वि.सं. २०६९ साउन ८ गते पृष्ठभूमि जलमग्न थियो, वर्षात्मय थियो । तत्कालीन सतासीधाम गाविसका केही क्रियाशील पत्रकारहरुले सतासी साप्ताहिक खबरपत्रिका प्रकाशन गर्ने उद्देश्य राख्यो । २०६९ साउन ८ गते नमूना अङ्क झापाको मध्यभाग झिलझिलेबाट प्रकाशनको पहिलो खुड्किलोको रुपमा रहेको छ । त्यसबखत झिलझिले बजार विकासको क्रममा थियो । अहिलेजस्तो कङ्क्रिटको शहर थिएन । दोस्रो नमूना अङ्क साउन १५ गते प्रकाशित भयो र वर्ष १ अङ्क १ वि.सं. २०६९ साउन २८ गते प्रकाशन गरेर भदौ ४ गते भव्य औपचारिक उद्घाटन कार्यक्रमका साथ शुरु भयो र हालसम्म नियमित रुपमा प्रकाशन भइरहेको छ ।
विभिन्न समस्या, आरोह, अवरोह पार गर्दै अहिले पत्रिकाले १५ औं वार्षिकोत्सव मनाउन लागेको छ । नेपालमा विकासको मूल्याङ्कन गर्ने हो भने त्यतिबेला पनि सूचना प्रविधिले फड्को मार्दै गइरहेको थियो । आज ठ्याक्कै १५ वर्ष पुगेछ, यतिबेला सूचना प्रविधिले विकासको चरम उत्कर्ष नाघेको छ । जतिबेला हामी सतासी साप्ताहिक खबरपत्रिकाको नमूना अङ्क प्रकाशनको तयारी गर्दै थियौँ, त्यतिबेला प्रविधिको यतिधेरै सहजता थिएन । सूचना मात्र यस्तो चिज हो जसको माध्यमबाट आम नेपालीले संविधानप्रदत्त सूचनाको हकको प्रत्याभूत गर्न सक्दछ । त्यसमा राज्यको प्रत्यक्ष सहभागिता हुन आवश्यक छ । पूर्ण प्रेस स्वतन्त्रता संविधानमै लेखेर दुरदराजमा रहेका नेपालीले सूचना प्राप्त गर्ने माध्यमबाट सूचना प्राप्त गरे । त्यसैले प्रेस स्वतन्त्रताको हकमा नेपाल अग्रपङ्क्तिमै छ ।
जतिबेला सतासी साप्ताहिक खबरपत्रिकाले कार्यालय नै उद्घाटन गरेर छापा माध्यमबाट जनताले नैसर्गिक रुपमा पाउनु पर्ने सूचना पाउदै थिए, त्यतिबेला पत्रिका प्रकाशन भएकोमा स्थानीयबासीहरु हर्षित थिए भने केही कुटिल दृष्टिकोण राख्ने मानिसहरु खिसीट्युरी गर्दै थिए । वास्तवमा झिलझिले जस्तो विकासोन्मूख बजारमा पत्रिका प्रकाशन गर्नु चानचुने विषय थिएन । साउन ८, २०६९ का दिन सतासी साप्ताहिक खबरपत्रिकाको टिमले पहिलो नमूना अङ्क प्रकाशन ग¥यो र अन्य केही दिन पत्रिकालाई विधिवत् रुपमा दर्ता प्रक्रियामा हामी लाग्यौं । तत्कालीन सतासीधाम गाविसमा क्रियाशील सञ्चारकर्मीहरु एउटै कित्तामा उभिएका थियौं कि जसरी भएपनि यो पत्रिकालाई स्थापित गर्नुपर्छ । पत्रिका व्यवस्थापन पहिलो अवधिमा सम्पादक मण्डलले धेरै नै सकसहरु भोग्नु पर्यो । तत्कालीन अवस्थामा प्राविधिकहरु प्रशस्त नहुनु, इन्टरनेटको व्यवस्था नहुनु, सम्पादक हुनलाई दक्ष जनशक्ति नहुनु, सम्पादक हुन प्राविधिक ज्ञान नहुनु, टेलिफोन र छापाखाना स्थानीयस्तरमा नहुनु जस्ता विषयहरु हाम्रा चुनौतिहरुमा पर्दछन् ।
