माइधार । माइबेनी महिला कृषि सहकारी संस्थ लि., शिवसताक्षी १० माइधार झापाको १६औं साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ ।
सोमबार माइधार स्थित आफ्नै भवन परिसर मंगलबारे बजारमा तीज मिलन कार्यक्रमसहित शेयर सदस्यहरुको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनले रोहिता मिश्र भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ । भट्टराई पुनः अध्यक्ष पदमा दोहोरिएकी हुन् । त्यस्तै उपाध्यक्ष पदमा कमला लिङदेन, सचिव पदमा विमला प्रसाई संग्रौला, सहसचिव पदमा गंगामाया थपलिया, कोषाध्यक्ष पदमा रञ्जना खड्का सर्वसम्मत निर्वाचित भएका छन् भने सदस्य पदमा क्रमशः बालिका पौडेल भण्डारी, कविता श्रेष्ठ, हरिमाया पोखरेल र मिना बोहोरा निर्वाचित भएका छन् । संस्थाको पाँचौ अधिवेशनले लेखा सुपरीवेक्षण समितिसमेत निर्वाचित गरेको छ । जसअनुसार संयोजक गिता सुवेदी, सदस्यद्वयमा राधा कोइराला र अनिता ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई यहि आउँदो शनिबार कार्यालयमा सपथ ग्रहण गराइने निर्वाचन मण्डलका संयोजक हेतिराज निरौलाले सतासीखबरलाई जानकारी दिएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाकी उप–प्रमुख नरमाया कार्कीले महिला समूहको कृषि सहकारीले बचत गर्ने बानीको विकास मात्र होइन, सक्षम महिला नेतृत्व उत्पादनमा राम्रो भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेकी छिन् । उनले देश अहिले प्राकृतिक विपत्तिमा परेर दुखिरहेकोमा बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका सबैलाई समवेदना प्रकट गरेकी छिन् । यस संस्थाले हरेक विषयमा प्रगति गरेको उल्लेख गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरेकी छिन् । उप–प्रमुख कार्कीले नौमती बाजा खरिद सहयोगका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हर्कबहादुर सिगुले माइबेनी साकोसले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्दै संस्थाले विभिन्न आत्मनिर्भर सम्बन्धी तालिम गराएको स्मरण गराउँदै तालिम पछि उत्पादन भएका दक्ष जनशक्तिहरु बेखबर भएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले तालिम प्राप्त गरेका जनशक्तिलाई व्यवहारिक बनाउन सुझाएका छन् ।
कार्यक्रममा पहिचान साकोसका अध्यक्ष अमृतबहादुर कार्कीले ऋण लिन र ऋण चुक्ता गर्नु सहकारीको सैद्धान्तिक आधार भएकाले सबै ऋणी शेयर सदस्यहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा वडा सदस्य मंगलादेवी वि.क., झापा जिल्ला सहकारी संघका सदस्य विन्दाकुमारी थापा, दिव्यपथ महिला सरोकार समाज तथा कन्या गुरुकुलका अध्यक्ष वृन्दा बराल, दोमुखा पर्यटन बोर्डका उपाध्यक्ष इन्द्र न्यौपाने, गैंडे सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष टिका गुरागाई, कन्काई माई समाज सुधार समितिका अध्यक्ष कुमार गिरी, शिवसताक्षी नगरपालिकाका पूर्व उप–प्रमुख भोजकुमारी नेपाल, गैंडे कृषि साकोसका अध्यक्ष नरबहादुर थपलिया, माइधाम साकोसका सचिव कपिलमणी मैनाली लगायतको उपस्थिति तथा मन्तव्य रहेको थियो ।
कार्यक्रममा सदस्य लक्ष्मी खतिवडाले भोटेकोशी रसुवा बाढीमा परेका ज्ञात–अज्ञात नेपालीको नाममा शोक गीत गाएकी थिइन् ।

कार्यक्रममा सहकारी संस्थामा उत्कृष्ट कारोबार गरिएको भन्दै नगद, सम्मान पत्र र दोसल्लाद्वारा सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ज्वती लामिछाने, रेनु कोइराला, लक्ष्मी नेवार, रुपादेवी विश्वकर्मा र इन्द्रकुमारी लावती रहेका छन् । त्यस्तै कार्यक्रममा ज्येष्ठ नागरिक ९२ वर्षीया अम्बिकादेवी खतिवडा र ८३ वर्षिया आशमाया जबेगुलाई सोही अनुसार सम्मानित गरिएको छ ।
त्यस्तै २०८२ को एसईई परीक्षामा ४ जीपिए ल्याएका आभाष तिम्सिनालाई नगद, प्रमाण पत्र र दोसल्लासहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा कुल आम्दानी ६२ लाख २२ हजार ९५३ रुपैयाँ ४५ पैसा, खुद नाफा १४ लाख ६० हजार ३९७ रुपैयाँ ८० पैसा र वासलात ७ करोड ३५ लाख ३०२ रुपैयाँ ३५ पैसा बराबरको हिसाबकिताब सार्वजनिक गरिएको थियो ।
संस्थाका अध्यक्ष रोहिता मिश्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत व्यवस्थापक इन्दिरा दाहालले गरेकी थिइन् भने सञ्चालन सचिव विमला संग्रौलाले गरेकी थिइन् ।
