विश्वव्यापी अनलाइन कोङकोङमा बिनायो वादन खुल्ला प्रतियोगिता विजेता कमल गाँउपालिका झापाका बलबहादुर राई बनेका छन् । त्यस्तै प्रतियोगिताबाट दोस्रो पम्फा खालिङ (दिक्तेल), तेस्रो जितुमाया राई ओखलढुङ्गा र सान्त्वना स्थानमा मनकुमारी राई झापा बनेका हुन् ।
लोपोन्मुख मौलिक बाजा बिस्थापित भईरहेको बेला यस्ता विश्वव्यापी भर्चुअल कार्यक्रमहरुले प्रचार गर्ने काम गरेको छ भन्दै प्रमुख अतिथिले आयोजकलाई कार्यक्रममा धन्यवाद समेत दिएका छन् । किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रिय कार्य समितिको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक, गीतकार तथा साहित्यकार गणेश रसिक राईको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अतिथिहरुमा किरात राई यायोख्या केन्द्रिय महासचिव जनक राई, अक्षयकोष स्थापनाकर्ता युवराज राई, किरात राई यायोक्खा बाग्मती प्रदेशका सुमन राई, वाम्बुले राई समाजका गजुरधन राई, माननिय बिनादेवी राई लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान समेत गरिएको थियो । जस अनुसार विष्णुमाया राई वर्ष ९५ खोटाङ, देशलक्षी राई वर्ष ९२ हलेसी खोटाङ रहेका छन् । कार्यक्रममा बिनायो बाजा कुन उमेर समूहमा लोकप्रिय हुन सक्छ भन्ने अध्ययन, अनुसन्धान गर्दै बाजाको धुनलाई डकुमेण्टेशन गर्ने निर्णय समेत गरिएको छ ।
कार्यक्रम किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष रामकर राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत शालिक शातासकले गरेका थिए त्यस्तै संस्थापक अध्यक्ष जितेन राईले कोङकोङमा सम्बन्धी अवधारणा पत्र प्रस्तुत गरेका थिए ।