शिवसताक्षी नगरपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भाद्र १ गते बृहत रथ यात्रा हुने भएको छ । शिवसताक्षी नगरपालिका–६, शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा भगवान राधाकृष्णको रथयात्रा गरिने भएको हो ।
संस्थाले आज पत्रकार सम्मेलन गरेर आगामी भाद्र १ गते श्रीकृष्ण जम्माष्टमी मनाउन दिन दिनको १ बजे रथयात्रा गर्न तयारी सुरु गरिएको जानकारी दिएको छ । संस्थाका अध्यक्ष माधव अधिकारीले सनातन धर्म, संस्कृति र संस्कारको प्रवर्ध्दन गर्दै भक्तिभाव जगाउने उद्देश्यले रथ यात्राको आयोजना गरिएको बताए ।
राधाकृष्णको रथयात्राले धार्मिक चेतना फैलाउने र सामाजिक सद्भाव बलियो बनाउने, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । अध्यक्ष अधिकारीले भने, यस पटक २० हजार बढी भक्तजनहरुलाई रथ यात्रामा सहभागी गराउने उद्देश्य रहेको छ ।
रथमा राधाकृष्णको मूर्ति राखी शिवगञ्जबाट भेलामुनी, कटुवाल चौक, जनता चौक, हवल्दार चौक, पाथिभरा मन्दिर, दुर्गा मन्दिर, शिवालय लगायत प्रमुख मार्गहरू हुँदै परिक्रमा गरिनेछ । सो अवसरमा भजन–कीर्तन, संस्कृत मन्त्रोच्चारण, पूजाआजा लगायतका विविध धार्मिक कार्यक्रम पनि समावेश गराइने छ । श्रावण ३१ गते बेलुकी गंगा आरती, भजन कीर्तन लगायतका कार्यक्रमहरु हुने आयोजनले जनाएको छ ।
