नेपाली साहित्यमा आख्यान विधालाई नियाल्ने हो भने सामाजिक यथार्थवादी आख्यानको द्वार वि.सं. १९९० मा प्रकाशित ‘नासो’ कथाले खोलेको पाइन्छ । तिलस्मिक र अतिरञ्जनापूर्ण प्रस्तुत गरिने आख्यानलाई गुरुप्रसाद मैनालीले सामाजको यथार्थ बिम्बप्रतिकलाई जस्ताको त्यस्तै कलात्मक पाराले कथामा प्रस्तुत गर्न सफल रहेका थिए– ‘नासो’ मा ।
यसैगरी नेपाली मौलिक र यथार्थताको जगमा अडिएको सामजिक उपन्यासको सुरुवात गर्ने श्रेय रुद्रराज पाण्डेलाई जाने गर्छ । वि.सं. १९९१ मा प्रकाशित रुद्रराज पाण्डेको उपन्यास ‘रुममती’ नै पहिलो मौलिक, यथार्थवादी र सामाजिक उपन्यास हो । त्यसपछिका कालखण्डमा मौलिक, यथार्थवादी र सामाजिक उपन्यासलेखनलाई रुपनारायण सिंह, हृदयचन्द्र सिंह प्रधान, लैनसिंह वाङ्देल, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल, रमेश विकल, पारिजात, लिलबहादुर क्षेत्री, कृष्ण धरावासी हुदै पछिल्लो समयमा पुण्य खरेल, राजेन्द्र संग्रौला, खगिन्द्रा खुशी, श्याम सिंघकसम्म आइपुगेको पाइन्छ । यिनीहरु मध्ये नेपाली साहित्याकाशको आख्यानमा स्थापित भइसकेको नाम हो –श्याम सिंघक । जसले भुइँमान्छेका कथालाई टपक्कै टिपेर सामाजिक यथार्थवादी उपन्यास लेख्ने गरेको पाइन्छ । उनले गाँउघरमा अझै व्याप्त जातीय छुवाछुत प्रथालाई केन्द्रमा राखेर आफ्नो पहिलो उपन्यास ‘दलिता’ (वि.सं.२०६५) बजारमा ल्याए । रोजगारीका लागि विदेशिन बाध्य लाखौँ नेपालीहरुको कथा, व्यथालाई छर्लङ्ग्याएका छन्, उपन्यास ‘रेमिट्ल्यान्ड’ (वि.सं.–२०७३) मार्फत् ।
पछिल्लो उपन्यास ‘कोइलाखाद’ले लेखक सिंघकलाई आख्यानको डबलीमा अर्कै उचाइ दिएको छ । नेपालीहरु जसरी वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जान्छन् त्यसरी नै विगतका दिनहरुमा भारतको आसामतिर आरा काट्न, सिक्किमतिर अलैँचीबारीमा काम गर्न र मेघालयतिर कोइलाखानीमा कोइला निकाल्न गएको पाइन्छ । यिनै कोइलाखानीमा गएका हजारौँ नेपाली कामदारहरुको कथा बोलेको छ, उपन्यास ‘कोइलाखाद’ (वि.सं.२०८१) ले ।
‘कोइलाखाद’मा जीवन गुमाउनेहरुप्रति’ समर्पण गरिएको यो उपन्यास भारत र नेपाल दुवै देशबाट प्रकाशित छ । नेपालमा फिनिक्स बुक्सले प्रकाशन गरेको यो किताबमा राजन काफ्लेको कलाले आवरण सजिएको छ । लेआउट र मुद्रण क्रमशः द प्रिन्ट डिजाइन र पोष्ट प्रेस प्रा.लि.बाट भएको किताब हेर्दैमा आकर्षक छ । ३५४ पेजमा कथा दौडिएको उपन्यासको मूल्य ६९९।– बजार भाउ अनुसार स्वभाविक नै मान्नु पर्छ ।
पूर्वी पहाडमा बसोबास गर्ने आदिवासी लिम्बू समुदायको पात्र लोचनबहादुर लिम्बूलाई अगाडि सारेर मेघालयको कोइलाखादलाई उपन्यासकारले अति रोमाञ्चित पाराले पाठक सामु ल्याएका छन् । यसले उपन्यासकार सिंघक मेघालयका अनेकौँ कोइलाखानीको अध्ययन र अनुसन्धानमा हिँडेको पुष्टि गर्छ । उपन्यासभित्र मितिसमेत उल्लेख गरिएको पाउँदा यथार्थ घटना हो कि भन्ने आभाष हुन्छ । कथावस्तु वास्तविक भएपनि केही रङरोगन गरिएको लेखक स्वयं स्विकार्छन् ।
नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश जनजाति युवाहरुको एउटा सपना हुन्छ, मलायाको लाहुरे बन्ने । नभएपनि इन्डियन लाहुरेसम्म बनेरै छाड्ने । लाहुरे परिवारमा हुर्किएका लोचनले पनि सानैदेखि लाहुरे बन्ने उत्कट चाहना बोकेको पाइन्छ । उसले पढाइमा भन्दा बढी समय हेविङ, सेटअप, रनिङ,…. आदि जस्ता लाहुर लाग्न आवश्यक पर्ने शारीरिक कसरतमा खर्चिएकाले पढाइ सफल हुँदैन । लाहुरे बन्ने सपना पनि उमेरको उकालीसँगै सकिन्छ । अन्ततः आफ्ना दुईवटा बच्चा भइसके पश्चात उ इण्डियाकै भएपनि लाहुरे बन्ने अन्तिम कसरत स्वरुप उमेरसमेत घटाएर भर्ती हुन दार्जिलिङ पुग्छ । उसलाई त्यसमा पनि सफलता हात पर्दैन । त्यसपछि लाहुरे नभएको झ्वाँकले बिरक्तिएर साथीहरुसँग घरै नफर्की मेघालयतिरको बाटो समाउँछ ।
मेघालयको छेरुपीस्थित कोइलाखादमा नरबहादुर, जग्गु, कपिल, चन्द्रे, बम्बा, नैनसिंह, कमल, किस्ने, रिमी, ठेकेदार, सरदार र अन्य पात्रहरुका साथै उपन्यासको दोस्रो प्रमुख पात्र खसिया मूलकी रुथसँगको सामिप्यमा पुग्छ । लेखकले किताबमा चाइनिज पत्रिकाको गाता लगाउँदा नक्साहरु देखेर कल्पना गरेको भन्दा आकाश, पातालै फरक जङ्गल, झाडीमा रहेको कोइलाखानीमा हुने कथालाई अत्यन्तै सुक्ष्मरुपले अनेकौँ पात्रहरुको माध्यमबाट पस्किन सफल भएका छन् ।
मेघालयको आदिवासी खसिया जातकी महिला रुथसँग लोचनको भेट भएपछि कथाले छुट्टै मोड लिएको छ । दुई छुट्टाछुट्टै भाषा, धर्म, संस्कार र संस्कृति भएका पात्रहरु बिच अनेका बाधा, व्यवधानहरु रहँदारहँदै पनि माया अनि प्रेम–विवाह हुँदै दुई बच्चाको जायजन्मसमेत हुन्छ । त्यस्तै, मेघालयतिर खसिया जातिहरुको प्रचलनमा रहेको मातृसतात्मक समाजभित्रको वास्तविकता लोचन र रुथको पारिवारिक अवस्थाबाट बुझ्न सकिन्छ ।
आफ्नै संसारमा हराइरहेको लोचनको भाइ नेपालबाट लिन आएपछि कथाले अर्कै मोड लिन्छ । लोचनको स्मृतिमा धुमिल हुन थालेका आफ्ना गाउँघर, आमाबुवा, आफन्तजन क्रमशः आँखा अघि नाच्न थाल्छन् । दुई छोराछोरी समेतको परिवार छाडेर केहि समय नेपाल पुगी फर्कने विचारले ११ वर्षपछि भाइसँग आमाबुवा भेट्न फर्किन्छ । जहाँ गयो त्यहीँ रमाउने स्वाभावको लोचन लामो समयसम्म छेरुपी (बस्ती)मा नफर्किए पछि रुथको जीवनले कोल्टे फेर्छ । रिमी नामक ड्राइभरसँग दोस्रो घरजम गरेर रुथको दैनन्दिन अघि बढ्छ ।
आफन्तहरुबाट अपहेलित भइ ७ वर्ष पछि लोचन मेघालयको छेरुपी नै फर्किन्छ । रुथले आफ्नो घरबार बिगार्न चाहन्न । परिणामस्वरुप लोचन कोइला खानीहरुमा एक्लो र निरस जीवन बिताउन विवश हुन्छ । दोस्रो पति रिमीको मृत्यु भएपछि एक्लिएकी रुथ पुरानै गाउँमा फर्किन्छे । रुथले लोचनलाई फेरि स्विकार्दा सबै कुरा गुमाएर गाउँ छाड्नु पर्ने हुन्छ । उनीहरु आफ्नो प्रेम सफल बनाउन हुर्किसकेका छोराछोरी र सारा कुरा त्यागेर बिरानो ठाउँतिर लाग्छन् । यो त भयो मुख्य कथावस्तु । उपन्यास यतिमै सिमित छैन । कपिल सरदार, लिली, सेतीमाया जस्ता पात्रहरु लिएर कोइला खानीको अन्त्यसम्म पुगेर मात्र उपन्यास टुङ्गिएको छ ।
उपन्यासभित्रका दर्जनौँ पात्रहरु मध्ये केही पात्रहरुले पाठकको ध्यानाकर्षण गर्छन् । नरबहादुर सरदार जो मुग्लानमा रहेर पनि आफ्नोपन भुल्नु हुँदैन भनेर संस्कार–संस्कृति जोगाउन तल्लिन छ । अझ लोचन भन्दा विपरित भई आफ्नो भनेको आफ्नै हुन्छ, त्यसैले आफ्नै देश फर्किनु पर्छ मात्र भन्दैन अन्त्यमा स–परिवार नेपालतिरै फर्किन्छ । जग्गु लामा पनि भुल्न नसकिने पात्र हो । उसको जीवनमा अनेक उताचढाब भेटिन्छ । उपन्यासभित्रका अर्का अजिव पात्र हुन्, कपिल सरदार । जसले हरेक मोडमा प्रायः लास भेटेर सदगद् गर्नुपर्छ । यतिसम्म की तिनै पात्र कपिलले दुईजिउकी आमाको मृत्यु हुँदा पेटबाट सिसाले चिरेर मरेको बच्चा निकालेको दर्दनाक घटनाले पाठकको मन छुन्छ ।
‘कोइलाखाद’ कुनै काल्पनिक कथा मात्र होइन कोइलाखानीमा भविष्य खोज्न गएका हजारौँ नेपालीहरुको व्यथासँगै सजिव चित्रण पनि हो । अझ भनौ इतिहास राजामहाराजा र ठूलाबडाको मात्र लेखिले चलन हुदाहुदै यो उपन्यास ती भुइँमान्छेहरुको इतिहास हो, जस्ले मेघालयमा कोइला निकाल्न सुरुवात गरका थिए । प्रकृतिप्रेमी मेघालयवासीहरु प्राकृतिक स्रोतसाधन उपयोग गर्न र जोगाउन लागिपरेको दृश्यले उपन्यास वातावरणमैत्री छ । यसले मेघालयको खसिया जातिमा रहेको महिला प्रधान समाजको कथा सविस्तार बुझाउँछ । ‘कोइलाखाद’ उपन्यासले मेघालयमा कोइलाखानीको उत्खननको सुरुवात र अन्त्यका समय, तथ्याङ्क, प्रमाणहरु दस्तावेजिकरण गरेकाले संग्रहणीयसमेत बन्न पुगेको छ ।
सफल उपन्यास बन्न कथा र पात्रहरु पाठकसँगै घटना र परिवेशसम्म हिड्नु पर्छ, की कथा र पात्रहरुले पाठकलाई घटना र परिवेशसम्म पुर्याउनु पर्ने हुन्छ । उपन्यास ‘कोइलाखाद’ ले पाठकहरुलाई घटना र परिवेशसम्म पुर्याउन सफल रहेको छ । यस उपन्यासभित्रको कथावस्तु एकनासले बगेको पाइन्छ । भाषा कलात्मक छ । शब्द संयोजन उत्कृष्ट छ । यति हुँदाहँुदै पनि ‘कोइलाखाद’मा प्रयुक्त मृत्युका घटनाहरुले पाठकहरुलाई बिझाउन सक्छ । कोइलाखानी अन्त्यको कथा अघि नै राखेर लोचन र रुथको पलायनमै उपन्यास सकिएको भए हुन्थ्यो भन्ने पनि कसैलाई लाग्न सक्छ । मेघालयको कोइलाखानी जस्तो गम्भीर विषयवस्तु समेटिएको र खसिया जस्तो आदिवासी जनजातिको कथा बोकेको यो उपन्यास विषयवस्तुका हिसाबले अब्बल छ । यसलाई अन्तर्राष्ट्रियकरण गर्न अन्य भाषामा पनि प्रकाशन गर्नेतिर प्रकाशकको ध्यान जान जरुरी छ ।
अन्त्यमा, “…… ‘कोइलाखाद’ उपन्यास नेपाली आख्यानका लागि नयाँ सौन्दर्य हो ।” भन्ने साहित्यकार राजन मुकारुङको भनाइलाई पुनः जोड दिँदै आख्यानकार श्याम सिंघकको आगामी लेखन यात्रा फलोस्, फुलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
— अर्जुनधारा, झापा ।
सन्दर्भ सामग्रीः
१) कोइलाखाद (उपन्यास –२०८१, श्याम सिंघक) ।
२) दलिता र रेमिट्ल्यान्ड (उपन्यास –२०६५ र २०७३) ।
३) विजय चालिसेको ….. (आलेख, समालोचना अङ्क– ७६, २०८१ पुस, युवराज मैनाली) ।
४) उपन्यासकार श्याम सिंघकसँग प्रत्यक्ष कुराकानी ।
