लालझोडा/ भानु मावि, शिवसताक्षी–७, लालझोडामा बाल दिवस मनाइएको छ ।
‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ६१ औँ राष्ट्रिय बाल दिवस विशेष कार्यक्रमका साथ विद्यार्थीहरूको सक्रिय सहभागितामा मनाइएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरको अध्यक्षतामा विद्यार्थीहरुको गायन, नृत्य, कविता वाचन, बाल दिवस सम्बन्धी वक्तृत्वकला प्रस्तुत गरिएको थियो । प्रअ कुँवरले बालबालिकाको चौतर्फी विकास गर्न साथै प्रतिभा प्रस्फुटन गराउन यस्ता सार्थक कार्यक्रमले सहयोग पु¥याउने बताउँदै अध्ययनका साथसाथै अतिरिक्त विधामा पनि विद्यार्थीहरुले रुचि पहिचान गरी आफूलाई परिस्कृत गर्न सुझाव दिएका छन् । विद्यार्थीहरूको उत्साहजनक उपस्थिति तथा सहभागितामा भएको कार्यक्रममा स्वागत महिला शिक्षक भिमा खत्रीले गरेकी थिइन् भने सञ्चालन पूजा चम्लागाईको रहेको थियो ।

सन् १९२५ मा जेनेभामा भएको बाल कल्याणसम्बन्धी विश्व सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय बाल दिवसको घोषणा गरिएको थियो । सन् १९४९ नोभेम्बर ४ का दिन मस्कोमा महिला अन्तर्राष्ट्रिय प्रजातान्त्रिक महासंघले जुन १ लाई अन्तर्राष्ट्रिय बाल संरक्षण दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् १९५० देखि जुन १ लाई धेरै कम्युनिस्ट र साम्यवादी पछिका देशहरूमा बाल दिवसको रूपमा मनाइन्छ ।

१४ डिसेम्बर १९५४ मा भारत र उरुग्वेद्वारा संयुक्त राष्ट्र संघको महासभामा एक संयुक्त प्रस्ताव पारित गरिएको थियो । जसमा सबै देशहरूलाई विश्वव्यापी बाल दिवस स्थापना गर्न प्रोत्साहित गरिएको थियो, पहिलो बालबालिकाहरूका बीच पारस्परिक आदानप्रदान र समझदारीलाई बढावा दिन र दोस्रो संयुक्त राष्ट्र संघको बडापत्रका आदर्शहरू र विश्वका बालबालिकाको कल्याणलाई बढावा दिन कार्य सुरु गर्ने संकल्प गरिएको थियो । २० नोभेम्बर १९५९ मा संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारको घोषणा गरेको सम्झनामा नोभेम्बर २० मा विश्व बाल दिवस मनाइन्छ ।

नेपालमा वि.सं. २०१६ सालको भाद्र ४ गतेदेखि बाल दिवस मनाउन सुरु गरिएको थियो । २०६३ साल अघि सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरि बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्र बालअधिकार सम्बन्धी महासन्धि–१९८९ लाई २९ भदौ मा नेपालले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरि सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णय गरिएको हो । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रूपमा मनाउने कार्यको थालनी भएको छ ।
