आकृति तिम्सीना

कवि तथा साहित्यकार विरेन जीले लेखेको बोर्डिङ मास्टरको पीडा कविता संग्रहको मलाई कलेज जीवनमा याद आयो, बोर्डिङ मास्टरले सामुदायिक विद्यालयको मास्टरको हैसियतमा बढीमा ५० प्रतिशत मात्र तनखा पाउँछन् । प्रिन्सिपलको किचकिच, समयमा तलब नपाउने समस्या, बोर्डिङ मास्टरको पीडामा शब्दमय व्याख्या गरेको पाइन्छ ।

कलेज पढ्ने उमेर न्यूनतम १६–१७ देखि सुरु हुन्छ, यो उमेर भनेको भविष्य निर्माण गर्ने उर्वर उमेर हो । आधारभूत शिक्षादेखि माध्यमिक शिक्षा तहमा पुग्दा स्वभावैले माध्यमिक विद्यालयको विद्यार्थी सिनियर हुने गर्छ । मावि उक्लिएपछि उच्च शिक्षा अध्ययनका लागि कलेज जानै पर्ने हुन्छ । माथि भनिएको सबै तहको शिक्षा प्राप्त गर्न छात्र–छात्राहरुलाई पक्कै पनि सजिलो छैन । प्रसङ्ग विद्यार्थीको पीडाबाट सुरु गरौं, मुख्य सडक–खण्ड (लोकमार्ग)मा बिहानको ४ बजेदेखि चिसो सिरेटो पचाउँदै बस बिसौनीमा बस पर्खेर बसेका थुप्रै दृश्य बाटोभरि देख्न सकिन्छ । सिरेटोका कारण घरको परिवार समेत बिहान सबेरै उठ्न नसकिरहेको बेला विद्यार्थीहरु सडकमा देखिनु बाध्यता होइन । उनीहरुलाई यो चेत छ कि हामी भविष्य निर्माण गर्न हिडेका हौं । बस बिसौनीमा विद्यार्थी देखेपछि चालकले बस नरोक्नु, सह–चालकले विद्यार्थीहरुलाई होचो अर्घेलो गर्नु , सार्वजानिक बसमा चढ्ने विद्यार्थी जीवनको दिनचर्या नै हो । यो त रह्यो बिहानको रुटिन, त्यसपछि बिहानको ९ बजेदेखि कलेज जानेको अर्को हुलको बरियात सुरु हुन्छ । त्यस समयसम्ममा मानिसहरुको चहल पहल निक्कै बाक्लिन थाल्छ । गन्तव्यमा हिडेका सज्जन यात्रुहरुलाई सह–चालकले लछार्दै–पर्छार्दै गाडीमा चडाउँदै गरेको दृश्य विद्यार्थीका लागि नौलो भने होइन । सज्जन यात्रुसँगै उभिईरहेका विद्यार्थीहरु यो लोकको मानिसै हैन जस्तो व्यवहार सह–चालकहरुले गरेको दुर्दान्त पीडा मेरो आत्मा भरि खिलिरहन्छ । यस्तो लाग्छ बिद्यार्थी हूँ भन्नु अभिशाप पो हो कि !

आफ्नो दैनिकी सकेर सुत्न अघि माथि उल्लेख गरिएको दृश्य मेरो मष्तिस्कमा घुमिरहन्छ किनभने भोली बिहान सबै नित्य कर्म गरिसकेर कलेज जानका लागि तयार हुनु छ । विद्यार्थीहरु भनेका भोलीका देश निर्माणक हुन । कलेज जीवनबाटै युवा अवस्थाको गतिविधि सुरु हुन्छ । कोहि सामाजिक उत्तरदायित्वका लागि गरिने सेवामा लाग्छन् , कोहि सरकारी जागिरमा लाग्ने कोशिस गर्छन् ,कोहि राजनीतिमा प्रवेश गर्छन भने ,कोहि व्यपार व्यवसायलाई आफ्नो रुचीको विषय बनाउछन् । त्यही भएर कलेज जीवन बिद्यार्थीहरुका लागि उर्बर समय हो । कलेज जानका लागि घरबाट निस्किएपछि मैले चढ्ने सार्वजानिक बस रोक्ला कि नरोक्ला, रोके पनि चढ्न देला कि नदेला समय अघि नै कलेज पुगिएला कि नपुगिएला भन्ने एउटा त्रास सुरु हुन्छ । गन्तव्यका लागि जब मुख्य सडकको बस बिसौनीमा पुगिन्छ, चालक र सह–चालकले विद्यार्थीहरुलाई गर्ने व्यवहारको सिलसिला सुरु हुन्छ । सबै भन्दा पहिला त कलेजको युनिफर्मधारी छात्र–छात्रालाई बसमा चढ्ने अनुमती हुदैँन , कथम कदाचित अहोभाग्यले चढ्ने अनुमति प्राप्त गरियो भनेपनि सिटमा बस्न सकिन्न किनभने उक्त सिट अघि नै सज्जन यात्रुका लागि रिर्जभ भइसकेको हुन्छ ।

नेपालको यातायात व्यवस्थापन ठिट लाग्दो मात्रै छैन , अव्यवस्थीत र अस्वस्थ प्रतिस्पर्धात्मक छ । अझ यसो भनुम अमर्याधित छ । त्यसैले हुलका हुल बसहरु अस्वस्थ प्रतिस्पर्धा गर्दै बस बिसौनीसम्म आइपुग्छन् । प्राय बसहरु बस बिसौनी आउनु अघि नै भरि भराउ भइसकेका हुन्छन् । बसमा पसिसकेपछि अब भाडाको बिषय आउछ । यातायात व्यवसायी संद्य र नेपाल सरकारबीच भएको सम्झौता त्यहा नेर च्युत हुन्छ । बिद्यार्थीले पाउनुपर्ने परिचय पत्रको छुटको सम्झौता उलंगन हुनु ,पहिलो कुरा त कानुनको खिल्ली उड्नु हो । यस्ता पिडा केबल बिद्यार्थीमा मात्र छैन । ज्येष्ठ नागरिक , अपाङ्ग अशक्त र द्धन्द्धपिडितहरु पनि यो पिडाबाट अछुतो छैनन् ।

एक जना ज्येष्ठ नागरिक महिला बसमा आफ्नो ज्येष्ठ नागरिकको परिचय पत्र देखाउदै आफुले पाउनु पर्ने सुबिधाको विषयमा खुलेर कुरा उठाउदै थिइन् । यो प्रतिनिधि घट्ना हो आफु समेत सोहि बसको यात्रु भएकाले मैले उक्त दृश्य हेरिरहेकी थिए । त्यहाँ भने बसको कन्डक्टरको व्यवहारको पर्दाफास हुन्छ , उनले उक्त ज्येष्ठ नागरिक महिलाको खिल्ली उडाए ,ज्येष्ठ नागरिक महिलाले आफुले पाउनुपर्ने अधिकारको विषयमा बसको भाडामा छुटको कुरा गरिरहेकि थिइन तर क्लिन्डरले परिचय–पत्र हेर्दै यो परिचय–पत्र ज्येष्ठ नागरिक भत्ता थाप्ने बेलामात्र देखाउनु होस भन्दै पुरै पैसा लिएको दृश्य मैले ट्वाल्ल परेर हेर्नु बाहेक केहि गर्न सकिन । म विवश थिए किनभने म पनि उस्तै निरिह पात्र थिए । कलेज जानु र आउनु मेरो विवशता हो । मैले ज्येष्ठ नागरिकको अधिकारको बारेमा बोल्दा बसमा चढ्ने अवसरबाट बञ्चित हुनेछु भन्ने त्रासले मलाई रोक्यो ।

दुनियामा अधिकार प्राप्तीका लागि लड्ने योद्धाहरु धेरै छन् तर त्यो लडाई सांगठानिक हुनुपर्छ भन्ने मलाई अवगत छ तर त्यस्तो अवस्था हामीमा हुन नसक्नु बिडम्बना हो । सवारी चालक ,सह चालक ,क्लिन्डरको ज्याजतीको व्याख्या जसरी गर्दा पनि पुग्दैन । यो मेरो बिद्यार्थी जीवनले सिकाएको अनुभव हो । त्यसो त केहि नीजि तथा सरकारी कलेजहरुले कलेज बसको व्यवस्था मिलाएको छ तर यो विषय सबैको पहुँचमा छैन । उच्च शिक्षा हासिल गर्ने मनोकाङ्क्षाले बिद्यार्थीहरुले राम्रो कलेज छान्छन् । सबै सङ्कायको पठन–पाठन सम्पन्न भएपछि पालो हिसाबले कलेजको बिदा हुने गर्छ । छुट्टिसँगै गन्तव्यसम्म पुग्न बिद्यार्थीहरु बस बिसौनीमा भेला हुन्छन् । त्यहाँ एक किसिमको गतिविधि सुरु हुन्छ । आफ्नो गन्तव्यसम्म पुग्न सबै बिद्यार्थीहरुलाई हतारो हुन्छ तर बिद्यार्थीहरु बस चढ्न पाउदैनन् । यो पिडा बोर्डिङ मास्टरको पिडा भन्दा कमको छैन् । म झिलझिलेबाट कलेजका लागि गन्तव्य तय गर्दा बिहानको साढे ९ बजेको हुन्छ । मेरो कलेज दमकको दमक बहुमुखी क्याम्पस हो । म उक्त कलेजमा बिएसडब्ल्यु प्रथम वर्षकी छात्रा हुँ । मैले घरबाट निक्ल्दा १ घण्टाको समय राखेको हुन्छु । झिलझिलेबाट दमक पुग्न १२ किलोमिटरको दुरी पार गर्नुपर्छ जुन ढिला गरि २० मिनेटमा गन्तव्यमा पुग्न सकिन्छ । एकातिर समयको नष्ट भइरहेको छ भने अर्कोतर्फ बस यात्राको झमेलाले सताइरहेको हुन्छ ।

देशमा वर्षेनी लाखौको संख्यामा दक्ष शैक्षिक जनशक्ति उत्पादान भइरहेको छ । यस्ता जनशक्तिहरुलाई नेपाल सरकारले समेत सहि व्यवस्थापन गर्न सकेको छैन । आधारभूत,मावि तह र उच्च शिक्षा तहसम्म बिद्यार्थीहरुले भोग्नुपरेको पिडालाई नेपाल सरकारले मिहिन ढंगले अनुन्धान गर्दै शैक्षिक क्षेत्रलाई सहज बनाइदिन सके भोलीका राष्ट्र निर्माणकहरुले सहि मानेमा न्याय पाउने छन् कि !!! ।