सतासी साप्ताहिक खबरपत्रिका १४औं वर्षमा प्रवेश, दाहाल र आङदेम्बे सम्मानित

झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ बाट विगत १४ वर्षदेखि निरन्तर रुपमा प्रकाशन भइरहेको सतासी साप्ताहिक खबरपत्रिकाको १४औं वार्षिकोत्सव आज सम्पन्न भएको छ। शिवसताक्षी ८ झिलझले स्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) ले यो पत्रिका शिवसताक्षी कै एक गहना भएको बताएका छन् । उनले नगरपालिकाले मिडियाको क्षेत्रमा सतासी खबरपत्रिकालाई आन्तरिक रूपमा माया गरेको बताउँदै शताक्षी प्रेस क्लबको भवन निर्माणको बारेमा समेत आफ्ना विचारहरू व्यक्त गर्दै आफ्नो कार्यकाल मै भवन निर्माण सम्पन्न गर्न प्रेस क्लबका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरेका छन् । उनले facebook, tiktok मिडिया अनलाइनहरूमा आएका समाचारहरू छोटो समयमा नै बिलिन हुने भन्दै छापा पत्रिका भने सयौँ वर्षसम्म समेत हेर्न सकिने बताएका छन् । नगरपालिकाले मिडिया क्षेत्रलाई राम्रै बुझेको बताउँदै नगरका राम्रा वा नराम्रा गतिविधिहरूलाई प्रकाशमा ल्याएर सच्चिने मौका दिन समेत आग्रह गरेका छन् ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य मुनाराज सेर्माले आधुनिकतामा गएर समाचार संरक्षण गर्न आग्रह गरेका उनले छापा सँगै online मिडिया मार्फत पलपलका सूचनाहरू सम्प्रेषण गर्न आग्रह गरेका छन्। कार्यक्रमका विशिष्ट अतिथि तथा अतिथिहरूले सतासी साप्ताहिक खबरपत्रिकालाई हामी पाठक तथा संघ संस्थाले पनि बुझि नरहेको बताएका छन् । कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी उपशाखा शिवशताक्षिका सभापति गोविन्द काफ्ले, गजल तथा साहित्यकार विवश बलिभद्र कोइराला, याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष वीरबल जबेगु, सतासीधाम जेसीसका वर्ष २०२५ का अध्यक्ष पदम कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न संघ संस्था, विद्यालयका प्रतिनिधिहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रकाशन समूहको अध्यक्ष योगेन लावतीको रहेको थियो भने कार्यक्रममा स्वागत पत्रिकाका सहसम्पादक छविलाल दवाडीले गरेका थिए । त्यसैगरी कार्यक्रमको सञ्चालन सम्पादक सेलिङ केसीले गरेका थिए ।
सूचनाको मूलप्रवाहबाट दर्ता भई प्रकाशनमा आइरहेको सतासी साप्ताहिक खबरपत्रिका २०६९ साउन ८ गतेबाट विधिवत् रूपमा प्रकाशनमा आएको थियो । पत्रिकाले स्थानीय समाचारलाई प्राथमिकतामा राखेर समाचार सम्पादन गरिरहेको छ भने गाउँका समाचार, नगरका विकासे गतिविधि, बेथिति र न्यायको पक्षमा समाचार प्रकाशन गरेर सूचनाको पहुँचलाई समेत बढावा दिइरहेको छ । स्थानीय सानो बजार र औद्योगिक क्षेत्र नभएको, व्यापार व्यवसाय नफस्टाएको क्षेत्रमा पनि यति डेढ दशकको समयसम्म पत्रिका बाँचिरहनु चानचुने विषय पक्कै पनि होइन । यस क्षेत्रमा पत्रिकाको सञ्चारगृह स्थापना भएपछि स्वस्थ प्रतिस्पर्धा हुनेगरी पत्रकारहरुको उत्पादन भइरहेको छ भने यसबाट उत्पादन भएका पत्रकारहरुले जनताले कानूनी रुपमा अनिवार्य प्राप्त गर्नुपर्ने सूचनाको हकको समाचार माध्यमबाट प्रत्याभूत गराइरहेको छ । पत्रिकाले समय सापेक्षित बनेर समय र विज्ञान प्रविधिलाई मध्यनजर गर्दै छापा माध्यमका साथै श्रव्य–दृश्यका लागि सतासी खबरपत्रिका फेसबुक पेज सञ्चालनमा रहेको छ भने स्थानीय समाचारलाई विश्वव्यापीकरण गर्न अनलाइन संस्करण सतासीखबर डटकम सञ्चालनमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares