बिरामी भएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्।
जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ।
‘आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो,’ उनीनिकट स्रोतले भनेको छ।
पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी  गरिएको छ।
यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।
आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्।