झापामा एक वर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा हात्तीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका हुन् ।
उनीहरुलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताएका छन् । त्यसैगरी हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीहरुले पनि क्षति व्यहोरिरहेका छन् । एक वर्षमा चार वटा हात्तीको विभिन्न कारणले मृत्यु भएको छ । त्यस्तै, हात्तीको आक्रमणबाट झापामा सात जना सख्त घाइते भएका थिए । उनीहरुलाई उपचार खर्चवापत् ७ लाख ३८ हजार ४३२ रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै हात्तीले १२५ वटा घरगोठमा क्षति पु¥याएको छ । घर भत्किएका पीडितहरुलाई १४ लाख २६ हजार पाँच रुपैयाँ राहत प्रदान गरिएको छ । त्यस्तै, २१३ जना किसानको अन्नबाली हात्तीले नष्ट गर्दा उनीहरुले १६ लाख ४४ हजार रुपैयाँ राहत पाएका छन् । त्यस्तै ५२ जनाको भण्डारण गरिएको अन्न क्षति गर्दा उनीहरुले तीन लाख ७० हजार ३ सय रुपैयाँ राहत प्रदान गरिएको छ । हात्तीबाट नौ वटा चौपायामा समेत क्षति पुगेको छ । त्यसको क्षतिपूर्ति वापत् ९० हजार रुपैयाँ प्रदान गरिएको छ । गत वर्ष जङ्गली हात्तीबाट भएको जनधनको क्षति वापत् जम्मा छ करोड ४२ लाख ६९ हजार २ सय ३२ रुपैयाँ राहत प्रदान गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
झापामा लामो समयदेखि मानव हात्ती द्वन्द्वले करोडौँको भौतिक संरचना र कृषकको अन्नवाली नष्ट गरिनुको साथै यसअवधिमा दर्जनौ हात्ती र मानिसको समेत मृत्यु भइसकेको छ ।
झापामा २०६७ सालदेखि हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको र २५ वटा हात्ती पनि मरेको तथ्यांकले देखाएको छ । डिभिजन वन कार्यालय झापाका डा. सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका छन् ।
झापामा मानव–हात्ती द्वन्द्व, ६ मानिस र ४ हात्ती मारिए