पत्रिकाको दर्ता प्रक्रिया सम्पन्न भयो र २०६९ भदौ ४ गते एउटा ठूलै कार्यक्रमको तर्जुमा गरी झापाका लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र पत्रकारहरुको बाक्लो उपस्थितिमा विधिवत् उद्घाटन भयो । त्यो दिन सम्झदा अझै पनि कति छिटो १५ वर्ष बितेछ भन्ने लाग्दछ । तत्कालीन सतासीधाम गाविस हाल शिवसताक्षी नगरपालिकामा रहेका व्यवसायीहरु, विभिन्न संघसंस्था, राजनीतिक दल, शिक्षक, महाजन, पत्रकार, साहित्यकार, लेखक, विज्ञापनदाता तथा शुभचिन्तकहरुको सहयोगकै कारण यस पत्रिका यहाँसम्म आउन सकेको हो । सतासी साप्ताहिक खबरपत्रिकाले प्रारम्भिक कालदेखि नै काठमाडौंले उपेक्षा गरेको स्थानीय समाचारहरुलाई विशेष प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्दै आइरहेको छ । सरकारी ढिलासुस्ती, बेथिती, अनियमितता, सामाजिक विसंगती जस्ता समाचारहरु सम्प्रेषण गर्दै आइरहेको मात्र छैन, व्यक्तित्व, साहित्य, अन्तर्वार्ता, विभिन्न कार्यक्रम, सामाजिक गतिविधिका विभिन्न सामाचारहरु सम्प्रेषण गर्दै आम नेपालीलाई समाचारको माध्यमबाट प्रत्याभूत गर्दै आइरहेको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कहरमासमेत किञ्चित बिचलित नभई यसमा आवद्ध पत्रकारहरुले सूचनाको हक सुनिश्चित गरेका थिए साथै कोरोना कहरको अवस्थामा आम मानिसहरु बाहिर निस्कने अवस्था नभएको बेला सतासी खबरपत्रिका नामको फेसबुक पेजको सञ्चालन गर्दै श्रव्य–दृश्यबाट सूचना प्रसारण गरेको थियो भने अनलाइन प्रोटोकल सतासीखबर डटकमबाट समाचार सम्प्रेषण गरेर जनताहरुलाई सूचना सञ्चारको माध्यमबाट गतिविधिहरु गर्दै आइरहेको छ । यो पत्रिका झापाको मध्यभाग झिलझिलेबाट नियमित प्रकाशन हुने भएकोले शिवसताक्षी नगरपालिकाको एकमात्र छापा मिडिया हाउस हो यो । राज्यको पुनर्संरचनासँगै पूर्व नगर प्रमुख चन्द्रकुमार सेर्मा हुँदै वर्तमान नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) स्थानीय सरकारको प्रमुखको तर्फबाट नगरका विभिन्न विज्ञापन छपाई बापत सहयोग प्रदान हुँदै आइरहेको छ । यस पत्रिकालाई लामो समयसम्म जीवित राख्ने सम्पादक मण्डलको अठोट रहेको छ । अन्य वार्षिक उत्सवहरुलाई तामझामले मनाए पनि यसपटक भने १५औं वार्षिकोत्सव सामान्य औपचारिकताका साथ मनाइने निधो गरिएको छ । यस पत्रिकालाई हालसम्म पनि सकारात्मक सहयोग गर्नुहुने लेखक, साहित्यकार, व्यवसायी, शिक्षक, बुद्धिजीवी, विज्ञापनदाता एवम् शुभचिन्तकहरुलाई शुभकामना व्यक्त गर्दछौं ।
झिलझिलेको पर्यायी सतासी खबर पत्रिका, सतासी खबर पत्रिकाको डेढ दशकको यात्रा
