशामा डोरÞ्याउने एउटा अत्यन्तै प्रभावशाली र जीवन्त कृति बन्ने निश्चित छ ।
समग्र रूपमा मूल्याङ्कन गर्दा, रञ्जिला लिम्बूज्यूको यो कृति ‘प्रेरणा’ केवल कल्पनाको पुलिन्दा मात्र नभएर वर्तमान समयको एउटा बलियो सामाजिक दस्तावेज हो, जसले पाठकलाई मनोरञ्जन मात्र दिँदैन, बरु समाजको एउटा कुरुप यथार्थसँग साक्षात्कार गराउँदै भित्रैदेखि झक्झक्याउने काम गर्छ । पर्याप्त समयको अभावमा मैले यस कृतिको पूर्ण र प्राज्ञिक चिरफार गर्न नसके तापनि, यसले मेरो मनमा छोडेको गहिरो छाप र कुलतविरुद्ध यसले प्रवाह गरेको बलियो सन्देशका कारण यो उपन्यास नेपाली आख्यान इतिहासमा एउटा पठनीय र संग्रहणीय कृतिका रूपमा स्थापित हुनेछ भन्न मलाई कुनै संकोच छैन ।
