झिलझिले । झापाको झिलझिलेमा विद्युत प्राधिकरणको फ्यूज सेवा सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्र अन्तर्गत फ्यूज सेवाको कार्यालय शिवसताक्षी ११ स्थित झिलझिलेमा आइतबार शुभारम्भ गरिएको हो ।
फ्यूज सेवाको नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख सरोजकुमार शाह, स्थानीय समाजसेवीद्धोय मोहन कडरिया र जगतबहादुर श्रेष्ठ (गोपाल) ले संयुक्त उद्घाटन गरेका छन् । २३ बर्ष अघि नै २ कोठे भवन निर्माण गरी यस क्षेत्रका नागरिकलाई विद्युत सेवालाई सहज गर्न सुरु गरिएको थियो । तर द्वन्दकालमा विस्थापित भएपछि नागरिकले पुनः दमक धाउनु पर्ने बाध्यता रह्यो । देश शान्ति प्रक्रियामा आएसंगै लोकतान्त्रिक गणतन्त्र देशमा आयो तर फ्यूज सेवा यस स्थानमा पुनः सञ्चालनमा भने आउन सकेको थिएन । यस क्षेत्रका स्थानीयको अथक प्रयास र मेहनतले गर्दा यस ठाउँमा ढिलै भएपनि फ्यूज सेवा कार्यालय सञ्चालन गर्न सम्भव भएको छ । जीर्ण अवस्थामा रहेको भवनलाई पुनः निर्माण र रंगरोगन गरी यहाँबाट सेवाग्राहीलाई विद्युतीय मिटर, बिलिङ काउण्टर, बिजुलीको पोल, तार लगायतका सेवा प्रभाह गर्ने नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख सरोजकुमार शाहले बताएका छन् । उनका अनुसार दमकबाट हुने सम्पुर्ण सेवा यस स्थानबाट प्रवाह हुने भएकोले नागरिकले ढुक्क भएर सेवा लिन आग्रह गरे । शिवसताक्षी नगर भौगोलिक रुपमा निकै ठुलो भएकोले नागरिकलाई सेवा लिन झन्झटिलो रहेको थियो । यस फ्यूज सेवा सञ्चालनमा आएसंगै यस नगरका नागरिकलाई प्रत्यक्ष लाभ हुने बताइएको छ । फ्युज सेवाको कार्यालय पूर्व पश्चिम लोकमार्ग उत्तरतर्फ नेपाल टेलिकमको टावर नजिकै रहेको छ । यस कार्यालयले आज सोमबारबाट ग्राहकलाई सेवा प्रवाह गरेको जनाएको छ । उता दुधेमा रहेको फ्यूज सेवाबाट पनि बिलिङ काउण्टर भने यथावत् सञ्चालनमा रहने नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले जनाएको छ ।