कविता

मैले आमा मानेर पाइला सारेँ
शिरमा यसै माटाको तिलक लाएँ
हातमा हात समाएर रास नाचेँ
बाँकी छैन, इतिश्री गरेँ
तर
छैन स्वीकारेको मलाई ।

कोख बिर्सेर काखलाई माया गरेँ
पशुपति छाडेर गोविन्द आफ्नो मानेँ
जयकारमा उनकै नाउँ गाँसेँ
तिनै साउँ–अक्षरहरु तोते बोलीमा मिसाएँ
तर
छैन स्वीकारेको मलाई ।

असङ्ख्य शब्दहरु निजी मेरा पारेँ
काङ्सोई, इरोन्बा भान्सामा भिœयाएँ
भाइटिका बिर्सेर चाकौबा अपनाएँ
मारुनी थन्क्याएर थाबल नाचेँ
तर
छैन स्वीकारेको मलाई ।

इराङ, इरिल, थौबाल, इम्फाल मेरा ठानेँ
यिनै नदी नालाका सिमेँभूमेँहरु पुजेँ
कौब्रु, नोङमाइजीङ, थाङ्जीलाई हाज जोडेँ
तिनै कोशे ढुङ्गाहरुलाई ईश्वर मानेँ
तर
छैन स्वीकारेको मलाई ।

म छु
पाइलाहरुका छाप छन्
म मरे पनि इतिहास मर्दैन
पूर्खाका रगतले लेखेको कथा छ मेरो
त्यसैले त स्वीकार्नुपछ
पक्कै स्वीकार्नुपर्छ
मलाई स्वीकार्नुपर्छ, एकदिन ।

– काङ्लातोम्बी, मणिपुर ।