पहिलो घटना ।
– भोट दिन जान्छौ कि जान्नौ ?
– कफीको दोस्रो चुस्कीपछि उसले जवाफको बदलामा प्रतिप्रश्न गरी – फेरि भोट किन हाल्ने ?
– अधिकारको कुरा गाँसिएको हुन्छ नि मतदान गर्नुमा । म जवाफ फर्काउँछु ।
– अघिल्लो पटक स्थानीय तहको चुनावमा दिएको मेरो भोट खेर गएको महसुस भएको छ । हाम्रा नगर प्रमुखले हाम्रो लागि परिवर्तन ल्याउन सकेनन् ।दाहिने तर्फको आँखा अघि छरिएका केहि कपालहरु कान तर्फ समेटदै उसले एकै सासमा उत्तर दिई ।


दोस्रो घटना ।
– कहिले आइ पुग्छस् ? पाँच तारिख ।
– अनि कहिले फर्कन्छस् ?
– तीस दिन पछि ।
– हो र । भोट दिन नपाउने रहिछस् ।
– भोट सोट खल्लीबल्ली ,
ऊ जवाफ फर्काउँछ ।
यी दुई प्रतिनिधि घटना मात्र हुन जस्ले युवा मानसिकतामा हुर्कदै गरेको मतदानप्रतिको उदासीनतालाई उजागर गर्छन् । शिक्षित युवा जमातमा नै मतदानप्रति हुर्कदै गएको यस किसिमको उदासीनताले अन्ततः एउटा शिक्षित र चेतनशील वर्ग नै मतदानको प्रकृयाबाट बाहिर रहने हो कि भन्ने सम्भावना पैदा गरेको छ ।
राज्यले कानून तथा संस्थागत माध्यमबाट आवधिक निर्वाचन तथा बालिग मताधिकारको पूर्ण प्रत्याभूति गरेको छ । निर्धारित समयमा नै निर्वाचन आयोजना गर्ने प्रबन्ध गरे पनि मतदान गर्ने वा नगर्ने निर्णयमा भने धेरै हदसम्म निर्वाचित जनप्रतिनिधिहरुको कार्यसम्पादन, जनताको माग र आवश्यकता पूर्ति गर्ने तदारुकताले मतदानको संस्कृतिको विकास गर्ने गरेको देखिन्छ ।
हालसालै कार्यसम्पादनका तीसवाट सूचक पूरा गरेर अन्तराष्ट्रिय गुणस्तर प्रमाणित हुने नेपालकै पहिलो रुपन्देहीको तिलोत्तमा नगरपालिका भएको छ । त्यहाँ जनतामा निर्वाचन र मतदानप्रति विशिष्ट किसिमको सकारात्मक मानसिकता विकास भएको पाउन सकिन्छ । यस्ता किसिमको सकारात्मक मानसिकताले अन्तत्वगोत्वा निर्वाचन जस्तो अपरिहार्य लोकतान्त्रिक अभ्यासलाई अधिकतम जनसहभागितापूर्ण बनाउदै स्थानीय शासन व्यवस्थामा सक्षम र इमानदार जनप्रतिनिधिको सहभागिताको अवसर प्रदान गर्छ ।
सबै स्थानीय तहले आफैलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित बनाउन असम्भव प्रायः छ । यद्यपि जनतामा स्थानीय निकायबाट पूरा हुने शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार, स्थानीय बजार तथा उद्योग व्यवसाय प्रवद्र्धन र व्यवस्थापन, पूर्वाधार विकास, फोहोर व्यवस्थापन, खानेपानी तथा सडकको स्तर उन्नतिका माग र आवश्यकता भने पूरा गर्ने आपेक्षा सदैव रहेको हुन्छ । यस्ता अपेक्षाकृत माग र आवश्यकताहरुलाई मितव्ययी, पारदर्शी, बिना भ्रष्टाचार, स्थानीय श्रम, स्रोत र साधनको प्रयोगबाट नै पूरा गर्न नसकेको कारण स्थानीय नेतृत्व र जनप्रतिनिधिप्रति असन्तुष्टि सिर्जना भएको छ । तोकिएका सबै निर्वाचनमा मतदान गर्न युवा अभिप्रेरित छैनन् । स्वतःस्फूर्त रुपमा जनताको सहभागिता भएको निर्वाचनले मात्र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ, संस्थागत र सफल बनाउँछ ।
नेपालमा राजनीतिक सिद्धान्त र दलसँगको आवद्धताबाट अत्याधिक प्रेरित भई मतदान गर्ने प्रवृति पनि छ । राम्रालाई भन्दा पनि हाम्रालाई भोटको संस्कृति विकासका कारण निकट भविष्यमा समाजमा देखा पर्दै गरेको मतदानप्रतिको उदासिनताले अझ प्रस्रय पाउने देखिन्छ ।
नेपालको संविधानले प्रस्तावनामा वालिग मताधिकार तथा धारा ८४(५) मा अठार वर्ष उमेर पूरा भएका प्रत्येक नेपाली नागरिकलाई संघीय कानून बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकारको व्यवस्था गरेको छ । त्यस्तै मतदाता नामावली ऐन, २०७३ को दफा ६ ले पनि सोहि किसिमको व्यवस्था गरेको छ । तर मतदान संवैधानिक वा कानूनी अधिकारको विषय मात्र होइन । यो मनोवैज्ञानिक स्तरमा सदैव प्रतिफलको अपेक्षासँग गाँसिएको विषय पनि हो । अझ नेपाल जस्तो विकसशील देशमा, सुशासन, पारदर्शीता र जवाफदेहीताको कम अभ्यास हुन्छ । जनताले आफ्ना अपेक्षाकृत माग पूरा भएको अवस्थाको मूल्याङ्कन वा भविष्यमा आवश्यकता पूरा गर्न सक्ने सक्षम प्रतिनिधि छनौट गर्ने संस्कारको पूर्ण विकास हुन बाँकी नै रहेको देखिन्छ । यस्तो संस्कारको विकास हुन नसक्नु पनि युवा मतदाताहरुमा निर्वाचन र मतदानप्रति उदासीनता पैदा हुने प्रमुख कारण हो । मतदान प्रतिको उदासीनताले सक्षम र इमानदार व्यक्ति नेतृत्व तहमा पुग्ने सम्भावना कम हुन्छ । उम्मेद्वारहरु बीचमा प्रतिस्पर्धा हुन पाउदैन । प्रतिस्पर्धा बिनाको निर्वाचन लोकतान्त्रिक मूल्य र मान्यताको अभ्यास हुनै सक्दैन ।
युवा मतदाताहरु किन मतदान गर्दैनन भन्ने सम्बन्धमा अध्ययनहरु भएका छन् । अध्ययन अनुसार नियमित मतदान लामो समयमा विकास भएको एउटा आदत हो । युवाहरुले मतदानको अवसर पाएको हुदैनन्, जसको फलस्वरुप मतदान आदतको रुपमा युवामा विकसित हुदैन । समयको लामो अन्तरालमा मात्र एउटा मतदान नगर्ने व्यक्ति सकृय मतदाता हुने गर्दछ । साथै मतदानको बानी विकासमा मतकर्ताको बाहिरी अवस्थाहरुले पनि अहम् भूमिका खेलेको हुन्छ । निकटतम व्यक्तिहरुले निर्वाचनमा सहभागी भएको देख्दा पनि मतदानप्रतिको चाहना बढ्न गई कालन्तरमा विभिन्न निर्वाचनमा मतदान गरी सकेपछि मात्र मतदानप्रति उदासिन व्यक्ति आदती मतदाता हुने कुरा अध्ययनहरुले देखाएको छ । यसको अलवा मतदान स्थलबाट रोजगारीको शिलशिलामा धेरै टाढा बसोबास गर्नु, मतदानको लागि यात्रा गर्दा लाग्ने खर्च, उम्मेद्वारको सम्बन्धमा पर्याप्त जानकारी नहुनु, रोजगारदाताले मतदान गर्ने प्रयोजनका निम्ति बिदाको प्रबन्ध नगरिदिनु, रहेबसेकै स्थानबाट मतदान गर्ने व्यवस्था नभै परम्परागत मतदान प्रणाली प्रयोगमा नै रहनु जस्ता कारणले पनि युवामा मतदानप्रति उदासिनता पैदा गरेको अध्ययनहरुले देखाउँछन् ।
संवैधानिक तथा कानूनी व्यवस्था प्रष्ट भएता पनि मतदान प्रतिको उदासीनता भने बढ्दै गएको छ । हरेक निर्वाचनका बेला जारी हुने घोषणपत्रमा उल्लेखित अधिकांश एजेण्डाहरु कोरा कागजमा मात्र सीमित हुने गरेको छ । युवाहरुको आवश्यकता अनुरुप काम नहुँदा जो जितेर आए पनि परिवर्तन नहुने धारणा हुर्कदै गरेको पाउन सकिन्छ । विगतमा जनप्रतिनिधिहरुले गरेको प्रतिज्ञा अनुरुप काम गर्न नसक्दा जनप्रतिनिधिप्रतिको विश्वासमा नै कमि हुदै जानुले पनि युवाहरुमा आउदै गरेको स्थानीय र संघीय निर्वाचनप्रति वितृष्णा पैदा गरेको हो । राजनीतिक अस्थिरता, बेरोजगारी र वैदेशिक रोजगारीको बाध्यताका कारण राजनीतिप्रतिको चासो घट्दो छ । समग्र राजनीतिप्रति नै नैराश्यता जाग्नुले युवा मतदानप्रति उदासिन रहेको देखाउँछ । मतदानमा परिवर्तनको अपेक्षाले नभई केवल औपचारिकता पूरा गर्ने हिसाबले पनि सहभागी हुने संख्या बढ्दो छ ।
यी उदासीनताका उपस्थितिमा पनि मतदान गर्न योग्य व्यक्तिले मतदान गर्नुको महत्व भने विलिन हुदैन । सक्षम उम्मेदवारलाई नेतृत्व तहमा पुर्याउने अवसर लोकतान्त्रिक व्यवस्थामा मतदानले मात्र प्रदान गर्छ । निर्वाचनमा मतदान गर्नुले जिम्मेवार नागरिकका हैसियतले सकारात्मक परिवर्तनका खातिर गरेका कार्यलाई इंगित गर्छ ।
संविधानले प्रदानले गरेको अधिकार भएको कारण पनि मतदान अपरिहार्य छ । मतदान जस्ता अधिकारको समुचित प्रयोगबाट नै व्यक्तिले सचेत र जिम्मेवार नागरिक भएको प्रमाणित गर्न सक्छ । मतदान गर्नु केवल जनप्रतिनिधि चुन्नु मात्र नभएर देश, आफ्नो परिवार र समग्र समाजको सर्वोत्तम हित हुने खालका नीति तथा योजनाहरु छनौट गर्नु पनि हो । भनिन्छ मतदान नगर्नेहरुको सम्बन्धमा कानून, नीति नियमहरुको निर्णय गर्ने अधिकार मतदान गर्ने अर्को व्यक्तिलाई प्राप्त हुन्छ । आफ्नो सम्बन्धमा निर्णय आफै गर्न मतदान आवश्यक छ ।
मतदान आफैमा कुनै राजनीतिक दल वा उम्मेद्वारले उठान गरेका आम सर्वसाधारणका दैनिकीमा प्रत्यक्ष, परोक्ष र दिर्घकालीन प्रभाव पार्ने विषयसँग सम्बन्धित सिद्धान्त, पद्धति, योजना, नीतिनियममा सहमति वा असहमति जनाउने वैधानिक र प्रभावकारी माध्यम हो । भनिन्छ मतदान नगर्नेले भविष्यमा बन्ने कुनै पनि नीति, नियम, योजनाहरु विरुद्ध आलोचना गर्ने नैतिक अधिकार गुमाएको हुन्छ । यस अर्थमा मतदानको अपरिहार्यता र महत्व अत्याधिक छ ।
मतदान मार्फत निश्चित आर्थिक, राजनीतिक, समाजिक सिद्धान्तको जगमा कानून, नीतिनियम, विकास योजना लगायतका विषयको तर्जुमा गरी मुलुकलाई समृद्धि र जनजीवन सहज बनाउँछु भनी दावा गर्नेलाई शासन सञ्चालन गर्ने अवसर दिने हो । यस्ता नीति नियमले रोजगारी, शिक्षा, स्वस्थ्य सेवा, समाजिक सुरक्षा, पूर्वाधार विकासका सम्पूर्ण क्षेत्रमा गुणात्मक फरक पार्ने सामथ्र्य राख्दछन् । त्यसैले मतदान गर्नुले त महत्व राख्छ नै मतदान गर्नु पूर्व कसलाई र किन मतदान गर्ने भन्ने निर्णय झनै महत्वपूर्ण हुन्छ । मतदानप्रतिको उदासीनता बढदै गएमा यसले कालान्तरमा समग्र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउँछ । जनताका आवश्यकता र मागहरुलाई कुशल र प्रभावकारी ढंगबाट पूरा गरी मतदानप्रतिको उत्साह बढाउनु वर्तमानको आवश्यकता देखिन आउँछ । स्वतःस्फूर्त मतदानको अवस्था सिर्जना गर्न राज्य, निर्वाचन आयोग, केन्द्र, प्रदेश तथा स्थानीय तहका राजनीतिक नेता तथा सरोकारवालाहरु, समाजिक अभियान्ता सबैले समन्वय र आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । औपचारिकताको लागि मतदान नभै परिवर्तनका लागि मतदान गर्ने संस्कृतिको विकास गर्नुको विकल्प छैन ।
(— अधिवक्ता मगर शिवसताक्षी–१० माइधार निवासी हाल काठमाडाैंमा कार्यरत तथा त्रिभुवन विश्वविद्यालयमा संवैधानिक तथा फौजदारी कानूनमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ ।
इमेल: Sunil.mgr66@gmail.com)