शिवसताक्षीमा लागु औषध माफियाको नग्न साम्राज्य : कोशी प्रदेशकै दोस्रो ठुलो दुर्व्यसनी अखडा बन्दै नगर, गल्ली–गल्लीमा खुला किनबेच, भारतीय सवारीको संदिग्ध ताण्डव र नगरपालिकाको ‘कागजी बाघ’ साझेदारी कार्यक्रम

शिवसताक्षी/ दिनदहाडै चल्ने ‘सेतो विष’ (ब्राउन सुगर) को भूमिगत तस्करी, साँझ पर्नासाथ बस्ती र गल्लीहरूमा सक्रिय हुने ‘सिरिन्ज ग्याङ’ र नशाको तलतल मेटाउन सडकमै यात्रुमाथि खुकुरी नचाउने दुव्र्यसनीहरूको फौजका कारण झापाको शिवसताक्षी नगरपालिका यतिबेला लागुऔषध माफियाको सबैभन्दा सुरक्षित अखडा र संगठित अपराधको उर्वर भूमिमा परिणत भएको छ । नेपाल प्रहरीकै आधिकारिक तथ्यांकले देशभरमै सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ता कोशी प्रदेशमा रहेको डरलाग्दो चित्र देखाउँदा, पालिकास्तरमा शिवसताक्षी सिङ्गो प्रदेशकै दोस्रो स्थानमा उक्लिनुले यो नगर कति गम्भीर विनाशको संघारमा उभिएको छ भन्ने छर्लङ्ग पार्छ । प्रदेशकै दोस्रो ठूलो ‘लागूऔषध हटस्पट’ बन्नु केवल प्रशासनिक लज्जाको विषय मात्र होइन, भोलिको समृद्ध शिवसताक्षीको सपनामाथि माफियाहरूले हानेको घातक बन्चरो हो । विकासको चमकधमक र राजमार्गको सुगमताभित्र लुकेको यो कालो यथार्थले सिङ्गो नयाँ पुस्ताको भविष्यलाई निल्दै गइरहेको छ ।
विश्वस्त सूत्र र स्थलगत अनुसन्धानका अनुसार शिवगञ्जको मुख्य बजार क्षेत्र, वडा नं. ६ स्थित किसन गाउँ, जनता बजार, नयाँ शिवगञ्ज पुल, चन्द्रडाँगीको भाँचिएको पुल आसपास, शिवसताक्षी–३ स्थित भोटे पुल, सतासी साइफनको वारी–पारी, लालझोडाको डाँडागाउँ, दूधे रंगशाला क्षेत्र, दूधे बजारभित्रका गल्लीहरू र मैनाचरी स्कुल छेउछाउजस्ता ठाउँहरू त केवल केही प्रतिनिधि उदाहरण मात्र हुन् । वास्तविकता योभन्दा कैयौँ गुणा भयानक छ— आज नगरको कुनै यस्तो वडा, मुख्य बजार वा भित्री चौक बाँकी छैन जहाँ लागु औषधको यो विषालु जालो नपुगेको होस् । नगरका प्रत्येक चौक, चिया पसलका कुना, एकान्त खोल्सा, बाँसघारी र बन्द सटर अगाडिका स्थानहरू लागु औषध माफियाको ‘ओपन मार्केट’मा परिणत भइसकेका छन् । विशेष गरी बेलुका ४ बजेदेखि ७ बजेसम्मको समयलाई ‘पिक आवर’ बनाएर यी क्षेत्रहरूमा शंकास्पद व्यक्तिहरूको तीव्र दौडधुप र खुला ‘डिलिङ’ हुने गर्छ, जहाँ कोड भाषा र गोप्य संकेतका भरमा प्रतिबन्धित पदार्थहरूको तीव्र खरिद बिक्री भइरहेको छ ।


खुला सीमा र फितलो चेकजाँचका कारण दक्षिणी भेगबाट भित्रिने भारतीय नम्बर प्लेटका मोटरसाइकल, अटो र साना सवारी साधनहरूमा यात्रुहरूको आवरणमा खैरो हेरोइन र घातक चक्कीहरूको ओसारपसार बेरोकटोक चलिरहेको छ । दक्षिणी नाकाहरूमा सुरक्षाकर्मीको उपस्थिति नाम मात्रको हुँदा तस्करहरूले भारतीय र साना तथा हलुका सवारी साधनलाई विष ओसार्ने ‘सुरक्षित हतियार’ बनाएका छन् । ग्रामीण सडक र खेतका आली हुँदै भित्रिने यस्ता सवारी साधनहरूको सघन चेकजाँच र कडा खानतलासी नहुँदा सीमावर्ती गाउँहरू लागु औषधको मुख्य भण्डारण केन्द्र बन्दै गएका छन् । समाजमा यस्ता आपराधिक गतिविधि आफ्नै आँखा अगाडि देख्दादेख्दै पनि व्यक्तिगत सुरक्षाको डर, सम्भावित जोखिम र प्रतिशोधको त्रासका कारण स्थानीयवासीहरू खुलेर उजुरी गर्न वा प्रहरीलाई सूचना दिन डराइरहेका छन् ।
यही सामाजिक मौनताको फाइदा उठाउँदै गिरोहले कक्षा ९ र १० मा अध्ययनरत कलिला स्कुले विद्यार्थीहरू, विद्यालय छोडेर बसेका युवा पुस्तालाई आफ्नो मुख्य ‘सफ्ट टार्गेट’ बनाएको छन । घरबाट पर्याप्त पकेट खर्च नपाउने, नयाँ साथीको गलत संगतमा पर्ने र छिट्टै पैसा कमाउने सपना देखेका यी किशोरहरूलाई सुरुमा सित्तैमा नशा चखाएर पछि सानोतिनो रकमको लोभ देखाई भरिया बनाउने डरलाग्दो जालो नगरभरि फैलिएको छ । नशाको तलतलमा फसेपछि युवाहरूमा देखिने अत्यधिक चिड्चिडापन, झर्किने बानी, परिवारसँग एक्लिने प्रवृत्ति, रातो आँखा, शरीर काम्ने, तीव्र तौल घट्ने र व्यक्तिगत सरसफाइ गुम्ने जस्ता गम्भीर लक्षणहरू आम बन्दै गएका छन् ।
दैनिक नशाको ‘डोज’ किन्न पैसा नपुगेपछि दुव्र्यसनीहरू जस्तोसुकै जघन्य अपराध गर्न पनि पछि पर्दैनन् भन्ने प्रमाण हालै शिवसताक्षी–४ र ३ जोड्ने कमल खोलाको झोलुङ्गे पुल क्षेत्रमा देखिएको छ । स्थानीयका अनुसार उक्त क्षेत्रमा दिनदहाडै लुटपाटका घटना तीव्र रूपमा हुन थालेका छन् । केही दिनअघि मात्र साँझ करिब ५ः३० बजेतिर आवतजावत गरिरहेका एक ज्येष्ठ नागरिकमाथि ६ जना लागु औषध प्रयोगकर्ता युवाको समूहले घेराबन्दी गरी लुटपाट मच्चायो । ती नागरिकबाट करिब १२ हजार रुपैयाँ मूल्य बराबरको मोबाइल फोन र ९ सय रुपैयाँ नगद जबर्जस्ती लुटिएको घटनाले सिङ्गो क्षेत्रलाई त्रसित बनाएको छ । नशाको पैसा जुटाउन वृद्धवृद्धामाथि समेत यस्तो दुस्साहसपूर्ण लुटपाट हुनुले नगरको शान्ति–सुरक्षाको धज्जी उडाउनुका साथै सर्वसाधारणलाई साँझ परेपछि घरबाहिर निस्कनै नसक्ने त्रासमा धकेलेको छ । घरभित्रबाटै तामाका भाँडाकुँडा, ग्यास सिलिन्डर र आमाको घाँटीको सिक्री चोरेर नशा किन्ने अवस्थाबाट सुरु भएको यो विचलन अब सडक र झोलुङ्गे पुलमा हतियार तथा बल प्रयोग गरी लुटपाट मच्चाउने चरणमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को मात्र अभिलेख र कार्यविवरण केलाउँदा नगरभित्रको जालो कति गहिरो छ भन्ने कुरा लागु औषध व्यापारीहरूको पक्राउले स्पष्ट हुन्छ । शिवसताक्षी–७ को सडक खण्डबाट १९ वर्षीय प्रवेश लिम्बू र सुजन कार्की ढोलीको साथबाट २ हजार ट्याब्लेट एन्टिकोफ र २ हजार क्याप्सुल ट्रामोलजस्ता घातक फर्मास्युटिकल ड्रग्स बरामद हुनु, चन्द्रडाँगीका गंगाबहादुर मगरको घरैबाट डिजिटल तराजुसहित बिक्रीका लागि ठिक्क पारिएको खैरो हेरोइन भेटिनु, तथा सुरज ढकाल (एलेक्स) र सन्दिहाङ लिङ्देनको अखडाबाट १२ ग्रामभन्दा बढी खुद तौल भएको ब्राउन सुगर, १ लाख १ हजार ९ सय नगद र नशाका लागि सेवनकर्ताले धितो राखेका २१ थान मोबाइल फोन बरामद हुनुले यहाँ संगठित रूपमै धन्दा चलेको पुष्टि गर्छ । यस्तै, वडा नं. ११ को भित्री सडकमा टेम्पोमार्फत डाइजेपाम, बुफ्रेनोर्फिन र प्रोमेथोजाईनसहित १७३ एम्पुल इन्जेक्सन ओसारपसार गरिरहेका दमकका सतबहादुर देवान र दिलिप महत पक्राउ पर्नु तथा वडा नं. ९ बाट आशा चौधरी गाँजा त्यस्तै तथा झापा गाउँपालिका–४, चर्तागाछी र टाघनडुब्बा स्कुल टोल क्षेत्रबाट शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय गौरव चौधरी तथा शिवसताक्षी ६ शिवगञ्जका प्रभाष बास्के र फिलिप मर्डीबाट ७ ग्राम १० मिलिग्राम ब्राउनसुगर, १८ वटा नाइट्रोजन ट्याब्लेट र थप १ ग्राम ७५ मिलिग्राम ब्राउनसुगर सहित समातिनुले नगरभित्र चक्की, सिरिन्ज र ब्राउन सुगरको भयानक जालो फैलिएको प्रमाणित गर्छ ।
यी केही पक्राउका बाबजुद स्थानीय तहमा प्रहरी प्रशासनको समग्र भूमिका भने अझै सन्तोषजनक र चित्तबुझ्दो देखिँदैन । खुद्रा भरिया र सडकमा लडिरहेका प्रयोगकर्ता समातेर ‘ठूलो सफलता’को प्रचार गरिए पनि बस्ती र चौक–चौकका चिनिएका अखडाहरूमा निर्बाध चल्ने कारोबार नियन्त्रण गर्न र सीमापारिबाट सञ्जाल चलाउने मुख्य नाइकेहरूलाई कठघरामा उभ्याउन सुरक्षा निकाय चुकेको स्थानीयको गम्भीर आरोप छ ।
यसै विषयमा नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाका सभापति गोविन्द काफ्लेले नगरको वर्तमान अवस्था अत्यन्तै भयावह बनेको बताउँदै यसलाई रोक्न समुदाय आफैं जोखिम मोलेर अघि सर्नुपर्ने औंल्याएका छन् । रेडक्रसले सडक नाटक र सामाजिक सञ्जालमार्फत सचेतना जगाइरहेको उल्लेख गर्दै उनले ‘छोटो समयमै धेरै पैसा कमाउन यो बाटो रोजिन्छ’ जस्ता तर्क सचेतनाका क्रममा गर्दा उल्टै आर्थिक अभावमा रहेका किशोरहरू कुलततिर आकर्षित हुने ‘उल्टो सन्देश’ जान सक्ने भन्दै त्यसमा विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
सिङ्गो नगर लागूऔषधको भयानक आगोमा जलिरहँदा स्थानीय सरकार र नगरपालिकाको नेतृत्व भने चरम गैरजिम्मेवारीको पराकाष्ठा देखाइरहेको छ । लाखौँ रुपैयाँ बजेट स्वाहा पारेर सुरु गरिएको भनिएको ‘नगरस्तरीय समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ यतिबेला जनताको आँखामा छारो हाल्ने ‘कागजी बाघ’ र भद्दा नौटंकीमा परिणत भएको छ । लागु औषध नियन्त्रण र रोकथामका नाममा नगरपालिकाले वर्षौंदेखि चलाउँदै आएको यो कार्यक्रमले फिल्डमा कुनै पनि ‘माखेसाङ्लो भाँच्न’ सकेको छैन । लागूऔषधको ‘रेड जोन’ मानिएका दक्षिणी सीमावर्ती नाका, जोखिमयुक्त वडा, विद्यालय तह र गल्लीहरूमा पुगेर कडा प्रतिरोध गर्नुपर्ने यो अभियान नगरपालिकाको वातानुकूलित (एसी) सभाहल, जनप्रतिनिधि र हाकिमहरूको आत्मरति, फोस्रो भाषणबाजी, फोटो सेसन र महँगो चियापानको कर्मकाण्डमै बन्दी बनेको छ । जनताको करबाट चलेको बजेट कोठे बैठक र कागजी प्रतिवेदन मिलाउनमै सकिँदा जनप्रतिनिधिहरूको यो लाचार र रमिते प्रवृत्तिले लागूऔषध माफियाहरूलाई खुला संरक्षण मिलेझैँ भएको छ ।
यदि नगरका प्रत्येक संवेदनशील विन्दुहरूमा प्रहरीले शंकास्पद सम्झौता त्यागेर कडा सर्च अपरेशन नचलाउने, दक्षिणी नाकाका भारतीय सवारी साधनहरूको सघन खानतलासी नलिने र नगरपालिकाले आफ्नो लाचार ‘हल–केन्द्रित’ चरित्र त्यागेर फिल्डमै एक्सन नलिने हो भने, शिवसताक्षीको उर्वर पुस्ता अपराध र कुलतको अन्धकार खाडलमा सधैंका लागि बिलाउने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares