भोगचलन विद्यालयको, धनीपूर्जा व्यक्तिको : विद्यालयले भोगचलन गरेको जग्गा विद्यालयलाई नै हस्तान्तरण गर्नुपर्ने जिकिर

दूधे/ विद्यालयले चर्चेको जग्गा गैर सम्बन्धित व्यक्तिको नाममा बकस पास भएको समाचार अहिले शिवसताक्षीमा चर्चाको विषय बनेको छ ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माविले भोगचलन गर्दै आएको जग्गा व्यक्तिको नाममा बकस पास भएपछि समाचार सतहमा आएको हो ।
जग्गा बकस पास भएसँगै उक्त जग्गामा निर्माण गरिएका सरकारी स्थायी भवन स्रोत केन्द्रको केही भाग र विगतमा कक्षा ९ र १० अध्यापन गराउने कोलोनी अर्थात् चारवटा कक्षाकोठा भएको संरचना व्यक्तिको नाममा गएको हो । लगनबहादुर कडरियाको स्रेस्तामा कायम रहेको साविक शिवगञ्ज ७ नक्शा नं. ङ मा पर्ने हाल शिवसताक्षी वडा नं. ११ कि.नं. १९३४७ को ज.वि. ०–१–८–२५ (एक कठ्ठा आठ धुर तीन पाउ) जग्गा वि.सं. २०८० साल माघ २८ गते साविकको कित्ता नं. १७१०१ हालको कित्ता नं. १९३४७ जग्गा मालपोत कार्यालय दमकमा विमला कडरिया थापाको नाममा पास भएपछि विषय सार्वजनिक भएको हो ।

विद्यालयले प्रयोग गर्दै आएको स्रोत केन्द्र भवन र कोलोनी


२०२६ सालमा लगनबहादुर कडरियाका पिता स्व. तिलबहादुर कडरियाले उक्त जग्गा राष्ट्रिय रमणीय आदर्श माविलाई जग्गादान गर्ने क्रममा लग्गीले नापिएको जमिनभित्र हालसम्म विद्यालयले भोगचलन गरिरहेको मात्र होइन विद्यालयको भौतिक संरचनाहरुसमेत रहेका छन् । जग्गा पास हुनु अघि भाइमा जेठा छोरा लगनबहादुर कडरियाको नाममा रहेको थियो ।
शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बहादुर आङबोसँग यस विषयमा बुझ्दा आफूले जग्गाको बारेमा पटक–पटक सोधपुछ गरेको बताए । उनले, यो जग्गा विद्यालयले भोगचलन गरेको क्षेत्रमा त पर्दैन भनि सोधेको जानकारी दिएका छन् । विमला कडरिया थापाका छोरा गौरव थापा जग्गा पास गर्न सार्वजनिक बाटो र घरको सिफारिस लिन मावली हजुरबुबाको हस्ताक्षर भएको सिफारिसको निवेदनका लागि वडा कार्यालयमा आएका थिए । त्यतिबेला कहाँको जग्गा हो भनी सोध्दा दूधे आयुर्वेद औषधालय भन्दा उत्तरखण्डको जग्गा हो, तपाईलाई विश्वास लाग्दैन ? तपाईलाई फसाउन सक्छु र ? भनी जवाफ दिएपछि मैले सिफारिस दिएको हो तर मलाई विश्वासको आधारमा फसाइयो वडा अध्यक्ष आङबोले भने ।
विद्यालयले भोगचलन गरेको जग्गा व्यक्तिको नाममा बकस पास भएको सतहमा आएपछि यसको यथार्थ विषय के हो भन्ने बारेमा स्थानीय सम्बन्धित पक्षलाई बुझ्ने क्रममा माइला भाइ अमरबहादुर कडरियासँग बुझ्दा विवादित जग्गा कडरियाकै पैत्रिक भएको बताएका छन्, उनले कुनै पनि हालतमा व्यक्तिको नाममा जान नहुने जिकिर गरेका छन् । उनले थपे, हामी सबै दाजु भाइ सल्लाह गरेर विद्यालयलाई नै हस्तान्तरण गर्नुपर्ने बताए ।
त्यस्तै कडरिया परिवारकै साइला भाइ दलबहादुर कडरियाले यस विषयमा भने तिलबहादुर कडरियाको सेखपछि हाल यो जग्गा जेठा दाजु लगनबहादुर कडरियाको नाममा थियो । यो जग्गाको मौखिक सर्त अनुसार सबै दाजु भाइले बाँड्ने भन्ने थियो तर कसरी एक्कासी अर्कै व्यक्तिको नाममा यो जग्गा गयो म अचम्ममा परेको छु । विद्यालयले भोगचलन गरेको जग्गा त्यति सजिलै त पक्कै छैन, हाम्रो बुबाले विद्यालयलाई दिएकै हो, विद्यालयले नै पाउनु पर्छ, अर्को विकल्प छैन । कडरिया दाजु भाइको भनाइलाई बुझ्ने हो भने यो जग्गा पास गर्ने क्रममा पारिवारीक सरसल्लाह नभएको देखिन्छ ।
विषय बाहिर आएर विभिन्न मिडियामा प्रकाशन, प्रशारण भएपछि यसै विषयलाई लिएर राष्ट्रिय रमणीय आदर्श माविका प्रधानाध्यापक गिरिराज सेर्मासँग बुझ्दा जग्गा दान गर्ने व्यक्तिहरु वहाँहरु नै भएकोले विद्यालय भित्र परेको र विगत ६० वर्षदेखि भोगचलन गर्दै आएको जग्गा विद्यालयले नै पाउनु पर्ने बताएका छन् । त्यसको लागि हामीले कानूनी परामर्श गरिरहेका छौं, उनले थपे ।
राष्ट्रिय रमणीय आदर्श माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराई भन्छन्, हामीले यो विषय ढिला गरी मात्र थाहा पायौं, थाहा पाएपछि हामीले वडा अध्यक्ष आङबोसँग बुझ्यौं, बुझ्दा आफूलाई झुक्याएर सिफारिस लगिएको बताए । उनले भने, यो विषयमा हामी छलफल गरिरहेका छौं ।
व्यक्तिको जग्गा व्यक्तिकै नाममा बकस पास हुने विषय सामान्य देखिए तापनि सरकारी संस्थाले भोगचलन गरेको र उक्त स्थानमा सरकारी भवन पनि परेकाले विषयले ठुलो रुप लिएको देखिन्छ । छ दशकदेखि सरकारी विद्यालयले भोगचलन गर्दै आएको जग्गा कसरी एकैचोटी अर्को व्यक्तिको नाममा पास भयो ? व्यक्तिको नामको जग्गामा सरकारी संरचना छ, के विद्यालयसँग सामान्य छलफल हुनुपर्दैन ? भन्ने आम जिज्ञासा पनि उठ्न सक्छ ।
विषय के हो भन्ने बारेमा विमला कडरिया थापाका श्रीमान् महेन्द्र थापासँग फोन सम्पर्क गरी बुझ्दा २०२५ सालदेखि हालसम्म लगनबहादुर कडरियाको नाममा मालपोत तिर्दै आएको बताउँदै व्यक्तिको जग्गा अर्को व्यक्तिलाई पास गर्न कानूनले खुल्ला गरेको बताए ।
अहिले विवादमा आएको जग्गा एसियन हाइवे निर्माण शुरु हुनुभन्दा अगाडि ६ कठ्ठा जग्गा हो । जुन कडरिया परिवारले विद्यालयलाई जग्गादान गरेको थियो तर एसियन हाइवे बनिनु पूर्व सडकले बाटो काटेर हाल २ कठ्ठा १५ धुर मात्र बाँकी रहेको छ । उक्त जग्गामा दक्षिणतर्फ एसियन हाइवेसँग जोडिएको भूकम्प ब्लक अर्थात् व्यापारिक स्टलहरु रहेका छन् । स्टलको अन्दाजी ४० फिट उत्तरमा कोलेनी र सरकारी स्रोत केन्द्र भवन रहेको छ । उक्त कोलेनी मुख्य सडकखण्ड निर्माण हुने बेला २०२० मा महेन्द्र राजमार्ग बन्नु अघि सडक विभागले निर्माण गरी प्रयोग गरेको थियो, पछि काम सकिएपछि चारकोठा भएको कोलेनी विद्यालयलाई हस्तान्तरण गरिएको हो । उक्त कोलेनीमा २०७०÷०७१ बाट पठनपाठन बन्द गरी स्टोर र दिवा खाजाका लागि प्रयोग गरिदै आएको थियो ।
अहिले विवाद रहेको जग्गा मुख्य सडकखण्ड भन्दा अन्दाजी ४५ फिट उत्तर विद्यालयको २ कठ्ठा १५ धुर जग्गाभन्दा उत्तरमा रहेको छ । हाल विद्यालयको संरचना भएको सम्पूर्ण जग्गा २ कठ्ठा १५ धुर बाहेक जम्मा १६ कठ्ठा जग्गा शिक्षा मन्त्रालयको नाममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares