विविध कार्यक्रमबीच दिपेन्द्र आविले मनायो रजत जयन्ती


सुरुंगा/ दिपेन्द्र आधारभूत विद्यालय, शिवसताक्षी १० टेक्राले आफ्नो विद्यालय स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती भव्यताका साथ मनाएको छ ।
आइतबार विद्यालय परिसरमा विद्यालयको छात्रछात्राले गीत, संगीत मार्फत आफ्नो कला प्रस्तुत गर्दै भव्यताका साथ रजत जयन्ती मनाएको हो ।
विद्यालयले विभिन्न आरोह–अवरोह पार गर्दै २५ वर्ष पुगेकोमा विद्यालय परिसरमै रजत जयन्ती स्तम्भ बनाउने भन्दै रजत स्तम्भको शिलान्याससमेत गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले नगरको बजेट सानो, आवश्यकता ठुलो भएकाले सबै समस्याको समाधान गर्न नसकिएको बताएका छन् । कनकाई नगरपालिकाले नदेखेको शिवसताक्षी नगरपालिकाले नहेरेको शिवसताक्षी १० कन्काई नदी पारिपट्टिको टापु भएकोले उपेक्षा गरिएको धेरै वक्ताले मन्तव्य मार्फत समस्या औल्याएको विषयलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख थोप्राले शैक्षिक क्षेत्रमा नगरपालिकाले ठुलो लगानी गरेको र केही विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन स्मार्ट विद्यालय बनाउनलाई लगानी गरिएको जनाए । उनले निकट भविष्यमै दिपेन्द्र आधारभूत विद्यालयलाई पनि बजेटिङ गरेर शैक्षिक तथा भौतिक सुधारमा ध्यान दिइने प्रतिवद्धता जाहेर गरेका छन् ।


कार्यक्रममा शिवसताक्षी वडा नं. १० का वडा अध्यक्ष हर्कबहादुर सिगुले वडाको तर्फबाट महत्वपूर्ण भौतिक सुधारका काम गर्दै आएको बताउँदै अब विद्यालयको तत्कालीन ठुलो समस्या अव्यवस्थित शौचालय देखिएकोले नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर यही भदौ अन्त्यसम्ममा काम थालिने आश्वासन दिएका छन् । कार्यक्रममा शिवसताक्षी ५ का वडा अध्यक्ष सिकिन पासवान, वडा नं. ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे लगायतले विद्यालय २५ वर्ष पुगेको अवसरमा शुभकामना दिएका थिए । कार्यक्रममा बालनिकुञ्ज माविका सहायक प्रधानाध्यापक विष्णुप्रसाद खतिवडा, नेपाल स्काउट शिवसताक्षीका आयुक्त डिगम पराजुली, गैंडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामध्वोज लावती, शिवशक्ति पाञ्चायन मन्दिरका अध्यक्ष नारदमणी रिमाल, संस्थापक जग्गादाता कृष्णप्रसाद पोखरेल, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिंह साँवा लिम्बू, पूर्व अध्यक्ष भाष्कर सिटौला, शिक्षक अभिभावक संघ पूर्व अध्यक्ष मात्रिकाप्रसाद ढकाल, मेघराज मगर, पूर्वप्रधानाध्यापक महेशकुमार खड्का, सिताराम न्यौपाने, जग्गादाता टेकनाथ ढकाल, संस्थापक देवेन्द्र खतिवडा, दिलकुमार साँवा लिम्बू, रेखा विश्वकर्मा लगायतले शिवसताक्षी नगरपालिकाको टप्पुमा रहेको दिपेन्द्र आधारभूत विद्यालयलाई नगरपालिका र राज्यले उपेक्षा गरेको गुनासो पोखेका थिए ।

कार्यक्रममा निमित्त प्रधानाध्यापक भूमिका अधिकारीले विद्यालय स्थापना कालदेखि हालसम्म विद्यालयले भोगेका आरोह अवरोहको नालीबेली आफ्नो प्रतिवेदन मार्फत प्रस्तुत गरेकी थिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर थापा सुवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षिका बबिता अधिकारीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन शिक्षिका गोमा कडरियाले गरेकी थिइन् । कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares