भगवती आविमा अक्षयकोषका लागि आङ्देम्बेद्वारा २५ हजार रुपैयाँ सहयोग

शिवसताक्षी/ झापाको शिवसताक्षी नगरपालिका–८, डुडामारीस्थित भगवती आधारभूत विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग रकम जुटाउने अभियान जारी रहेको छ। विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्तिमार्फत अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा पछिल्लो समय एक दाताले २५ हजार रुपैयाँ सहयोग गरेका छन्। शिवसताक्षी–७, सिमाना चोक निवासी तथा हाल काठमाडौंमा बसोबास गर्दै आएका लिलाराज आङ्देम्बेले विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा उक्त रकम हस्तान्तरण गरेका हुन्। आफूले कमाएको रकमको केही हिस्सा दिवङ्गत बुबाआमाको स्मृतिमा सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको आङ्देम्बेले बताए। लिम्बू भाषा तथा लिपिको संरक्षण, शिक्षा र समाजसेवामा सक्रिय चापेता सेर्माको पहलमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान सञ्चालन भइरहेको छ। यसअघि पनि विभिन्न दाताले विद्यालयलाई सहयोग रकम प्रदान गरिसकेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापा मगरले जानकारी दिए। लिम्बू भाषा तथा लिपिको संरक्षण, शिक्षा र समाजसेवामा सक्रिय चापेता सेर्माको पहलमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान सञ्चालन भइरहेको छ। यसअघि पनि विभिन्न दाताले विद्यालयलाई सहयोग रकम प्रदान गरिसकेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापा मगरले जानकारी दिए। उनका अनुसार विभिन्न दाताले आफ्ना दिवङ्गत आफन्त तथा अन्य व्यक्तिको स्मृतिमा स्थापना गरेका अक्षयकोषमा हालसम्म ११ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा चुनौती देखिएका बेला भगवती आधारभूत विद्यालयले कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ। हाल विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थी र अभिभावकलाई विद्यालयप्रति आकर्षित गर्ने विषयमा समेत छलफल भएको थियो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत डुडामारी बजार परिसरमा रहेको विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि गर्न र शैक्षिक वातावरण थप प्रभावकारी बनाउन आवश्यक पहल गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। कार्यक्रममा शैक्षिक व्यक्तित्वहरू जसकुमार तामाङ, शिवकुमार सेर्मा, जयश्वर आङ्देम्बे, ख्यम उप्रेती, दीपक सेर्मा, ठाकुरसिंह सेर्मा, दलकुमार सेर्मा र कालीप्रसाद सेर्मालगायतले शैक्षिक गुणस्तर वृद्धि गर्न विभिन्न सुझाव दिएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुर सेर्माको सभापतित्वमा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा पीटीए अध्यक्ष विक्रम तामाङ, विद्यालय व्यवस्थापन समिति सदस्य भास्कर निरौला तथा शिक्षकहरू तारा सेर्मा र प्रमिला नेम्बाङ (नुमा) लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares