गत असार २४ गतेको अविरल वर्षाको कारण कनकाइ नदीले विस्थापित भएकी शिवसताक्षी–१० की एकल महिला तारा शेर्माको घर निर्माणका लागि हङकङबाट सहयोग प्राप्त भएको छ ।
वैदेशिक रोजगारका क्रममा हङकङका विभिन्न स्थानहरुमा बसोबास गरिरहेका शिवसताक्षीका मनकारी व्यक्तिहरुको सहयोगमा तारा शेर्माको अपुरो घरलाई पूर्णता दिने कार्यमा लागेका हुन् ।
नेपाली कांग्रेस, शिवसताक्षीको संयोजन तथा हङकङका नवीन सुहाङको सक्रियतामा हङकङ डलर ७ हजार ४ सय पाँच अर्थात १ लाख १३ हजार ३ सय रुपैंया प्राप्त भएको हो ।

मेची अभियानमार्फत शेर्माको स्थायी बसोबासका लागि निर्माण हुन लागेको जस्ताको छानासहितको आरसिसी घर निर्माणका लागि विभिन्न सञ्चारमाध्यमहरुमा शेर्माको घर निर्माण गर्न अभियान चलिरहँदा शिवसताक्षी समाज हङकङले पनि उक्त अभियान चलाएको सुहाङले जानकारी दिए ।
उनको घर निर्माण भनि हङकङका रोशन राजवंशीले १ हजार डलर, मणिकुमार शेर्मा, नारायणध्वज शेर्मा, तिलविक्रम कुरुम्बाङ, विजय बोखिम लिम्बु, जित साम्येम्खाम, जेवी याक्थुम्बा, सन्तोष साम्येम्खाम, बुद्धि शेर्मा र नविन सुहाङले जनही ५ सय डलर, टेक बहादुर राईले ३ सय ५ डलर, हेम लावती, राजु राई (सुरज), अशोक मावो मार्फत ३ सय डलर, सविना केदेम, सरिता कोयु राई, आयु इजम मार्फत जनही २ सय डलर र सूर्य लावती मार्फत १ सय डलर गरी ७ हजार ४ सय ५ डलर सहयोग प्राप्त भएको थियो ।


प्राप्त रकम नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुङ्गाना, सह सभापति विनोद ढकाल, महाधिवेश प्रतिनिधि शिवकुमार याङया, नगर कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराई, वडा नं. ११ का वडा सभापति अशोक बस्नेत, लायन्स क्लब अफ शिवसताक्षीका प्रेसिडेन्ट अग्नि दुलाल मार्फत मेची अभियानका सदस्य ज्ञानेन्द्र निरौलालाई हस्तान्तरण गरिएको थियो ।
शेर्माको घर निर्माणका लागि शिवसताक्षी नगरपालिकाले जग्गा उपलब्ध गराइ दिएपश्चात मेची अभियानले घर बनाइदिने प्रतिवद्धता गरेको थियो ।
असार २४ गते आएको कनकाई नदिको बाढीले शेर्माको घर सहित ६ वटा घर बगाएको थियो । अहिले पनि कनकाई नदिको किनारामा असुरक्षित बसोबास गर्दै आइरहेकी लिम्बुका श्रीमानको समेत एक बर्ष अघि निधन भएको र ५ र ७ बर्षका छोरी र अढाई बर्षको छोराको लालन पालन गर्नु पर्ने जिम्मेवारी समेत रहेकी शेर्मा आफैं पनि बिरामी अवस्थामा भएकाले बस्ने घर समेत नहुँदा बिचल्लीमा परेकाले बिभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरे पछि नगरपालिका र मेची अभियान सहित अन्य संघ संस्थाहरुले उनको घर निर्माणका लागि अग्रसर भएका हुन् ।