शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारका स्थानीयहरु वडा कार्यालयको निर्णयलाई लिएर असन्तुष्ट तथा आक्रोशित बनेका छन् ।
शिवसताक्षी नगरपालिका वडा नं. १० ले आफ्नो निर्णयमा जिल्ला प्रशासन कार्यालय, झापाले आवश्यक पर्ने खाद्यान्न, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध डेरी, निर्माण सामाग्री पसल लगायत अत्यावश्यक पसल बिहान ६ बजेदेखि १० बजेसम्ममात्र खुल्ला गर्ने निर्देशन दिएता पनि सो निर्णयको धज्जी उडाएको तथा आफू अनुकूल निर्णय गरेको भनि स्थानीयहरु असन्तुष्ट तथा आक्रोशित भएका हुुन् ।

सुनसान माइधार बजार

वडा कार्यालयले मानव समुदायमा आक्रान्त बनाइरहेको कोरोना भाइरस कोभिड १९ रोकथामका लागि वडाभरिका सम्पूर्ण पसलहरु बन्द गर्ने भनि निर्णय गरेता पनि चल्ला व्यापारीहरुका लागि दानाको व्यापार खुल्ला गरेको तर अति आवश्यक पर्ने खाद्यान्नको पसलहरु बन्द गर्ने भनि निर्णय गरेको थियो । वडाले बैशाख २६ गते आइतबार बेलुका पख सूचना जारी गर्दै सम्पूर्ण प्रकारका पसलहरु, कार्यालयहरु, सहकारी संघसंस्थाहरु बन्द गर्न भनि माइकिङ गरि ह्विप जारी गरेता पनि आफ्नै वडा कार्यालयको तल्लो तलामा रहेको चल्लाको दाना व्यापारलाई मात्र खुल्ला गर्न आव्हान गरेको थियो । सो विषयलाई लिएर उक्त वडामा रहेका व्यक्तिहरु अचम्मित पर्नुका साथै रुष्ट समेत बनेका छन् ।
यस विषयलाई लिएर सो वडाका वडाध्यक्ष कर्ण बहादुर थापासंग बुझ्दा उनले जनप्रतिनिधिहरु मात्रले यो निर्णय नगरि वडामा रहेका राजनैतिक दलका प्रमुखहरु नेकपा एमालेका दीपक पोखरेल, नेपाली कांग्रेसका लक्ष्मी योङहाङ्ग, नेकपा माओवादी केन्द्रका नन्दप्रसाद राया, जनमुक्तिका दल बहादुर योङ्गहाङ्ग, स्थानीय प्रहरी प्रशासनको संयुक्त छलफलले सो निर्णय गरेको बताए । उनले भने : यो निर्णय हामीले नगरपालिकाको कार्यालयमा पेश गरेका थियौ, त्यहाँकै निर्देशन बमोजिम यो कार्य गरिएको हो ।” उनले थपे : हामीले भीडभाड नगराइ पसल खोल्नका लागि यो जुक्ति निकालेका हौं, आवश्यक परे यसअघि जुन पसलबाट आवश्यकीय खाद्यान्न सामग्री खरीद गर्ने गरिएको थियो, सोही पसलबाट सामग्री खरिद गर्न सकिनेछ । यसमा जिल्ला प्रशासन कार्यालय, झापाले तोकेको समयमा आवश्यकीय सामग्री मात्र खरिद तथा विक्री गर्न सकिनेछ, यसमा प्रहरी प्रशासनको रोकतोक छैन ।
उनले थपे : मानिसहरुलाई पर्ने आवश्यक खाद्यान्न सामग्री उपब्धलता हामी जसरी पनि पूरा गर्छौ । गाईवस्तुहरु घाँस पराल खाएर पनि बाँच्न सक्छन् तर ब्रोइलर कुखुराहरुको लागि दाना नै आवश्यक पर्ने भएकाले सो निर्णय भएको हो । यसलाई सकारात्मक रुपमा लिइदिनुुहुन वडावासीमा अनुरोध गर्दछु ।
यता वडा नं १० को विषयलाई लिएर शिवसताक्षी नपाका प्रमुख चन्द्रकुमार शेर्मालाई बुझ्दा निर्वाचित जनप्रतिनिधिहरुले जनताको जनधनको सुरक्षा गर्ने जिम्मेवारी भएकाले वडा नं. १० ले व्यापार व्यसाय बन्द गर्ने विषयमा लिएर आएको परिपत्रलाई स्वीकार गर्दै वडाको आवश्यकता अनुसार निर्णय गर्न अधिकार प्रत्यायोजन दिइएको बताए । उनले वडा नं. १० मा भएका निर्णयहरुको जानकारी जिल्ला प्रशासन कार्यालय झापामा समेत गराएको बताए ।
नगरमा कोरोना संक्रमितको संख्या बढ्दै
यो समाचार तयार पार्दासम्म नगरभरि कोरोना संक्रमितको संख्या ४४ पुगेको छ भने ६ जना उपचारपछि निको भएका छन् भने पछिल्लो भेरियण्ट कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ ।