दूधे \ असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल नाराका साथ दूधे इकाईको साधारण सभा सम्पन्न भएको छ ।

मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुद्देश्यीय सहकारी संस्था लि. ले असोज ३ गतेदेखि असोज ९ गते सम्ममा सम्पूर्ण इकाई कार्यालयको साधारण सभा सम्पन्न गर्ने बताइएको छ । १ लाख ५ हजार बढी सदस्य रहेको संस्थाका झापामा मात्र ४० वटा शाखा रहेका छन् भने इलाम र मोरंगमा समेत शाखा विस्तार गरिसकेको छ । संस्थाका अध्यक्षद्वारा तयार पारेको प्रतिवेदन सञ्चालक समितिका सदस्य खेमनाथ मिश्रले प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समिति तथा स्वतन्त्र लेखा परीक्षणको प्रतिवेदन संस्थाको प्रधान कार्यालयका कर्मचारी चेतन पौडेलले प्रस्तुत गर्दै संस्थाको आ.व. २०७८ आषाढ मसान्तसम्मको वासलात प्रस्तुत गरेका थिए । पौडेलद्वारा प्रस्तुत वासलात अनुसार ११ अर्ब ८० करोड ५२ लाख ३८ हजार ७ सय ८५ रुपैयाँ बराबरको कुल पूजी तथा दायित्व प्रस्तुत गरेका थिए ।

संस्थाले आफ्ना शेयर सदस्यहरूलाई मृत्यु राहत, दीर्घ रोग उपचार राहत, घाइते उपचार लगायतमा २ करोड २५ लाख २२ हजार ५० रुपैयाँ राहत उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले बहु-व्यवसाय गर्दै आएकोमा २०७८\०७९ मा थप व्यवसायका लागि प्रस्तुत गरेको छ । यस अघि बैंकिङ व्यवसाय, डेरी व्यवसाय, चिया व्यवसाय, कृषि व्यवसाय र सहकारी पसल सञ्चालन गर्दै आएकोमा थप व्यवसायका रूपमा चामल मिल र खानेतेल मिलका लागि प्रस्ताव गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको सभाहलमा संस्थाको २९औं साधारण सभाको उद्घाटन गर्दै शिवसताक्षी नगरपालिकाकी उप-प्रमुख भोजकुमारी नेपालले गरेको असल कार्यहरूको प्रशंसा गरेकी छन् । नेपालले आफ्नो पालिकाको भन्दा ठूलो आकारको आर्थिक आय-व्यय भएको संस्थाका कुशल सञ्चालन हुँदाको परिणाम हो भन्दै आगामी दिनमा यसले अझ उचाइमा पुग्ने आशा रहेको बताइन् । गतवर्ष कोभिड-१९ (कोरोना भाइरस) ले आक्रान्त भएको समयमा संस्थाले गरेको सहयोग स्मरण गर्दै सहकारीको सिद्धान्त अनुरूप संस्था सञ्चालन भएकोमा खुशी व्यक्त गरेकी छन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्य तथा कनकाई रतुवा क्षेत्रका संयोजक दुर्गाप्रसाद भट्टराई, दूधे कार्यालगत उप-समितिका सदस्य यामनाथ काफ्ले लगायतको आतिथ्य तथा मन्तव्य रहेको थियो । दूधे कार्यालयगत उप-समितिका संयोजक गुरुप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न साधारण सभाका सहभागीका तर्फबाट तुङ्गनाथ चापागाईले आफ्नो तथा सहभागीहरूको तर्फबाट धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन दूधे शाखा कार्यालयका प्रमुख ऋतु शाक्यले गरेकी थिइन् भने स्वागत मन्तव्य प्रेम भण्डारीले गरेका थिए ।