दूध दिनको लागि गाई ब्याउनु पर्ने प्राकृतिक नियम हो, तर नब्याई कोरली बाच्छीले दूध दिन्छ भने आश्चर्य नहुने कुरै भएन । त्यस्तै आश्चर्यचकित पार्ने घटना इलामको चुलाचुलीमा घटेको छ । 

इलामको चुलाचुली गाउँपालिका १ कमलमा एक दुई बर्षे  गाइको बाच्छीले नब्याउँदै दूध दिदै आएको पाइएको छ । स्थानीय कृषक सन्तोष ओझाको गोठमा पालेको जर्सी जातको गाईको बाछीले आफै दूध दिन थालेको हो । कृषक ओझाका अनुसार उक्त बाछीको थुनबाट अचानक दूध चुहिन थालेपछी आफू आश्चर्यमा परेको र दूध दुहुदा आधा लिटर दूध आएको बताए ।अहिले भने दैनिक साँझ बिहान गरेर ३ लिटर दूध आउँने गरेको कृषक ओझाको भनाइ छ । बाछीको पहिलो दूध बिगौती नभई लैनो गाईको जस्तै दूध आएको र दूध डेरिमा लागि चेकजाच गर्दा नर्मल रिपोर्ट आएको  र उक्त दूध घरमा खपत हुँदै आएको बताइएको छ ।

अहिले उक्त बाछीलाइ हेर्न छिमेकी तथा नजिकैको गाउँ, शहरबाट हेर्न आउने मानिसहरुको घुइचो लाग्ने गरेको कृषक ओझाको दाजु गङ्गा ओझाले जानकारी दिएका छ्न् । कृषक ओझा वैदेशिक रोजगारीको सिलसिलामा ४ वर्ष मलेसियामा श्रम गरी फर्केका हुन् । अहिले कोरोना संक्रमणले विश्व आक्रन्त बनेको बेला गाउँमा नै  केही गर्नु पर्छ भनी स्वदेश फर्केका ओझाले अहिले गाउमा लिला पशुपन्छी तथा फलफूल फर्म दर्ता गरि भैंसी, बाख्रा, कुखुरा पालन गर्नुका साथै  विभिन्न जातका फलफूल लगाएका छन् ।