शिवसताक्षी

आसन्न स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा झापाको शिवसतक्षी नगरपालिकामा नेकापा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट उप प्रमुख पदका प्रत्यासी उम्मेद्वार नवीन इजमले गठबन्धनका आफ्ना प्रतिद्वन्द्वी उम्मेद्वार महेन्द्र भट्टराईलाई सहयोग गर्ने भन्ने समाचार निराधर, भ्रामक पराजीत मानसिकताका साथै मतदाताहरूलाई गुमराहमा राख्ने प्रयास भएको बताएका छन् । यस नगरका मतदाताहरुलाई नवीन इजमले महेन्द्र भट्टराईलाई साथ दिएर जाने भएको छ भनि हल्ला फैलाइएको सुन्नमा आएकोमा इजमको यस्तो प्रतिक्रिया आएको हो । मतदातालाई भ्रमित र दुष्प्रचार गर्न यस्तो आधारहीन सूचना फैलाइएको प्रति उपमेयरका प्रत्यासी नवीन इजमले आपत्ति जनाएका छन् । बैशाख ३० गते हुन लागेको आसन्न निर्वाचनमा आफूलाई कमजोर बनाउन र आफ्नो माहोल बिगार्न विपक्षीले यस्तो षड्यन्त्रपूर्ण हल्ला फैलाएको हुन सक्ने इजमको भनाई छ । उनले भने आफ्नो पार्टी गठबन्धनबाट अलग भई अन्य साना दलसँग चुनावी तालमेल गरी चुनावी मैदानमा होमिइसकेको अवस्थामा आफूले कसैलाई सहयोग गरेर जाने भन्ने कुरै छैन र यस्तो हल्लामा पनि कुनै सत्यता नभएको बतएका छन् । त्यसैले हल्लाको पछि नलागी सम्पूर्ण नगरबासीहरु मतदाताहरूलाई ढुक्क भएर आफूले इच्छाएको उम्मेद्वारलाई मतदान गर्न समेत आग्रह गरेका छन् । मतदान गर्ने हरेक नागरिकको नैसर्गिक अधिकार भएकोले उक्त अधिकारलाई सहि रुपमा प्रयोग गर्न समेत सबैलाई सुझाएका छन् ।