बाला चतुर्दशी विश्लेषणत्मक समाचार

सतासीधाम पूर्वका विभिन्न स्थानमा स्वतःस्फूर्त लाग्दै आएको बाला चतुर्दशीको मेला यस पटक भने अनौपचारिक मात्र रह्यो । शिवसताक्षी नगरपालिकाले कोरोनाको संक्रमण बढ्ने भन्दै मेला नलाग्ने र भिडभाड नगर्ने सूचना जारी गरेपछि यस पटक सधैका वर्षहरु झै तिर्थालु भक्तजनहरु देखिएनन् ।
बालाचतुर्दशीका दिन हजारौको संख्यामा सतविज छर्न आउने धर्र्मानुयायीहरु यस पटक पातलो देखिंदा कोरोना भाइरस संक्रमणमा मानिसहरुले स्वास्थ सर्तकता अपनाएको अनुमान गर्न सकिन्छ । नेपाल सरकारले देशका विभिन्न धार्मिक पीठहरुमा यस पटक भिडभाड नगर्न अग्रीम सूचना जारी गरेको थियो । झापाको अर्जुनधाराधाम, किच्चकवधधाम, पाउ पाथिभरा, चिल्लागढधाम, कन्काई दोमुखाधाम जस्ता धार्मिक केन्द्रविन्दुहरुमा यस पटक धर्मानुयायीहरुको भिडभाड नदेखिनु कोरोना भाइरसको प्रत्यक्ष असर हो । यसपटक धार्मिक भक्तजनहरु प्रायः सबै माक्स प्रयोग गरेर सतविज छर्न आएका भेटिए । पूर्वको धार्मिक तथा पर्यटकीय क्षेत्र सतासीधाम नेपाल सरकारले धार्मिक तथा पर्याटकीय स्थलका रुपमा सुचिकृत गरिसकेको क्षेत्र हो । धार्मिक तथा पुरातात्विक विशेषता बोकेको यस क्षेत्रमा बाला चतुर्दशीका दिन भिडामभिड हुने गथ्र्यो । तर, यसपटक सवारी साधनहरु व्यवस्थापन गर्न खटेका सुरक्षकर्मीहरु सधै झै सकसपूर्ण हुनुपरेन । सतासीधाम परिसरको मुख्य मन्दिर क्षेत्र समेत यस पटक सुनसान जस्तो देखियो । बाटो वारी–पारी व्यापारीहरुले फलफुल ,प्रसादजन्य पूजा सामाग्री , बदाम, मामफुलीहरुको मात्रै पसलहरु भेटियो । सधाका वर्षहरुमा महा–पुराण हुने गर्दथ्यो सोहि कारण पनि मानिसहरुको अत्याधिक भिड हुन्थ्यो र २ दिनसम्म खेल तमासा सहितको मेला लाग्ने गर्दथ्यो तर यस पटक संक्रमणकै कारण त्यस्तो भेटिएन । बालाचर्तुदशीका दिन सतासीधाम प्रवेशद्धार परिसरको झिलझिले बजार समेत खचाखच हुने गर्दथ्यो । धुलाम्मे सडक यस पटक सवारी साधनको कमीले सामान्य देखिन्थ्यो । बिहान ४ बजेखि साँझ अबेरसम्म सतासीधाममा मानिसहरुको भरीभराउ हुने गर्दथ्यो। सतविज छर्न आउने तिर्थालु भक्तजनहरुलाई प्रशासनले सताक्षीधाम प्रवेश निषेध गराउने प्रयास गरेपनि व्यापक जनगुनासो बढेपछि भक्तजनहरुलाई सामान्य अवस्थामा प्रवेश खुल्ला गर्दा सतविज छर्न सहज भएको थियो । सताक्षीधाममा गोलोक गोर्वधन गौशाला समिति, सतासीधाम मन्दिर विकास समिति, किरात तेमेनलुङ माङ्हिम निर्माण समिति उक्त क्षेत्रमा क्रियाशिल देखिन्थे । धर्मानुयायीहरु पर्याप्त मात्रामा धार्मिक पीठहरुमा नआउदा, उक्त पिठहरुलाई आर्थिक खडेरी समेत लागेको आभाष हुन्छ । सतासीधाम परिसरमा माथि उल्लेखित संस्थाहरुले औपचारिक रुपमा पूजा अनुष्ठान गरीरहेको भेटियो । यस पटकको बालाचतुर्दशी सामान्य अवस्थामा मनाउन नसकिएकोमा स्थानीय तथा तिर्थालु भक्तजन, व्यवसायी र सिङगो नगर नै दुःखी बनेका छन् ।