शिवसताक्षी ७ का पशु पालक किसान आफ्ना घरपालुवा पशु रोगी बनेपछि दिक्क थिए । गाई, भैँसी, बाख्रा, इत्यादिमा नाम्ले, जुका, किर्नाको समस्या भएपछि उनीहरु चिन्तित थिए । तर, ग्रामीण क्षेत्रका पशुपालक कृषकलाई लक्षित गर्दै शिवसताक्षी नगरपालिका पशु शाखाले सञ्चालन गरेको पशु स्वास्थ्य शिविरबाट उनीहरुले लाभ पाएका छन् ।

शिवसताक्षी ७ चन्द्रडाँगी वडा कार्यालय प्राङ्गणमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।सञ्चालित शिविरबाट सो क्षेत्रका २ सय ८५ घरधुरी किसानले प्रत्यक्ष सेवा पाएका छन्।
शिविरमा १ हजार १ सय ७७ पशुपंक्षी लाभान्वित भएको शिवसताक्षी नगरपालिका पशु शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए ।
स्थानीयबासीले शिविरमै आफ्ना घरपालुवा जनावर लिएर आएका थिए धेरैजसो किसानले घरपालुवा जनावरका लागि औषधि लिएर गएका थिए ।

करिव एक लाख रुपैयाँ बराबरको निःशुल्क औषधि  समेत वितरण गरिएको शिविरमा पशु चिकित्सक डा. कमलेश्वर भाट सहित प्राविधिक मानबहादुर लम्जेल, रिता घिमिरे , प्रेम पौडेल, सुदिप भट्टराई  , धनपति न्यौपाने, राम आशिष रजक लगायतले सेवा पुर्याएका थिए ।

शिविरमा गाई, भैँसी, संगुर,बाख्रा, कुकुर, कुखुराको स्वास्थ्य उपचार गरिएको रिता घिमिरेले जानकारी दिइन् । प्रयोगशाला सेवासहितको शिविरमा पशुको बन्ध्याकरण, गर्भ परीक्षण, बाँझोपन निवारण, परजीवी नियन्त्रण, पिडिपी जाँच, गोबर परीक्षण, साल झार्ने काम गरिएको त्यस्तै, भिटामिनको सुइँ लगाउने तथा कृत्रिम गर्भधारण गरिएको पशु स्वास्थ्य शिविरमा स्थानीयबासीलाई पशु पालनसम्बन्धी परामर्श तथा पशु बीमासम्बन्धी जानकारी दिइएको शिवसताक्षी-७ का वडा सदस्य सुरेश राजवंशीले बताए ।
शिविरको एक कार्यक्रमका बीच नगरप्रमुख मेघाहाङ थोप्राले उद्घाटन गर्दै किसानहरू लक्षित आगामी वजेट ल्याउने तयारी भइरहेकोले कृषि पेसाबाट आयआर्जनको स्रोत बनाउने सकिने  बताए ।
कार्यक्रममा विशेष अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र चौधरी,अतिथिहरूमा प्रशासन शाखा प्रमुख डिल्लीराम नेपाल ,योजना शाखा अधिकृत प्रकाश रञ्जितकार,वडा सचिव धनराज इम्बुङ उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत गर्दै कार्यक्रम माथि प्रकाश पशु शाखा प्रमुख राम अवतार यादवले पारेका थिए भने शिवसताक्षी वडा नम्बर ७ का वडा अध्यक्ष भवानीविक्रम चेम्जोङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन विमल बाँस्कोटाले गरेका थिए।