गौशालाका छाडा चौपायाले स्थानीय कृषकहरु पीडित

झिलझिले/ गौशालामा पालिएको पशु चौपायाले स्थानीयहरुलाई दुःख दिएको भन्दै आपत्ति जनाएका छन् ।
गोलोक गोवर्धन गौशाला शताक्षीधाममा पालिएको गाई, गोरु आदि पशु चौपाया अनियन्त्रित भएको भन्दै शिवसताक्षी ८ स्थित सम्झना चौक र डुडामारी, शिवसताक्षी ११ पूर्व–पश्चिम मुख्य सडकखण्ड आसपासका किसानहरुले आपत्ति जनाएका हुन् । विगत लामो समयदेखि गौमाताको संरक्षण गर्ने उद्देश्यका साथ गौशाला निर्माण गरी पालिएका चौपाया छाडा छाडिने भएकाले साँझपख सडकखण्डमा समेत अवरोध गर्ने गरेको र कृषकहरुले लगाएको बाली खाने गरेकोले स्थानीय किसानहरु आजित भएका छन् ।


गौशाला निर्माण गरेर गौरक्षाको अभियानमा लाग्नु अवश्य पनि राम्रो विषय हो तर अव्यवस्थित गरी छाडा छाडेर कृषकहरुलाई दुःख दिनु राम्रो काम होइन । यस विषयमा सम्बन्धित पक्ष सचेत हुन आवश्यक छ, एक स्थानीय कृषकले बताए ।
कृषकहरुलाई छाडा चौपायाले अत्याधिक दुःख दिएपछि सम्बन्धित पक्षलाई समाचारको माध्यमबाट ध्यानाकर्षण गराउन आएका थिए । उनीहरुले साँझको समयमा गौशालाका चौपायाहरु एसियन हाइवेमा लावालस्कर लागेर बीच सडकमै उभिने गरेका र आवागमनमा नै अवरोध गर्ने गरेको बताएका छन् । सडक बीचमै चौपाया लावालस्कर लागेर आवागमन नै ठप्प पारेपछि दुर्घट्ना हुने बढी सम्भावना हुन्छ, दुर्घट्ना भयो भने त्यसको जवाफदेही को हुने हो ? उनीहरुले आक्रोश पोखे । गौशालामा चौपाया नै पालिन्छ तर पालेपछि व्यवस्थित गर्नुपर्ने उनीहरुको माग रहेको छ । कार्यालयमा विषय उठेपछि सम्बन्धित पक्षलाई बुझ्ने क्रममा गोलोक गोवर्धन गौशालाका अध्यक्ष महाराज नन्दकिशोर भारद्वाजसँग सतासीखबरले बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन । गौशालाले छाडा छोडेका चौपायाले कमल खोला पारि समेत गएर बालीनाली खाने बताइएको छ । सतासीधामको गौशालामा अढाइ सयदेखि ३ सयवटा गाई, गोरु पालिँदै आएको बुझिएको छ तर सबै छाडा छोडिने गरिएको छ । केही गोठालो भएपनि गोठालाको नियन्त्रण बाहिर रहेका छन् चौपाया । साँझको समयमा गाउँ पसेर चौपायाले दुःख दिने गरेको शिवसताक्षी ११ जंगल क्षेत्रका श्याम लिम्बूले बताए ।
गौशालाको चौपायालाई गोठालो लगाएर वा अन्य कुनै उपाय सोचेर व्यवस्थित गौशाला बनाउन सके यस्ता खालका गुनासाहरु आउने थिएनन् होला सम्म भन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares