मणिपुर काङलातोङवी निवासी देवीप्रसाद थापा मामा एक प्रवासी नेपाली साहित्यकारका रुपमा आफूलाई चिनाउन सफल व्यक्तित्व हुनुहुन्छ । जहाँ–जहाँ नेपालीहरुको बसोवासको बाहुल्य छ त्यहाँ नेपाली साहित्यले स्थान पाएकै छ । नेपाली हुनुको नाताले नेपाली भूमिप्रति अति माया गर्दै नेपाली साहित्यलाई श्रृबृद्धि गर्ने कार्यमा उहाँको अह्म भूमिका रहेको छ । उहाँले नेपाली साहित्यका विधाहरु मध्ये लघुकथालाई प्राथमिकता दिएको पाइन्छ । हुन त उहाँका कविताहरु पनि कम महत्वका छैनन्, उनीबाट लिखित कौबु्रको काखबाट कविता संग्रह समिक्षा गर्ने अवसर पनि मैले पाएको थिएँ । आमा लघुकथा संग्रह बाहेक उहाँका सबै लघुकथाहरु मैले आधोपन्त पढेर समिक्षा गर्ने अवसर पनि उहाँले मलाई नै दिनु भएको हो । यस पटकको भु्रणहत्या लघुकथा संग्रह उहाँ नेपालको चितवनमा साहित्यिक कार्यक्रममा सहभागी हुने सिलसिलामा नेपाल प्रवेश गरेकै दिन मलाई उपलब्ध गराउनु भयो ।


मामाका लघुकथाहरु यस संग्रहमा ७५ वटा समावेश रहेका छन् । सरसर्ती पढे कुनै कुनै कथा दोहो¥याएर पनि अध्ययन गरे । पहिलेका कथा भन्दा केही भिन्न प्रयोग भएको पनि पाए, यस संग्रहका कथाहरु अति नै संक्षेपीकरण गरेर लेखिएका रहेछन् । मलाई यी कथाहरु लघुकथा नभनेर लघुत्तम कथा भन्न मन लागेको छ । आजको युग परिवर्तनको युग हो, लघुकथाको परम्परागत परिभाषालाई हेर्दा २० मिनेटमा पढिसकिने कथालाई लघुकथा हो भन्ने पाइन्छ ।
आज हरेक क्षेत्रमा परिवर्तन भइरहेको परिपक्ष्यमा साहित्य अथवा कथाका परिभाषामा पनि परिवर्तन हुनु बाञ्छनीय देखिन्छ । पहिला पहिला अत्याधुनिक साधनहरु जस्तै टेलिभिजन, इन्टरनेट आदीको सुविधा नहुदाँ पाठकहरु पुस्तककार कृतिहरु पढी ज्ञानार्जन गर्न बाध्य थिए । अहिले सञ्चार क्षेत्रमा धेरै सुविधा प्राप्त भएकाले अनि मानिसको जीवनचर्या अति व्यस्त रहेका कारणले पनि लामा कथाहरु, कविताहरु अध्ययन गर्न रुचाउँदैनन् । लामा लामा फिल्महरु हेर्न छोडेर छोटा टेली श्रङ्खलातर्फ मानिसको ध्यानाकर्षण भएको छ । अझ अति छोटा टिकटक जस्ता प्रस्तुतीले आजका युवा मात्र होइन बृद्ध–बृद्धासमेत आकर्षित छन् । त्यसैले मामाका कथाहरु आजका सन्र्दभमा पढनीय छन्, गहणीय छन् ।
छोटोमा ठूलो कुराको सन्देश दिन सक्नु कथाकारको विशेषता रहेको छ, हुन त उहाँ आफैले पनि महशुस गर्नु भएको छ, कतिपय पाठकहरुले यसलाई लघु कथा मान्दैनन् । तर यो एउटा प्रयोग भएकोले भविष्यमा यस्ता कथाले कस्तो प्रभाव जमाउँछ, हेर्न बाँकी नै छ । जे होस लघुकथाको उहाँ एक सशक्त कथाकार देखिनु भएको छ, उहाँको उर्जा यस क्षेत्रमा अझ अगाडी बढ्दै जाओस् शुभकामना । उहाँले यो कृति आफ्नै सालो स्वर्गीय मोहन बस्नेतलाई समर्पण गर्नु भएको छ । मोहन बस्नेत मेरो नजिकको छिमेकी भाइ भएकोले उनको भावनालाई मैले पनि नियाल्न पाएको थिएँ । कथाकारले भने झैँ यो स्वर्गीय दुनियाँमा एउटा अर्गानिक इतिहास अस्ताएको छ, दया, माया, करुणा र वेदना उनको अनुहारमा उदीप्त भइरहन्थ्यो । बोल्न नसक्ने मुक नवयुवक उनका चेहराका भावहरुले नै हामीलाई संवेदित बनाउँथ्यो । उनको असामहिक निधनमा गाउँ नै स्तब्ध भएको थियो ।
मामाका कथाहरुले मूलतः सामाजिक, राजनैतिक तथा ऐतिहासिक विषय बस्तुलाई समेटेको पाइन्छ । प्रकृति र मानवबीचको सम्बन्ध टाढिँदै गएको दृष्टान्त पनि उहाँले यसरी व्यक्त गर्नुभएको छ, युज एण्ड थ्रो कथामा उहाँ भन्नु हुन्छ जब मान्छेहरु पातमा खान्थे, सम्बन्ध मौलाएको थियो । पछि माटाका वर्तन आए, अनि सम्बन्ध जमिनसँगै जोडियो । फेरि पित्तल आयो, त्यतिवेला सम्बन्ध वर्ष–वर्षमा माझिन थालियो । अनि काँच आयो सम्बन्ध एकै झट्कामा काटियो । हिजोआज मान्छेहरु थर्मोकल पेपरमा खान्छन्, त्यसैले सम्बन्ध युज एण्ड थ्रो भएको छ । कथा यति हो तर यसले गहन भाव ओकलेको छ, प्राचीन कालमा मानिस प्रकृतिसँग रमाउँथ्यो, पातमा खान्थ्यो प्रकृति प्रेमी थियो मानिस । बिस्तारै माटाका भाँडा वर्तनको निर्माण हुन थाल्यो मानिसको त्यो प्रकृतिसँगको सम्बन्ध जमिनसँग मात्र सिमित रहन पुग्यो । हुँदा हुँदा अहिले काँच, पित्तल, थर्मोकोल जस्ता धातुहरुको निर्माणले मान्छेले प्रकृतिलाई भुल्न थालेको यथार्थ यसमा छ । प्रकृति भगवान हो र प्रकृतिमै सबै कुरा पाइन्छ, त्यसैले प्रकृतिसँग मानवको तादात्म्यता रहिरहनु पर्छ भन्ने सन्देश यस कथाबाट बुझ्न सकिन्छ ।
भ्रष्टाचारको चरम बिकृति कृतिमा रहेको सहिद कथामा पाइन्छ । गरीब परिवार थर्कमानको छोरा जनयुद्धमा मारिएको र उसलाई सहिद घोषणा गरे तापनि राहत थाप्न जाँदा सचिवले तपाईको हुनेवाला बुहारी मेरी बहिनीले अस्तिनै राहत लगिसकेको भनेपछि बुबा जिल्ल परी आँखा अगाडी जनयुद्ध तथा सरकार तिरबिराएको अवस्था देखाएको छ । विकास निर्माणका कार्यहरु गर्ने भन्दै भोट माग्न आउने झुट नेताहरुको भ्रमको खेती निर्माण योजना कथाले उजागड पारेको छ । सोझा जनतालाई डर त्रास देखाई नेताहरुले कसरी भोट जिती सरकारमा जान्छन् भन्ने कुरा भोट शिर्षक कथामा उल्लेख भएको छ । वर्तमान राजनीतिक पाटोलाई पर्गेल्ने यी प्रतिनिधिमुलक कथाहरु छन् । त्यस्तै भविष्य, अदुभूत, वाकस, सुम्पिएको छ, राजनीति जस्ता कथाले पनि वर्तमान राजनीतिमा पाइने बिकृत चलखेलहरुलाई इङगित गर्न खाजेको छ ।
धार्मिक तथा पौराणिक विषय बस्तुहरुलाई आधार बनाएर कथाकार देवीप्रसाद थापा मामाले आज धर्ममा आएको विचलन, विसङगती धार्मिक सहिष्णुताको अभावलाई पनि औल्याएको पाइन्छ । इश्वर एक भन्ने कथामा चारजना धर्मगुरुहरु एउटै ढुङगामा समुद्र पार गर्दै गर्दा मेरो ईश्वरले यो संसार सृष्टि गरेको हो भनी एकले अर्कालाई भन्दै जाँदा अरुले स्वीकार नगरेको सबैले आफ्नै ईश्वर अर्थात आफ्नै धर्म ठूलो भएको भनी पुष्ट्याई गर्दा बाद विवाद चलिरहेको अवस्थामा माझीले ढुङ्गा एउटा अनकन्टार टापुमा पु¥याई अब तपाईहरुको सल्लाह नमिलेसम्म यहीँ बस्नुहोस्, तपाईहरुको समय अब यहीँ बित्नेछ भन्दा बल्ल सबैको होस् खुली सबैले एकै स्वरमा ईश्वर एक हामी एक भनी ज्यान बचेको कुरा उल्लेख छ । गाई र माई कथाका माध्यमबाट माई तथा माईलाई ईश्वरको प्रतिरुप मान्नुपर्ने कुरा एक विदेशी पात्र पिटरको माध्यमबाट देखाइएको छ । माईलाई पेटमा हुँदाहुँदै एवोर्सन गराउने अनि गाईलाई नेसलन पशु नमान्ने यो चाहिँ कुन देशमा हो ? भनी पिटरले व्यङ्ग समेत गरेको छ । त्यसैगरी मान्छे र देउता कथामा देउतालाई पनि मान्छेले उछिन्न खोजेको कुरा वर्णित छ । मान्छेले देउतालाई बोल्नै नदिई मान्छे भन्छ मैले मन्दिर, मस्जित, गुम्बा, गिर्जाघरहरु बनाएर तिमीहरुलाई शान्तिसँग थन्क्याएँ । देउता निरुत्तर भई अन्तरध्यान हुन्छ ।
मामाका कथामा सामाजिक विकृति, पारिवारिक खटपटी छोराबुहारीले बाबुआमा माथि गर्ने र्दुव्यवहार आदी पनि सरल भाषामा उत्रिएको छ । बुढो कुकुर शिर्षकमा छोरा बुहारीले बुढो बाबुलाई बुद्धाश्राम पु¥याएर फर्किएको तर छोराले मावाइल बिर्सेर पुनः लिन जाँदा बाबुको साथमा एउटा बुढो कुकुर बसिरहेको दृश्य पनि कम मार्मिक छैन । त्यस्तै जोहो भन्ने कथामा ईश्वरप्रतिको लोभ देखाएर आमालाई एउटा धार्मिक आश्रममा रोखेको र केही समयपछि आमालाई भेट्न जाँदा छोराले केही खाँचो छ आमा तपाईलाई ? भनी प्रश्न गर्दा आमाले एउटा पलङको खाँचो छ व्यवस्था गरिदिनु बाबु पछिलाई जोहो गर्नुपर्छ भनेको कुरा पनि छोराले पक्कै बुझेको हुनुपर्छ । चिना कथामा सासु, नन्द, आमाजुले बुहारीलाई अथवा भाउजुलाई कति हेला अर्घेल्याई गर्छन् भन्ने कुरा पण्डितले केटा र केटीको चिना मिलाउनु भन्दा नन्द, आमाजु, सासुसँग मिउनुपर्छ भनेको कुराले पुष्टि गरको छ । त्यसैगरी छोराले बुहारी ल्याएपछि बुहारीको कुरा सुनी बाबुआमालाई कति सम्म हेला अपमान गर्छन् भन्ने कुरा पत्र, झुत्रे, लडाई, पीडा, निर्दय, निर्णय, खिर जस्ता कथाहरुले छर्लङग्याएका छन् ।
मानवेतर पात्रहरु प्रयोग गरी सहित्य सिर्जना गर्ने प्रचलन पहिलेदेखि नै हुँदै आएको हो । यस कथा संग्रहमा पनि कथाकारले मरुभूमि, मुर्खताको फल, सपना, घमण्ड, दुःख, अनौठो मुद्दा, घट्ना, विदेशी कुुकुर, अस्तित्व, डिजिटल युग, बिर्को, वातावरण जस्ता कथामा मानवेतर पात्रहरुको प्रयोग गरी समाजमा रहेका बिकृतिहरु हटाई स्वच्छ समाज निर्माण गर्नुपर्छ भन्ने भावना अभिव्यक्त भएको देखिन्छ । भ्रुणहत्या कथामा छोरा र छोरीमा अझैपनि भेदभाव रहेको कुरा देखाइएको छ । यस संग्रहमा समाविष्ट अन्य कथाहरु रिमोट, यथार्थ, शरीर, व्यवहार, विचार, हराएको पाना, पुत्ला, मृत्युदण्ड, सपना, त्यागी, साक्षात्, बराजु, वाकस, भविष्यवाणी, खसी, मोबाइल, बेपारी इत्यादिले पनि केही न केही जीवनपयोगी सन्दशेहरु प्रदान गरेकै छन् । समग्रमा कथाहरु विचारप्रधान, भावप्रधान तथा सन्देश मुलक छन् ।
भाषिक दृष्टिकोणले विश्लेषण गर्दा कथाको भाषा सरल तथा सहज छ । सामान्य पाठकहरुले पनि बुझ्न सक्ने बोधगम्य भाषाको प्रयोग यसमा देखिन्छ, शैली पनि सरल र सरस छ । यसमा प्राञ्जल र आलङकारिक शैली त्यती देखिदैन । भाषिक शुद्धाशुद्धी हेर्दा नगण्य मात्रामा त्रुटिहरु फेला पर्छन् । उदाहरणका लागि मुर्खताको फलमा घास (घाँस), मांसहरी(मांसाहारी), नबोलि (नबोली), वाकस शिर्षकमा सोधि (सोधी), सुम्बिएको छ शिर्षक (सुम्पिएको छ), दुख शिर्षक (दुःख), भविष्यवाणीमा सुध्यो (सुँध्यो), खसी शिर्षकमा बाँधेको ठाउँमा सखी (खसी) थिएन । धर्म कथामा दुध (दूध), दुनियाँ शिर्षकमा बुझि (बुझी), गरि (गरी), पुजा (पूजा), कोष्टभित्र लेखिएको शुद्ध रुपलाई प्रयोग गर्नुपर्छ । त्यसैगरी निर्दय शिर्षकलाई निर्दयी बनाउनु रोम्रो हुने देख्छु म । उपयुक्त त्रुटीहरु सामान्य हुन् अक्षम्य त्रुटी हुँदै होइनन् । प्रवाशमा बसेर हुर्केर पढेर नेपाली भाषामा यति शुद्धसँग साहित्य सिर्जना गर्न सक्नु थापा मामाको महत्वपूर्ण उपलब्धि हो ।
निष्कर्षमा लामो कथा एउटा ठूलो वरको बृक्ष हो, भने छोटो कथा गमलामा रोपेको सानो विरुवा हो । तर जति अङग, प्रत्यङ वरको बृक्षमा हुन्छ त्यति नै अङ्गहरु (जरा, पात, हाँगा आदी) गमलामा रोपेका विरुवामा पनि हुन्छ, सानो र ठूलोको अन्तर मात्रै हो । कथा सर्जकले कथाका तत्वहरु के के हुन भन्ने कुराको हेक्का राख्नुपर्छ । यस दृष्टिले हेर्दा कथाकारले विशेष ध्यान पुया¥उनु खोजेको देखिन्छ तथापि यसमा अझै परिष्कार गर्नु पर्ने हुन्छ । आगामी कथा संग्रहहरु अझ परिष्कृत रुपमा प्रकाशित हुनेछन् भन्नेमा म विश्वस्त छु ।
कथाकारलाई म के पनि सल्लाह दिन चाहान्छु भने मनोबैज्ञानिक कथाहरुको फाँटलाई पनि अझ फराकिलो पार्दै मानव मन भित्र रहेका पीडा वेदना मानसिक अन्तरद्धन्द्ध घात प्रतिघात खासगरी महिलाहरुले भोग्ने तर भन्न नसक्ने व्यथाहरु अनि यौन कुण्ठा आदिको पनि विषय बस्तु बनाएर कथाको मनोवैज्ञानिक पाटोलाई पनि बिस्तार गर्नु हुनेछ । नौ वटा कृतिहरु प्रकाशित गरिसक्नु भएका र ती मध्ये छ वटा कृतिको समिक्षा मैले पनि लेखेको छु । कम्तिमा १२ वटा कृतिको समिक्षा लेख्ने अवसर मलाई प्राप्त होस् भन्दै साहित्यकार देवीप्रसाद थापा मामाको साहित्यप्रतिको रुचि अझै बढ्दै जाओस् सुस्वास्थ्य र दीर्घायुको कामना ःः
२०७८ कात्तिक २९ गते सोमबार (ठूली एकादशी)