आसन्न फागुन २१ गतेमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य (संघीय सांसद) निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ४ का लागि एक स्वतन्त्रसहित १६ जना उम्मेद्वारले आ–आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।
२०८२ माघ ६ गते झापा क्षेत्र नं. ४ निर्वाचन आयोगको कार्यालय सुरुंगामा दलबलका साथ उपस्थित भई आ–आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
जेनजी आन्दोलनपछि निर्धारण गरिएको निर्वाचनमा कसको पकड बलियो हुने हो भन्ने आँकलन गर्न सकिँदैन । किनभने पुराना दलहरुले राज्य सञ्चालनको दौरानमा गरेको क्रियाकलाप र गतिविधिले नै जेनजी आन्दोलन उब्जिएर संसद अल्पायुमै तुहिएको थियो । त्यसकै परिणाम फागुन २१ को प्रतिनिधि सभा सदस्य (संघीय सांसद)को निर्वाचन हो । अहिले सबै दल र सबै उम्मेद्वारहरुको हैसियत एउटै देखिएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेकपा एमालेको तर्फबाट निवर्तमान सांसद लालप्रसाद (एलपी) साँवा झापा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचनको रणसंग्राममा उत्रिएका छन् । उनी यसै क्षेत्रबाट २ पटकसम्म संघीय सांसद भइसकेका व्यक्तित्व हुन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट यसपटक पनि चुनावी संग्राममा देउकुमार थेबे होमिएका छन् । उनी यसै क्षेत्रबाट दुई पटकसम्म सावाँसँग पराजय भोगेका व्यक्तित्व हुन् । त्यस्तै प्रकृति, संस्कृति र प्रविधिको नारा उरालेर स्थापित भएको हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट यस निर्वाचनमा झापा क्षेत्र नं. ४ बाट अमृतादेवी राई निर्वाचनको संग्राममा उत्रिएकी छिन् । उनी एमाले ब्याकराउण्डका नेत्री हुन्, ४० वर्षसम्म एमालेमा काम गरेकी उनी पछिल्लो समय श्रम संस्कृति पार्टीमा जोडिएकी थिइन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट पुरुषोत्तम चुडाल चुनावी संग्राममा देखिएका छन् । उनी पनि पछिल्लो निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएका नेता हुन् । उनी यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचनमा होमिएका थिए । हाल १७ वटा दल समीकरण भएर नेपाली कम्युनिष्ट पार्टीबाट उनले उम्मेद्वारी दिएका हुन् । त्यस्तै अहिलेको जल्दोबल्दो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भुप्रसाद ढकाल निर्वाचनको संग्राममा उत्रिएका छन् । उनी युवा व्यक्तित्व हुन् भने उनको पार्टीको चर्चा ठुलै रहेको छ । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) ले पनि यसपटक आफ्नो उम्मेद्वारी दिएको छ । यसपटक लिम्बुवानले युवा व्यक्तित्व किरण लिम्बू लिङदेनलाई टिकट दिएको छ । यो पार्टीले विगत लामो समयदेदि पहिचान र लिम्बुवान मुक्तिको आवाज बुलन्द गर्दै आइरहेको छ ।
त्यस्तै झापा निर्वाचन क्षेत्र नं. ४ मा अन्य राजनीतिक दलहरुले पनि उम्मेद्वार खडा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी पुष्पलालबाट टेकबहादुर अधिकारी, नेकपा माओवादीबाट ताराबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट तुलसीलक्ष्मी दुमरु (बाटी), मंगोल नेशनल अर्गनाइजेशनबाट दिलिप धिमाल, जनता समाजवादी नेपालबाट पल्टन ताजपुरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तिप्रसाद सिटौला, जनमत पार्टीबाट लोप्रो हेमरम, उज्यालो पार्टी नेपालबाट सन्तोष तामाङ, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट श्रीनारायण राजवंशी र स्वतन्त्रबाट भाजन माझीले उम्मेद्वारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा निर्वाचन क्षेत्र नं. ४ मा एकलाख ३० हजार ७१२ जना मतदाता संख्या रहेको छ । जसअनुसार पुरुष मतदाता संख्या ६६ हजार २८३ जना र महिला मतदाता संख्या ६४ हजार ४२८ जना रहेका छन् र अन्यमा एकजना मतदाता रहेको छ । झापा निर्वाचन क्षेत्र नं. ४ मा दुई गाउँपालिका र दुई नगरपालिका रहेका छन् । जसमा शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकामा जम्मा २८ वटा वडाहरु रहेका छन् भने शिवसताक्षी नगरपालिकामा २७ वटा मतदान स्थलहरु तोकिएको छ भने ७० वटा मतदान केन्द्रहरु निर्धारण गरिएको छ ।
झापाको ५ वटा निर्वाचन क्षेत्रमा जम्मा ७ लाख १३ हजार ५३७ जना मतदाता रहेका छन् भने झापा क्षेत्र नं. १ मा एकलाख ३१ हजार ६७ जना मतदाता, झापा क्षेत्र नं. २ मा एकलाख ४७ हजार ५२२ जना मतदाता रहेका छन् ।
त्यस्तै झापा क्षेत्र नं. ३ मा एकलाख ४० हजार ८५७ जना मतदाता र झापा क्षेत्र नं. ५ मा एकलाख ६३ हजार ३७९ जना मतदाता रहेका छन् । झापा क्षेत्र नं. ५ मा बालेन्द्र शाह, केपी ओली र समीर तामाङको चुनावी भिडन्त हुने भएकोले देशको नजर दमकतर्फ तेर्सिएको छ ।
कसले मार्ला त बाजी ? झापा क्षेत्र नं. ४ मा एक स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धी
