दशैं सबैको लागि उल्लासमय बनोस्, २०८३ सालको विजया दशमी टिकाको साइत १० बजे २६ मिनेटमा


— छबिलाल दवाडी
नेपालीहरुको महान् चाड विजया दशमीको नवरात्र घटस्थापना २०८३ साल आश्विन २५ गते सोमबारदेखि शुरु भएको छ ।
आश्विन शुक्लपक्ष (दुर्गापक्ष) नामले प्रख्यात सूर्य दक्षिणायन शरद ऋतुमा पर्ने यो चाड परापूर्व कालदेखि हिन्दू नेपालीहरुले मान्दै र मनाउदै आएको पाइन्छ । पछिल्लो समयमा हिन्दू नेपाली मात्र नभएर विभिन्न जातजातिले आ–आफ्नो धर्मसंस्कार, संस्कृति अनुसार हर्षोल्लासपूर्वक दशैं मनाउने गरेका छन् । आश्विन शुक्ल प्रतिपदाका दिन देशका विभिन्न शक्तिपीठहरु तथा आ–आफ्ना घरका पूजाकोठाहरुमा गाईको गोबर, कमेरो माटो, रातो माटोले लिपपोत गरी देवीहरुको आराधनासहित घटस्थापना गर्ने चलन रहिआएको छ । घटस्थापना गर्दा दियो, कलश, गणेशको विधिपूर्वक पूजा आराधना गर्दै नवदुर्गा भवानीको प्रतिमा स्थापना गरी पूजा अर्चना शुरु गर्ने गरिन्छ ।
घटस्थापनासँगै विधिपूर्वक टपरीमा जौ, मकै, धानसहितको जमरा राख्ने परम्परा रहिआएको छ । जमरा राखेपछि प्रत्येक दिन विधिपूर्वक देवीसहित जमराको पूजा गरिन्छ । घटस्थापनासँगै शक्तिपीठ तथा पूजाघरमा प्रत्येक दिन देवीहरुको नौ दिनसम्म छुट्टाछुट्टै नामले पूजा गरिन्छ ।
न मन्त्रं नो यन्त्रं तदपि च न जाने स्तुतिंमहो ।
न चाह्वानं ध्यानं तदपि च न जाने स्तुति कथा ।।
न जाने मुद्रास्ते तदपि च न जाने किलपनं ।
परं जाने मातस्त्व तदनुशरणं क्लेशहरणम् ।।।
विधेरज्ञानेन द्रविण विरहेणा अऽलसतया ।
विधेयाऽशक्यत्वात् तव चरणयोयंच्युतिरभुत ।।
तदेतत्क्षन्तव्यं जननि सकलोद्वारिणि शिवे ।
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।
पृथिव्यां पुत्रास्ते जननि बहवः शान्ति सरालाः
परं तेषां मध्ये विरलतरलोऽअहं तव सुतः ।।
पूजाको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुश्माण्डा देवीको पूजा आराधना गरिन्छ । त्यसैगरी पाँचौ दिनका दिन स्कन्द माताको पूजा गरिन्छ भने छैठौ दिनका दिन कात्यायनी, सप्तमी अर्थात् सातौ दिनका दिन कालरात्री, महाअष्टमीका दिन महागौरीको पूजा आराधना गरिन्छ । त्यसैगरी नवरात्रको अन्तिम दिन महानवमीका दिन भगवती देवीको नवौं नाम सिद्धिदात्री नाम गरेकी देवीको पूजा गरी नवदुर्गा प्रसन्न हुन्छिन् भन्ने विश्वास रहिआएको छ ।
विधिपूर्वक घटस्थापनाका दिन राखिएका जमरालाई प्रत्येक दिन पूजा गर्दै विजया दशमीका दिन स्थापित देवीको विधिपूर्वक नदी, तलाउ आदि शुद्ध स्थानमा विसर्जन गरी आ–आफ्ना बाबा, आमा तथा मान्यजनबाट टिका, जमरा लगाउँदै आशिर्वाद लिने र थाप्ने चलन रहिआएको छ ।
नवरात्रको सातौं दिनलाई फूलपातीका नामले बुझिन्छ । त्यस दिन शक्तिपीठ तथा घर–घरमा विधिपूर्वक बाजागाजा, शंख, घण्ट, पाठ पारायण गरी अशोक, सिमली विभिन्न प्रजातिका फूलपातीहरु दशैंघर तथा शक्तिपीठहरुमा भित्र्याइने परम्परा चलिआएको छ । दुर्गा सप्तशतीको अर्गलास्तोत्रम्मा देवीहरुका ११ वटा नामद्वारा स्तुति गरिएको पाइन्छ । देवीका नामहरु यसप्रकार रहेका छन्– जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा नामले प्रख्यात छन् । यी देवीहरुले के के गर्छन् ? स्त्रोत्र भनिएके छ, सबैलाई विजय दिने, जन्म मरणबाट मोक्ष दिने, मंगलमयी, प्रलयकालमा सृष्टिलाई रचाइदिने रहेका छन् । त्यसैगरी भक्तहरुप्रति भद्र, हातमा खप्पर र गलामा मुण्डमाला भएकी, दुसाध्य साधनाबाट दर्शन मिल्ने, करुणामय स्वभाव भएकी, सबैको कल्याण गर्ने, सबै प्रपञ्चको धारण गर्न सक्ने बताइएको छ । त्यस्तै यज्ञभाग ग्रहण गरेर पितृहरुलाई खुवाउने देवीहरु कहलिएका छन् । दुर्गा सप्तशतीको पाँचौ अध्यायको २०, ३२, ४१, ४७, ५०, ७१, ७७ र ७८औं श्लोकमा देवी, आमा अर्थात् माताहरुलाई यसरी पुकार गरिएको छ । २०औं श्लोकमा यसरी वर्णन गरिएको पाइन्छः
या देवी सर्वभूतेषु बुद्धिरुपेण संस्थिता ।
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नमः ।
त्यसैगरी शक्तिरुप, जातिरुप, शान्तिरुप, श्रद्धारुप, मातृरुप र ७८औ श्लोकमा भनिएको छः
चितिरुपेण या कृत्स्नमेतदू व्याप्त स्थिता जगत ।
७८औ श्लोक भन्छ, देवी चैतन्यरुपले यो सम्पूर्ण जगतलाई ढाकेर रहेकी छन् आदि वर्णन गरिएको छ ।
विजया दशमीको दिन मान्यजनले आफ्ना सन्तति, शिष्यहरुलाई टिका लगाई यस्ता वैदिक मन्त्रद्वारा आशिर्वाद दिने शास्त्रहरुमा उल्लेख गरिएको छः
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु
गोवाजिहस्ति धनधान्य समृद्धिरस्तु
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु
सन्तानवृद्धिसहिता हरिभक्ति रस्तु ।
आ ब्रह्मन् । आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायताम् मा राष्ट्रे राजन्यः शूर इषव्योऽतिव्याधी महारथो जायताम् । दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः पुरन्धिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवास्य यजमानस्य वीरो जायतां निकामे निकामे नः पर्जन्यो वर्षतु फलवत्यो न ओषधयः पच्यन्तां योगक्षेमो नः कल्पताम् ।।
त्यस्तै मान्यजनले थालीमा दही, अक्षता राखेर शुक्ल यजुर्वेदको यो मन्त्र पढ्दै टिका मुछिन्छ । जसको भावार्थ भने यस्तो रहेको छ– तेजी ब्राम्हण वेदमा सब बनुन् सारा राष्ट्रमा तेजिला । सुर स्वस्थ महारथि धनुधरा रक्षा क्षमा क्षतित्र । गाई धेनु समान दूध दुहुने गोरु र साँढे बली, घोडा वायु सरी सुशिल विदुषी नारी पुरन्द्री भलि । योद्धा वीर, शस्त्र र शत्रु विजयी, विद्वान युवा सभ्य हुन् । देवर्षि यजमानका सुत रहुन् वैरा गुणी सद्गुणी । हाम्रा खेती किसानका समयमा प्रजन्य बर्सुन जल, बालीनाली फुलुन् फलुन् पजरिउन् पाकुन् सबै औषधि । यो गच्छेमा समान रुप सबको होस् कल्प–कल्पान्तमा । मेधायी धन, धर्म, धैर्य धितिले सम्बन्ध सारा रहुन् । स्वस्ति, शान्ति र संघ शक्ति जनले जागुन् जगाउन् जगत् । विश्व शान्त रहोस् सदा जय रहोस्, कल्याण होस् लोकको ।
त्यसैगरी टिका लगाइदिदा यस्ता मन्त्र पढ्दै आशिर्वाद दिइन्छ – आयु दोर्णसुते श्रियो दशरथे शत्रुक्षयो राधवे÷ ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने÷ शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कन्तीसुते ।÷ विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
जसको भावार्थ आयु द्रोणका छोराको जस्तो होस्, श्रेय दशरथको जस्तो होस्, जति पनि शत्रुहरु छन् राधवका जस्तै गरी नाश हुन् । ऐश्वर्य नहुषको जस्तो होस्, गति पवनको जस्तो होस् । मानसम्मान दुर्योधनको जस्तो रहोस्, सूर्य जस्तो शान्त । बल र शक्ति हलधरको जस्तो रहोस् भने सत्य कुन्तीका छोराको जस्तो होस् । ज्ञान विदुरको जस्तो प्राप्त होस् भने कीर्ति चाहिँ नारायणको जस्तो फैलिएर जाओस् ।
यी र यस्तै आशिर्वचन दिदै टिका, पहेलो जमरा लगाइदिने चलन चलिआएको छ । विजया दशमीका दिनदेखि आश्विन शुक्ल पूर्णिमाका दिनसम्म मान्यजन, जन्म मातापिता, कर्म मातापिता, मावल, साधुसन्त, महात्मा, सन्यासहरु समक्ष पुगेर आशिर्वाद लिने गरिन्छ । यतिबेला लामो समयदेखि घरबाट बाहिर रहेका छोराछोरी तथा आफन्तहरु दशैंलाई सम्झेर घर फर्किन थालेका छन् । यसपटकको दशैंको टिकाको उत्तम साइन २०८३ साल कार्तिक ४ गते बुधबार १० बजेर २६ मिनेटमा रहेको ज्योतिषविद्हरुले बताएका छन् । चाडपर्व मनाउँदा आफ्नो औकात अनुसार मनाउन जान्नु र सिक्नु पर्दछ ।
‘या कि ऋणं कृत्वा घृतं पिवेत्’ कसैले पनि नगरौं । अर्काको देखासेखी गरेर दशैं कसैका लागि दशा नबनोस् । पौराणिक उखान अनुसार आफ्नो घाँटी हेरी ….. निल्न नभुलौं । चाडवाडका समयमा सार्वजनिक यातायातमा अत्याधिक भिडभाड हुने गर्दछ । यात्रा गर्दा सबै सचेत भै महंगा गरगहना तथा बहुमूल्य वस्तुहरुको संरक्षण गर्नु बेस हुन्छ । सार्वजनिक सवारी चालक, सहचालकहरुले सावधानीपूर्वक यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउन ख्याल राखियोस् न कि अपृय कसैमा नहोस् ।
नवदुर्गा भवानी दुर्गा माताले सम्पूर्ण मानव जाति तथा चराचर प्राणीहरुको कल्याण गरुन् । २०८३ को विजया दशमी सभ्य, भव्य र सुसंस्कृत बनोस्, हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares