झिलझिले/ झापाको शिवसताक्षी–११ झिलझिलेमा तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
असोज २६ देखि कार्तिक २ गतेसम्म हुने प्रतियोगितामा छिमेकी मुलुक भारतको पाहुना टोलीसहित कोशी प्रदेशभरका १० भेट्रान क्लबहरुले सहभागिता जनाउने भएका छन् ।
बुधबार झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान/ प्राविधिक तथा व्यवसायिक शिक्षालयको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था झिलझिले भेट्रान क्लबले प्रतियोगिता बारेमा जानकारी गराएको हो ।
प्रतियोगिता सञ्चालन समितिका संयोजक जसु कुलुङ राईका अनुसार झिलझिलेमा तेस्रो संस्करण अन्तर्गत प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुन लागेको हो । उनले यसपटकको प्रतियोगितालाई स्वर्गीय पवन चाम्लिङ राईको स्मृतिमा समर्पण गरिएको बताएका छन् । स्वगीय पवन चाम्लिङ राई झिलझिले भेट्रान क्लबका खेलाडी थिए । झिलझिलेमा खेलकुद, शिक्षा, सहकारी संस्था र सामाजिक कार्यमा सक्रिय पवन चाम्लिङ राईको एक वर्ष अघि असमायीक निधन भएको थियो ।
प्रतियोगिता सञ्चालन समितिका संयोजक राईले प्रतियोगितामा विशेष पाहुनाका रुपमा भारतको एक क्लबसहित कोशी प्रदेशभरका १० वटा भेट्रान क्लबहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतियोगितामा सहभागि भेट्रान क्लबहरुमा पूर्वेली भेट्रान क्लब बिर्तामोड, एभरेष्ट भेट्रान क्लब मोरङ, झिलझिले भेट्रान क्लब (रातो), डिएफसी भेट्रान क्लब (भारत), रामधुनी भेट्रान क्लब सुनसरी, झिलझिले भेट्रान क्लब (निलो), दूधे भेट्रान क्लब शिवसताक्षी, ढल्केजोवन भेट्रान क्लब उर्लाबारी, चारपाने भेट्रान क्लब झापा र दमक–लखनपुर भेट्रान क्लबहरु रहेका छन् ।
प्रतियोगितामा विजेता क्लबले एकलाख हजार ५ रुपैया र उपविजेता क्लबले ५१ हजार ५ रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् ।
प्रतियोगिता अन्तर्गत दैनिक खेलमा एक खेलाडीलाई म्यान अफ द म्याच घोषणा गरेर कपसहित नगदसहित पुरस्कृत गरिने भएको छ ।

स्वर्गीय पवन चाम्लिङ राई
त्यस्तैं, प्रतियोगिताको फाइनल खेलपछि विभिन्न विषयगत शीर्षकमा उत्कृष्ट गोलकर्ता, गोलकिपर, डिफेन्डर, फरवार्ड, प्रशिक्षक तथा प्रतिभाशाली खेलाडीहरुलाई पुरस्कृत गरिने जानकारी दिइएको छ ।
आर्थिक संयोजक सन्तोष थेगिमका अनुसार प्रतियोगितामा अनुमानित कुल ८ लाख रुपैयाँ खर्च हुनेछ । थेगिमले विभिन्न देशमा रहनुहुने पूर्व खेलाडीहरु, खेलक्षेत्रका शुभेच्छुक तथा मनकारी दाताहरुको सहयोगले प्रतियोगिता सम्पन्न गरिने तयारीमा रहेको बताएका छन् । उनले प्रतियोगिताको दोस्रो पुरस्कार पूर्व सांसद तथा शिवसताक्षी नगरका एमाले नेता लालप्रसाद साँवाले उपलब्ध गराउने जानकारी दिएका छन् । आर्थिक संयोजक थेगिमका अनुसार स्वर्गीय पवन चाम्लिङ राईको स्मृतिमा झिलझिलेमा तेस्रो संस्करणको भेट्रान फुटबल प्रतियोगिता हुने भए पनि पवन चाम्लिङ राईको परिवारबाट आर्थिक सहयोग माग गरिएको छैन् ।
प्रतियोगिताबाट बचत भएको रकमलाई खेलकुद क्षेत्रको विकास र अन्य सामाजिक सेवामा प्रयोग गरिदै आएको थेगिमले बताएका छन् ।
पत्रकार सम्मेलनमा आयोजक झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राई, शिवसताक्षी नगर भेट्रान फुटबल क्लबका अध्यक्ष एवम् धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाकुमार जोशी, प्रतियोगिता सञ्चालन समितिका सदस्य तथा आर्थिक समितिका सदस्य तीलक राई, समाजसेवी क्लब झिलझिलेका अध्यक्ष तथा झिलझिले भेट्रान फुटबल क्लबका सदस्य राजु तिखत्री, पूर्व खेलाडी तथा अग्रज व्यक्तित्व खड्ग राई, खगेन्द्र ढुङ्गाना, अनिल राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य राम भेट्वालले गरेका थिए ।

