दूधे-
शिवसताक्षी नगरपालिका वडा नं. ९ सुन्दरपुर झापामा स्थायी बसोबास गर्दै आइरहेकी इन्द्रकुमारी नुगो आर्थिक अभावको कारण क्यान्सर रोगको उपचार गर्न सकिरहेकी छैनन् ।
हातमा क्यान्सर भएको अस्पतालले जनाएपछि हातको उपचार कसरी गर्ने भन्ने बारेमा इन्द्रकुमारी चिन्तित बनेकी छिन् । आर्थिक अभावका कारण तत्कालै उपचार गर्ने सम्भावना छैन । उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गर्ने तयारी भएपनि उपचार खर्च नभएपछि चिन्तित बनिरहेकी इन्द्रकुमारीलाई किरात याक्थुङ चुम्लुङ शिवसताक्षी, झापाले “इन्द्रकुमारी उपचार अभियान” सञ्चालन गरेर उपचारको तयारी गरिएको छ
शुक्रबार दूधेको होटल मुडिमूनमा चुम्लुङको भेलाले पवित्रा लिम्बूको संयोजकत्वमा “इन्द्रकुमारी नुगो उपचार अभियान” समिति गठन भएको छ । यसैबीच निलु लिम्बूको संयोजनमा ओमन र मस्कटबाट २८ हजार २ सय २६ रुपैयाँ सहित निलु लिम्बूले २ हजार सहयोगसँगै ३० हजार २ सय २६ रुपैयाँ अभियानका संयोजक पवित्रा लिम्बूलाई प्रदान गरिएको छ ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ शिवसताक्षी झापाका अध्यक्ष बीरबल जवेगू, चित्रकला माबो, लोकमाया लिम्बू, दिलिप कुँवर, पार्वता सेलिङ लगायतको उपस्थिति रहेको थियो ।
चुम्लुङका अध्यक्ष जवेगूले किरात याक्थुङ चुम्लुङले भाषा, लिपि, सँस्कृतिको मात्रै उन्नयन गर्दैन, चुम्लुङ सधैँ सामाजिक गतिविधिमा अग्रपंक्तीमा रहेको बताएका छन् ।