धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखाको निर्वाचन सम्पन्न, १०९५ जनाले गरे मतदान

दोमुखा/ पूर्वकै प्रसिध्द धार्मिक तथा पर्यटकीय स्थल दोमुखाको १५ वटा पदको लागि मतदान सम्पन्न भएको छ ।

दोमुखा धार्मिक तथा पर्यटन विकास व्यवस्थापन संंस्थाको १५औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशन अन्तर्गत सम्पूर्ण १५ वटा पदको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज शनिबार भएको निर्वाचनले स्थानीयस्तरमा संसदीय निर्वाचनको झल्को दिएको महसुश गरिएको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजे शुरु भई ५ बजे सम्पन्न भएको मतदानमा १०९५ मतदाताले मतदान गरेका छन् भने २४० जना अनुपस्थित रहेका छन् । संस्थामा मतदाताको रुपमा आजीवन सदस्य १ हजार २८० र ५५ साधारण सदस्य गरी १ हजार ३३५ मतदाता रहेको निर्वाचन आयुक्त लीलाप्रसाद भट्टराईले जानकारी दिएका छन् । मतदानमा वर्षातको समेत पर्वाह नगरी मतदाताको उत्साहजनक सहभागीता रहेको थियो।

धार्मिक तथा पर्यटकीय क्षेत्रको नेतृत्व चयनका लागि हुने यो निर्वाचन भने निकै रोचक हुने भएको छ । निर्वाचनमा दुईवटा मुख्य राजनीतिक दल एमाले र काँग्रेसले अलग अलग प्यानल बनाएर निर्वाचनमा होमिएका छन् भने दललाई काउन्टर दिन स्वतन्त्र तर्फका उम्मेद्वार समेत चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा मनबहादुर मगर (मणि) , मोहनबहादुर कार्की र किरण ओलीले नेतृत्व गरेको प्यानल बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका उम्मेद्वार मगरले प्रगतिशील प्यानलको नेतृत्व गरेका छन् भने कार्कीले लोकतान्त्रिक प्यानलको, त्यस्तै ओलीले स्वतन्त्र प्यानल खडा गरी निर्वाचनमा होमिएका छन् । राजनीतिक दलहरु अग्रभागमा नदेखिए तापनि उम्मेद्वारहरु दलकै समर्थनमा उठेको बताइएको छ ।

संस्थामा अध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, सचिव १, सह सचिव १, कोषाध्यक्ष १, महिला आरक्षण सदस्य ४ र खुल्ला सदस्य ५ रहने व्यवस्था रहेको छ ।

निर्वाचन आयुक्तका रुपमा लीलाप्रसाद भट्टराई, सचिवमा नरबहादुर थपलिया र सदस्य संगीता कोइराला सुवेदी रहेका छन् । निर्वाचन आयोगले सतासीखबरलाई जानकारी दिए अनुसार बेलुकी ७ बजेबाट मतगणना शुरु गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares