सरकारी योजनामा ढिलासुस्ती, निर्माण कम्पनीको लापरवाहीले छ वर्षमा पनि बनेन सतासी खोलाको पुल

छ वर्ष अघि सतासी खोलामा पुल बन्ने भएपछि त्यहाँका उपभोक्ताहरु हर्षित बनेका थिए । निर्माण शुरु भएको यतिका लामो समयसम्म पनि प्रि–स्ट्रेस पुल अझैसम्म निर्माण सम्पन्न नहुँदा स्थानीय उपाभोक्ताहरु निराश बनेका छन् ।
यतिका लामो समयसम्म पुल नबन्दा स्थानीयबासी उपभोक्ताहरु वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् । २०७७ सालमा तत्कालीन झापा क्षेत्र नं. ४ (क) का प्रदेश सांसद झलकसिंह दर्लामीको पहलमा निर्माण शुरु गरिएको पुल २०७७ सालमै शिलान्यास भएको थियो ।


समाचारका लागि रिपोर्टिङमा जाँदा निर्माण क्षेत्र सुनसान थियो । योजना बोर्ड पनि निर्माण स्थलमा भएको पाइएन । अञ्जना निर्माण सेवा ठेकेदार कम्पनी, काठमाडौंले भ्याटसहित ९ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको भए पनि त्यसपछि उक्त ठेक्का अर्कै कम्पनीले सब–कन्ट्रयाक्टरको रुपमा प्राप्त गरेको सब–कन्ट्रयाक्टर पानालाल जैसवालले सतासीखबरलाई जानकारी दिएका छन् । जैसवालका अनुसार पुलको लम्बाई ९० मिटर रहेको छ भने चौडाई ८.४० मिटर रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ र ७ को सिमानामा पर्ने सतासी खोलाको पुल कन्काई नहरको साइफन नजिक पर्दछ । पहिलो ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरेपछि अर्को कम्पनीलाई सब–कन्ट्रयाक्टरको रुपमा पुल निर्माणको काम दिएको बुझिन्छ । तर यो कम्पनीले पनि निर्माण कार्यमा ढिलासुस्ती गरिरहेको पाइएको छ ।
छ वर्ष भएछ, किन ढिलासुस्ती भइरहेछ काममा ? भन्ने सम्पादकको प्रश्नमा सब–कन्ट्रयाक्टर जैसवाल भन्छन्, वर्षायाममा चाहेर पनि काम गर्न सकिँदैन । उनले थपे, निर्माण सम्पन्न हुने मिति २०८२ साउन मसान्तसम्म हो, कन्ट्रयाक्ट अनुसार काम सम्पन्न समयमै गर्छौं । सब–कन्ट्रयाक्टरको भनाइलाई मध्यनजर राख्ने हो भने उनले सरासर झुट बोलिरहेका छन् किनकि सम्झौता मिति पूरा हुन १९ दिन मात्र बाँकी रहेको र त्यति छोटो समयमा पुल निर्माण सम्पन्न हुनु भनेको चमत्कार नै हुनुपर्दछ । योजना बोर्ड चाहिँ किन राख्नु भएन भन्ने जिज्ञासामा जैसवालले भने, योजना बोर्ड खोलाले बगायो । उनका अनुसार, अञ्जना निर्माण सेवा ठेकेदार कम्पनीका प्रोप्राइटर रवि सिंह रहेछन् ।
प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत निर्माण कार्य शुरु भएको प्रि–स्ट्रेस ब्रिज हाल पूर्वाधार विकास कार्यालय झापाको मातहतमा कार्य सम्पादन हुँदो रहेछ । सरकारी काममा यसरी नै ढिलासुस्ती भइरहने हो ? भन्ने प्रश्नमा पूर्वाधार विकास कार्यालय झापाका इञ्जिनियर तथा सूचना अधिकारी उत्तम खरेल भन्छन्– यसअघिका निर्माण कम्पनीले काम गर्न ढिलासुस्ती गरेकै हो तर हामी यस आर्थिक वर्षको हिउँदसम्ममा काम सम्पन्न गर्छौं । ठ्याक्कै समय नै भन्नुस् त कहिले काम सम्पन्न गर्ने हो ? भन्ने दोहोरो प्रश्नमा खरेल भन्छन्, ठ्याक्कै यही मितिमा भन्न चाहिँ गाह्रो छ । उनी पन्छिए ।
दूधेदेखि कुञ्जिबारी जोड्ने ठाडोबाटो क्रस गर्दै नहर चौकबाट इन्द्रेणी चौक, बहिदार चौक, धौले चौक, लालझोडा लगायतका नगरबासीहरुलाई यो पुल निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजता ल्याउछ भने नगरपालिकासँग पनि यस पुलले सहजै जोड्न सक्छ ।


शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन) भन्छन्, काममा ढिलासुस्ती भएकै हो, यसपटक पनि प्रदेश सरकारबाट यसै पुलका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । उनले यस आर्थिक वर्षमा निर्माण सम्पन्न हुने आशा व्यक्त गरेका छन् । त्यसो त ६ वर्षको समयमध्ये कोरोनाको कहरले केही वर्ष अवरोध गरेको थियो । कोरोनाको समयलाई तीनवर्ष घटाउने हो भने पनि ग्रामीण भेगको सानो योजना एकै आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने हो । त्यो हुन नसक्दा जनताहरुले सरकारसँग प्रश्न गरेका हुन् ।
उता सब–कन्ट्रयाक्टर जैसवालले सरकारले नियमित रुपमा आवश्यक परेको बजेट फछ्र्यौट गरिदिए काम सम्पन्न गरी समयमै सरकारलाई पुल हस्तान्तरण गर्ने कुरा बताएका छन् । यस भनाइलाई विश्लेषण गर्दा सरकारले समयमै आवश्यक बजेट निर्माण कम्पनीलाई निकाशा नगरेको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares