विगतमा काठमाडौंमा मात्र केन्द्रित भएर गरिने शेयर बजारको कारोबार अहिले सूचना प्रविधिको पहुँच बढेसँगै देशका हरेक शहर, बजार, गाउँ तथा घरघरसम्म पैmलिएको छ । शेयर बजार आर्थिक लगानीसँग सम्बन्धित कारोबार भएकाले यसमा सहभागी हुनु अघि शेयर बजार सम्बन्धी आवश्यक आधारभूत जानकारी लिन अपरिहार्य हुन्छ । त्यसैले शेयर बजार सम्बन्धी जानकार आशिष बस्नेतसँग हाम्रा प्रतिनिधि पवन चाम्लिङ राईले गरेको कुराकानीको अंशः

के हो शेयर बजार ?
— कुनै पनि कम्पनीलाई सञ्चालनको निमित्त पूँजीको आवश्यकता पर्दछ । सो पूँजी संकलनको लागि शेयर, ऋणपत्र, बण्ड आदि जारी गरेर कम्पनीले आफूले चाहिएको रकम संकलन गर्न सक्दछ । ती विकल्पहरु मध्ये एक विकल्प शेयर हो ।
मानौं कुनै कम्पनीलाई एक करोड रुपैयाँको आवश्यकता पर्दछ भने उसले १०० रुपैयाँ प्रति कित्ताको एक लाख कित्ता शेयर जारी गर्न सक्छ । जसलाई हामी IPO (Initial Public Offering) भनेर सुनिरहेका हुन्छौं । सो शेयरलाई NEPSE मा सूचीकृत गराई किनबेच गराउने ठाउँलाई शेयर बजार भनिन्छ । शेयर बजार यस्तो ठाउँ हो जहाँ विभिन्न कम्पनीको स्वामित्व हस्तान्तरण तथा ग्रहण सजिलै गर्न सकिन्छ ।

शेयर बजारमा कसरी प्रवेश गर्ने ?
— कुनै पनि बैंक वा Broker मा गएर DEMAT खाता खोले पश्चात Broker मार्फत KYC Update गरेर शेयर कारोबार गर्न सकिन्छ ।

शेयर बजारबाट कसरी कमाउने ?
आजकल ठूला व्यवसायीदेखि निम्न आयस्रोत भएका वा नभएका विद्यार्थीवर्गले पनि आफ्नो कलेजको फि, खाजा खर्च निकाल्न शेयर बजारबाट सम्भव भएको कुरा चर्चामा छ । अहिले शेयर बजार Bull Trend मा चलिरहँदा कमाउन निकै सहज हुने भएता पनि Bull Trend सकिएपछि शेयर बजारबाट कमाउन त्यति सहज हुदैन । महान शेयर लगानीकर्ता Warren Buffet को शेयरबाट कमाउने मन्त्र “Be greedy when others are fearful, be fearful when others are greedy.” अर्थात् बजारमा सबै लोभिइरहँदा आफू डराउनु र अरु डराइरहँदा आफू लोभिनु । यसको अर्थ सबै जना शेयर मूल्य अझै बढ्छ भनेर लोभिइरहँदा आफू सतर्क रहनु र सबै बजार घट्छ भनेर बेचिरहँदा मूल्य सस्तो हुन्छ र त्यो समयलाई शेयर किन्ने मौकाको रुपमा लिनु भन्ने हो ।

केको आधारमा लगानी गर्ने ?
— कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुभन्दा अगाडि त्यसलाई विश्लेषण (मूल्याङ्कन) गर्नु आवश्यक रहन्छ । शेयरको आधारभूतर प्राविधिक विश्लेषणको ज्ञान लिन विभिन्न किताब, अनलाइन तालिमहरु, यूट्युब मार्फत लिन सकिन्छ । अनलाइन तालिमका लागि merolagani.com मा शुल्क तिरेर तालिम लिन सकिन्छ ।
तर मेरो विचारमा सबैभन्दा ठूलो कुरा अनुभव लिनु हो । थोरै रकमबाट बजार प्रवेश गर्दा बजारलाई धेरै नजिकबाट बुझ्न सकिन्छ । शेयर बजार भनेको एउटा समुद्र हो, जति पैसा खन्याए पनि कम लाग्ने र बुझेर कहिल्यै नसकिने । त्यसैले अनुभव लिँदै गएमा दिनदिनै यसप्रति चासो र ज्ञान बढ्दै जान्छ । merolagani.com, nepalstockexchange.com, nepalipaisa.com, sharesansar.com आदि पेजहरुबाट विभिन्न शेयर सम्बन्धी सूचना लिन सकिन्छ । मुख्यतः कम्पनीको कमाई, त्यसका प्रोमोटरहरु कस्ता छन्, लाभांशको क्षमता र इतिहास आदि कुराहरु हेर्न आवश्यक हुन्छ । सामान्यतया EPS (Earning per Share) अर्थात् प्रति शेयर आम्दानी (जति धेरै त्यति राम्रो) र अन्य विभिन्न सूचकहरु हेरेर लगानी गर्दा लगानी डुब्ने खतरा न्यून हुन्छ ।

बुल र वियरिस (Bull and Bearish) Market बारे भन्नुस् न ।
— बढ्दो क्रममा रहेको शेयर बजारलाई Bull Trend मा छ भन्ने बुझिन्छ भने घट्दो क्रममा रहेको शेयर बजारलाई Bear Trend भनिन्छ । बजार जहिल्यै Bull Trend मा पनि रहन सक्दैन र जहिल्यै Bearish Trend मा पनि रहदैन । विगतलाई आधार मान्ने हो भने नेपालमा हरेक चार पाँच वर्ष Bull Cycle र Bear Cycle को अवधि रहेको पाइन्छ तर जहिले चार पाँच वर्ष रहन्छ भनेर भन्न सकिदैन ।
१८८१ अंकसम्म पुगेको NEPSE पछि घटेर ११०० अंकतिर आइपुगेको थियो, त्यसबेला Bearish चार वर्ष जति चल्यो र अहिले पुनः फेरि बजारले Bullish Trend पक्डेर बजार ३२०० करिब पुगेको छ । तर Long run मा बजार जहिल्यै बुलिस ट्रेन्डमै हुन्छ अर्थात् विगतको उच्च विन्दुलाई जहिल्यै पनि बजारले उछिन्दै जान्छ ।

किन शेयर बजार घट्छ र बढ्छ ?
— माग र आपूर्तिको सन्तुलन नहुँदा शेयर बजार घटबढ हुन्छ । माग बढे बजार बढ्ने र घटे घट्ने हुन्छ । सरकारको नीति र स्थायित्व, देशको अर्थतन्त्र, धितोपत्र बोर्ड तथा नियामक निकायहरुको नियम, नीति, राष्ट्र बैंकको मौद्रिक तथा अन्य नीति, सम्पत्तिको वित्तीय अवस्था, ऋण प्रवाह, व्याजदर आदि कुराहरुले समग्र शेयको माग र आपूर्तिमा असर पार्दछ ।

हाल Hydro को शेयरमा उछाल आएको, कसैले विरोध गरिरहेका छन् ? किन ?
— करिब दुई वर्ष अघि केही हाइड्रोपावरको शेयर ५० रुपैयाँ भन्दा तल पाइन्थ्यो, हाल यसको मूल्य करिब ५०० रुपैयाँ छ । हाल हाइड्रोपावर कम्पनीहरुलाई दिइएको सुविधा जस्तै बैंकको व्याजदरमा कमि, नाफामा वृद्धि तथा Right Share जारी गर्न दिने जस्ता कुराहरुले हाइड्रोको मुल्यमा उछाल आएको हो । यसलाई सकारात्मक रुपमा लिएको छु । तर घाटामा गएका कम्पनीहरुमा लगानी गर्दा हाइड्रोमा मात्र नभएर जुनसुकै कम्पनीमा लगानी डुब्न सक्छ भन्ने हो ।

नवप्रवेशीहरुलाई के भन्न चाहनुहुन्छ ?
— कसैको उक्साहट तथा हल्लाको भरमा भन्दा पनि Market Momentum र Sentiment लाई बुझ्दै लगानी गर्न जरुरी छ । धेरै व्याजदरमा कमाइने रहेछ भन्दै ऋण ल्याएर लगानी गर्दा बुलमा फस्न पनि सकिन्छ । त्यहि भएर लोभ र डरलाई नियन्त्रणमा राख्दै नवप्रवेशीहरुले यो बुललाई सिक्ने मौकाको रुपमा लिँदा Productive हुन्छ जस्तो लाग्छ किनभने बजारले कमाउने मौका त दिइनै रहन्छ ।

बजार कता जाला अब ? मार्जिन ल्यान्डिङले बजार घट्छ भन्छन् नि ।
— शेयर बजारको सुन्दरता भनेकै यसलाई Predict गर्न नसक्नु हो । आ–आफ्नै अनुभव र विश्लेषणको आधारहरुमा यता जाला, उता जाला भन्न सकिन्छ तर त्यो पूरा नहुन पनि सक्छ । हाल बजारलाई मा कडाई, नियामक निकायको विज्ञप्ति आदि कुराहरुबाट प्रहार गर्ने खोजिरहेको छ, तैपनि बजारले यी कुराहरुलाई पछ्याउँदै अघि बढिरहेको छ । यसैको आधारमा मेरो विचारमा बजार केही समय Bullish Trend मै रहन्छ जस्तो लाग्छ ।
मार्जिन ल्यान्डिङ भन्नाले शेयर धितोमा राखेर लिइने लोन हो । अहिले नेपाल राष्ट्र बैंकले यो सीमा घटाएर १२ करोडमा ल्याइदियो । यसले गर्दा ठूला खेलाडीहरुले भटाभट शेयर बेचिरहेका छन् । त्यसैले व्यापार घटिरहेको छ । तर केही समय लाग्न सक्छ, बजार घटे पनि लयमा फर्किन्छ जस्तो लाग्छ । यसको लागि राष्ट्र बैंक केही लचिलो हुनुपर्ने देखिन्छ ।