बिरुवालाई रोग लगाउने ढुसीको शरिर (Hyphae) भित्र पसेर त्यसलाई परपोषी(Host) बनाई, परपोषीको आनिबानी र प्रतिक्रिया नै पुर्ण परिवर्तन गराई, हानिकारक जिवबाट उपयोगी स्वरुपमा परिणत गराउने माईकोभाइरस प्रति खोज अनुसन्धान गरिरहेको छ आजको विश्व। आजको सिधा रेखामय अर्थशास्त्र(linear economy) अब चक्रिय अर्थशास्त्रमा(circular economy) परिणत हुनपर्छ। खुला बजारलाई सरकारले निति नियम द्वारा दायरामा ल्याउनु पर्छ अनि उत्पादकले पाउने र उपभोक्ताले दिने बिचको अन्तर न्युन भइ पुँजीको वितरणमा समान प्रवृति देखापर्छ भन्छन् आज पश्चिममा अर्थशास्त्रीहरु। अमेरिकन पुँजिपति Elon Musk मार्समा मानव जातिको बस्तीको सपना देख्छन् भने सुचना प्रविधि विज्ञहरु कृतिम चतुरतालाई(Artificial intelligence) बायो टेक्नोलोजीसँग जोडेर भविष्यमा तपाइलाई कुन रोग लाग्छ भनेर आज नै पत्ता लगाउने प्रविधिको खोज गरिरहेका छन् र केहि क्षेत्रमा सफल पनि भएका छन्। कुनै पनि समाजको अभौतिक र कल्पित सत्यताले कसरी व्यक्तिलाई चित्रण गर्छ भनि त्यसको अनुसन्धान र बिष्लेषण गरि समाज र व्यक्तिको मनोविज्ञान बुज्न अब्बल छ आजको संसार। चिनले आफुलाई लादिएको प्रविधिलाई प्रतिबन्ध गराई आफ्नै प्रविधिको विकास गर्यो र आज भारत त्यहि बाटोमा छ – हामि कहाँ छौँ त नयाँ नेपालको बाटोमा?

प्रविधिको विकास, अंगीकरण र असरहरु विस्तारै देखिँदै जान्छन्, मलाई पनि थाहा छ तर विश्व जगतमा विकास र अर्थतन्त्रले नौं डाँडा काट्दा हामी बल्ल पहिलो डाँडा चढ्ने योजना बनाउँछौं, के यो जायज छ? प्रविधिकरणको नाममा हुने व्यक्तिगत स्वार्थ पुरा र व्यापारको विषयलाई मौनताको छाताबाट खुला आकाशमुनि कसले ल्याईदिने? महिला हिंसा, यौन हिंसा, सामाजिक बहिष्कारबाट पिडित एक निर्दोष व्यक्ति; आत्महत्या, सामुहिक हत्या र दरिद्र मनस्थितिको बिगबिगी भएको मेरो समाजलाई नैतिकता, आचारसंहिता र अनुशासनको पाठ कसले पढाइदिने? यहाँ त शिक्षकहरु(केहि) नै दरिद्र भएपछि यो समाजको वाटो कता होला? यहाँ त मैले चुनेर पठाएको प्रतिनिधिहरुले नै “देशमा यस्तो सानोतिनो घटना घटिरहन्छ”, “जबरजस्ती करणीमा महिलाले पनि आनन्द लिन्छन् त्यसैले त्यो बलात्कार हैन”, “अरु देशको तुलनामा नेपालमा धेरै कम यौन हिंसा, मिडियाले ठुलो बनाईदियो” जस्ता अभिव्यक्ति सुन्नमा आउँछ। अब मैले यो प्रजातन्त्र र लोकतन्त्रबाट के आशा र अपेक्षा गर्ने? माक्सवाद र लेनिनवादबाट दिगदर्शित, अनुप्राणित र परिचालित कम्युनिष्ट, गरिबको आँगनमा सुत्थ्यो। गरिबको भावना, समवेदना, आकांक्षा र सपना हाम्रा पनि सपना हो भन्ने विचारको बागडोर गरि आएका कम्युनिष्ट आज कसरि कमाउनिष्टमा परिणत भए? खै कसले भनिदिने? नयाँ नेपालमा आधारित राजनिति र मनोविज्ञानको बाटोमा हामि कहाँ छौँ?

एलेक्स(आधुनिक नेपाली समाजको आधुनिक नाम) ले बाटोमा मकै बेच्ने ति बुढी आमा र घरघरबाट पुन चक्रियको लागि समान लाने व्यक्तिलाई गर्ने व्यवहार किन तिखो, रुखो र छुद्र? त्यहि व्यक्ति ठुलो हलमा पपकर्न खाँदा सम्माननीय ठान्ने आफुलाई मकैको उत्पादनमा श्रम र किसानको भुमिकाका साथसाथै त्यो मकै उसको मुखसम्म आईपुग्दाको गणितीय र अगणितीय सम्बन्ध हामीले सिकाईदिएको भए आज निम्न वर्गलाई हेर्ने उसको नजर फरक हुन्थ्यो होला!! त्यसैले आजको समाजमा जन्मकालदेखि कुनै व्यक्तिको उत्थान कसरी हुन्छ भन्ने बिषयमा त्यस समाजको भौतिक(material), अभौतिक(non-material) र कल्पित वास्तविकता(Imagined reality) को बिष्लेषण कसले गरिदिने? के शिक्षा ठुलो बन्न, जान्ने बन्न र नम्बर ल्याउनको लागि गरिने दौड मात्र हो? के यसको सम्बन्ध व्यवहार र नैतिकतासँग जोडिएको छैन? सुखि नेपालको बाटोमा हामि कहाँ छौँ?

ठेकेदारले बनाएको भोलि नै भत्किने पुल वा सडक, सर्वसम्मत पुर्ण मापदण्ड अनुरुप बनेको छ भनेर गुणस्तर मापन र हेरविचार नगरि पैसामा बिकेर हस्ताक्षर गर्ने इन्जिनियरलाई आचारसंहिता कसले पढाउने? कम्पनिले आफ्नो कारोबार लुकाएर, कर छलि गर्दा देशलाई घाटा हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि न्युन करको लागि अडिट गरिदिने सि. ए.(CA) लाई नैतिकता कसले सिकाईदिने? अपराधीलाई लुकाई, निर्दोषलाई दोषी ठहराउने वकिललाई कुन वर्गमा राखौं? मध्यमवर्गीय र निम्नवर्गीय नेपाली जनता नेताहरुले जति लुटे नि सहिरहने हाम्रो मनोविज्ञानमा प्रतिशोधको प्रतिक कहिले बल्ने? छुवाछुत, महिला हिंसा, बेरोजगार, कालोबजारी र सफलता तौलिने ढक चोकैमा बोकेर बसेको छ मेरो समाज। कुनै पनि व्यक्तिलाई सजिलै व्याख्या गरिदिने मेरो समाजको मनोविज्ञानलाई गुणस्तरीयता बाट तथ्याङ्क शास्त्रमा( Statistical analysis) परिवर्तन गरि बिष्लेषण गर्ने तथ्याङ्क शास्त्रको कुन चाहिं सामग्री(statistical tools) प्रयोग गर्ने? खै कसले भनिदिने? रु.१०० कमाएकोमा प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गबाट करको दायरामा परि रु.६०-रु.७० रुपैयाँ नेपाल सरकारलाई नै जाने गर्दछ र यसको बाबजुद सरकारले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र रोजगारी जनतालाई दिनुपर्छ तर निजी अस्पतालको लुटतन्त्र र निजी बिद्यालयको ज्यादति आखिर कहिले सम्म? सरकार किन कानमा तेल हालेर बसेको? कसले भनिदिने यो सन्नाटाको शहरमा?

आभास, जब मुस्ताङको एयरपोर्टमा पुगेर झर्छन्, उसले यात्रुहरुको समान बोक्न भरियाहरु तछाडमछाड गर्दै कुदेको देख्छन्,। एकछिन अचम्म मान्छन, र आफ्नो बाटो लाग्छन्। केहि पर पुगेपछि बोटमा स्याउ लटरम्म फलेको देख्छन् र सोच्न थाल्छन्, यस्तो राम्रो स्याउ फल्ने ठाउँमा मानिस किन भारि बोक्न दौडिरहेका छन्? किन आफ्नै देशमा स्याउको घर र वासस्थान हुँदाहुँदै पनि बाहिरको स्याउ खान पर्छ? यो समाजमा बसेको मानिसको आकर्षण किन स्याउ तिर नगएको होला, यसको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्ष के के होला? स्याउलाई व्यापारिकरण गरि आयआर्जनको श्रोत बनाइ, त्यहाँका नागरिकको जिवनस्तर सुधारी, देशलाई आत्मनिर्भर तर्फ गतिशील गराउन किन नसकेको होला? हे सरकार, नागरिक समाज, कृषि मन्त्रालय, युवा वर्ग कहाँ चुक्यौं हामी? हाम्रो समृद्ध नेपालको बाटोमा कृषि कुन गति र स्थानमा छ?

यि त केहि उदाहरण भए, भु-माफिया, वातावरण माफिया, मौसमी राष्ट्रवादको राजनिति, भ्रष्टाचार आदि यस्ता तमाम बिषयको उत्तर कस्ले दिने? हिजो मेरो बाबाले भन्नुभएको सुने, कसैले नयाँ नेपाल भनेको के हो भनेर सोध्यो भने यहि हो नयाँ नेपाल भन्दिनु रे। के २००७, २०१५, २०४६ र २०६२/६३ को परिवर्तनले अनुकरण गरेको नयाँ नेपाल यहि हो त? के आजको पुस्ताको लागि नयाँ नेपाल यहि हो? समाजको वाटो कता गइरहेको छ? हे नयाँ पुस्ता, भनिदिनु पर्यो हामी नयाँ नेपालको बाटोमा कहाँ पुग्यौं, कहाँ छौँ?