शिवसताक्षी–२ मा लागुऔषध न्यूनीकरण अभियानद्वारा ४ युवा पक्राउ

शिवसताक्षी/ झापाको शिवसताक्षी नगरपालिका–२ मा केही दिनअघि गठन गरिएको लागुऔषध दुरुपयोग न्यूनीकरण अभियान टिमले प्रतिबन्धित ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ।

अभियान टिमले शुक्रबार र शनिबार सञ्चालन गरेको स्ट्रिङ अपरेसनका क्रममा शिवसताक्षी–२ का एक जना र शिवसताक्षी–३ का तीन जना गरी जम्मा चार जना युवालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ७/७ फाइल प्रतिबन्धित ट्याब्लेट तथा तीन थान मोबाइल सेट बरामद गरिएको अभियानका संयोजक दिनेश गुरुङले जानकारी दिनुभयो। पक्राउ परेकाहरूलाई शिवसताक्षी–३ स्थित बनेनी खोला किनारको बाँस झ्याङबाट नियन्त्रणमा लिई प्रहरी पोस्ट मंगलबारेलाई जिम्मा लगाइएको संयोजक गुरुङले बताउनुभयो। त्यसैगरी, सोही अपरेसनका क्रममा तीन जना विद्यार्थीसमेत पक्राउ परेका थिए। उनीहरूलाई आवश्यक सम्झाइ–बुझाइ गरी परिवारको जिम्मा लगाइएको जनाइएको छ।

पछिल्लो समय समाजमा लागुऔषध दुरुपयोग गर्नेको संख्या बढ्दै जाँदा विभिन्न आपराधिक क्रियाकलापसमेत बढ्न थालेको भन्दै यस्ता घटना रोकथाम तथा लागुऔषध दुरुपयोग न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको बताइएको छ। हाल यस अभियानमा ३१ जना युवा सदस्य आबद्ध रहेका छन् भने आगामी दिनमा युवाको सहभागिता अझ विस्तार गर्दै लगिने अभियान टिमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares