झापाको शिवसताक्षी नगरपालिका ११ दुधे रंगशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । शिवसताक्षी नगरपालिकाद्वारा यस क्षेत्रमा निर्माणाधीन दूधे रंगशालामा हुने उक्त प्रतियोगितामा आयोजक टिम सहित नेपालका तीग विभागीय टिमहरू त्रिभुवन आर्मी, एपिएफ र नेपाल प्रहरीको टिमका साथै छिमेकी मुलुक भारत र भुटानको एक-एक टिम र नेपालका ए डिभिजन क्लबका थप २ टिम गरी कुल ८ टिमको प्रतियोगितामा सहभागिता रहने आयोजक समितिका संयोजक सन्तोस थोप्रा लिम्बूले जानकारी दिएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड रुपैयाँ खर्च लाग्ने र प्रतियोगिताबाट खर्च कटाएर कुल ५० लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हालसम्म नेपालको प्रतियोगितामा महिला फुलटबलको सर्वाधिक पुरस्कार राशी ७ लाख रहेको र त्यो भन्दा माथि कम्तीमा ७ लाख ५० हजार रुपैयाँ प्रथम पुरस्कार राशी रहने संयोजक थ्रोपाले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत समेत पुरस्कार प्रदान गरिने बताइएको छ । पत्रकार सम्मेलनमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थ्रोपा (रोशन), उपप्रमुख नरमाया कार्की, झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङ लगायातले प्रतियोगिता सम्पन्न गर्न आर्थिक र अन्य प्राविधिक सहयोग गर्नें प्रतिवद्धता जनाएका छन्। यता नगरको गौरवको आयोजना अन्तर्गत दूधेमा बन्न लागिरहेको दूधे रंगशालाको प्यारापिट, ग्राउण्ड लगायातको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख थ्रोपाले बताएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरि तीनै तहका सरकारको लगानीमा २६ हजार दर्शक अटाउने क्षमता हुने रंगशाला निर्माणमा हालसम्म २ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको र संघीय सरकारबाट यसवर्षमात्रै ३ करोड रकम विनियोजन गरिसकेको नगर प्रमुख थ्रोपाले जानकारी गराएका छन् ।
